खुला हृदयले चलचित्र गर्ने अवस्था छैन

कोरोना महामारीपछि बन्द भएको चलचित्र उद्योग अझै चलायमान हुन सकेको छैन । केही साताअधि सरकारको अनुमतिबिनै सञ्चालनमा आएका चलचित्र घरले पनि कुनै चमत्कार गर्न सकेनन् । खाली हलमा केही दिन पुराना चलचित्र रिलिजको तयारी गरियो । दर्शक नगएपछि अहिले हल सञ्चालक पनि निराश छन् । 

केही कलाकारहरू चलचित्र छायाङ्कनमा निस्किन थालेका छन् । तर, अब कसरी चलचित्रको निर्माण सुरु गर्ने भन्ने एकखालको अन्योल चलचित्र क्षेत्रमा रहेको चलचित्र निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । उनलाई यसै पनि एउटा चलचित्रको पूर्ण सुटिङमा निस्कनु युद्ध मैदानमा निस्कनु जस्तै लाग्थ्यो । अहिले त झन् कोरोना महामारीको त्रास निमिट्यान्न भएकै छैन ।

उनी भन्छन्, ‘कोरोनाको झन् नयाँ प्रजाति जन्मियो भन्छन् । सुटिङ सेटमा सामाजिक दूरी कायम गर्न पनि सम्भव छैन । सुटिङ युनिटको एउटालाई संक्रमण भयो भने अरूलाई पनि सर्ने सम्भावना ज्यादा हुन्छ ।’ फागुनबाट चलचित्र छायाँकनको तयारीमा रहेका दीपेन्द्र स्वाथ्य सुरक्षाका मापदण्ड कसरी अपनाउने भन्ने अन्योलमा छन् । भन्छन्, ‘पहिलाको जस्तो खुला हृदय लिएर चलचित्र छायाङ्कनमा निस्कन सक्ने अवस्था छैन ।’

कोरोना कहरपछि बन्ने हाम्रा चलचित्रका कथा पनि परिवर्तन होलान् त ? यो धेरैको चासोको विषय बनेको छ । पुरानै शैलीका र पुराना चलचित्रमार्फत् दर्शक हलसम्म तान्न र चलचित्र उद्योगलाई पुरानै गतिमा फर्काउन त्यति सम्भव छैन । यो पुस १० गतेपछि खुलेका सिनेमा घर, लागेका चलचित्र र दर्शकको शून्य उपस्थितिले पनि प्रमाणित गरिसकेको छ ।

अब बन्ने चलचित्रले नयाँ स्वाद दिन सक्नुपर्छ, यो पक्का हो । तर, यसो भन्दैमा हाम्रा चलचित्रका कथा र विषयवस्तु नै सम्पूर्ण रूपमा नफेरिने निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । उनी भन्छन्, ‘अब बन्ने चलचित्रमा पनि देखिने कथा त उही हाम्रै समाजको हो । परिवेश, भोगाइ तिनै हुन् । तर, अब बन्ने चलचित्रमा कथा भन्ने शैली र प्याटन चेन्ज गर्नु जरुरी छ ।’

यता कलाकार तथा निर्माता दीपकराज गिरी भने अब बन्ने चलचित्रमा निक्कै मिहिनेत गर्नु पर्ने बताउँछन् । उनी भन्छन्, ‘यसै पनि हाम्रा चलचित्रले राम्रो व्यापार गर्न नसक्नुका पछाडि हाम्रो कमजोर मिहिनेत हो । अब पनि राम्रो मिहिनेत र तयारी नगरी फिल्म बनाउने हो भने सिने उद्योगले गति लिन सक्दैन ।’



नेपाली चलचित्र कथावाचनका हिसाबले निक्कै कमजोर भएका भन्दै गिरीले अब बन्ने चलचित्रमा सुधार गर्नुपर्ने बताए । कोरोना कहरको फुर्सदमा दर्शकहरूले विदेशी चलचित्र हेरेर आफ्नो स्तर वृद्धि गरेकाले पनि अब उही पुरानै ढर्राका फिल्मलाई दर्शकले नपत्याउने गिरीको धारणा छ । गिरी आफू भने वैशाखमा मात्रै नयाँ चलचित्रको छायाङ्कनमा जाने तयारी छन् । उनी अहिले स्क्रिप्टमा घोत्लिरहेका छन् । भन्छन्, ‘अवस्था सहज हुँदै गयो भने वैशाखमा चाहिँ फ्लोरमा निस्कन सकिन्छ कि भन्ने छ ।’

निर्माता संघका अध्यक्ष समेत रहेका निर्माता, निर्देशक तथा कलाकार आकाश अधिकारी भने फ्लोमा निस्किसकेका छन् । सुटिङका क्रममा केही दिन अघि रारा पुगेर फर्किएका अधिकारी चलचित्र उद्योगलाई चलायमान बनाउन पनि अब काम थाल्नु पर्ने बताउँछन् ।



अब सेटमा काम गर्ने तरिका परिवर्तन गर्नुपर्ने बताउँदै अधिकारी भन्छन्, ‘कोरोनाको जोखिम त जबसम्म औषधि र भ्याक्सिन बन्दैन तबसम्म रहिरहन्छ । त्यसैले संक्रमण फैलिन नदिन लागू गरिएका निर्देशनहरू पालन गर्दै नयाँ तरिकामा काम गर्नुपर्ने बाध्यता छ ।’

तर, अहिले तत्काल भने ठूला लगानीका चलचित्र नबनाउँदा नै राम्रो हुने अधिकारीको बुझाइ छ । उनी भन्छन्, ‘कोरोना सन्त्रास सकिएपछि चलाउनका लागि पनि अब चलचित्र निर्माण थाल्नु आवश्यक छ । तर, अबको केही समय निर्माताहरूले चलचित्र निर्माणमा साझेदारी गर्दा उपयुक्त हुन्छ । जसले गर्दा एउटै निर्माता मारमा पर्दैनन् । साना लगानीका चलचित्र निर्माण गर्दा लगानी डुब्ने खतरा पनि कम हुन्छ ।’

अब बन्ने चलचित्रको कथा भन्ने शैली र तरिका परिवर्तन गर्नुपर्ने आकाश बताउँछन् ।

‘इन्टरनेटले विश्वलाई हरेक मानिसको कोठामा, हातमा कैद गरिदिएको छ । अहिलेका दर्शकले विश्वका सिनेमा हेरिसकेका छन् । अब विदेशी फिल्मको नक्कल गरेर, उनीहरूका कथा तोडमोड गरेर निर्माण गरेका चलचित्रले निर्मातालाई सुरक्षित पनि बनाउँदैनन् । दर्शकलाई आकर्षण पनि गर्दैन । हाम्रा चलचित्रमा हाम्रै मौलिक कथा हाम्रै तरिकाले प्रस्तुत गर्नुपर्छ’, आकाश अगाडि भन्छन्, ‘हाम्रा सिनेमाहरूको हिजो पनि कथा कमजोर थिए । त्यसैले बनेका मध्ये १५/२० प्रतिशत चलचित्रले मात्रै लगानी सेभ गरिरहेका छन् । जसले आफ्नै कथामा मौलिकता पस्किए, कथा लेखनमा मिहिनेत गरे उनीहरू लगानी सेभ गर्न सफल भए । जसले कथा लेखनमा मिहिनेत गरेनन् उनीहरू घाटामा गए । अब बन्ने चलचित्रका कथामा अझ धेरै मिहिनेत गर्नुपर्ने छ ।’ 

डिजिटल बजार विस्तार

पहिलाको जस्तो हलमा गएर सिनेमा हेर्ने दर्शकको चाप फर्किन लामो समय लाग्छ । त्यसैले अब बन्ने नेपाली सिनेमा डिजिटल बजार बिस्तार गर्नुपर्छ । डिजिटल प्लेटफर्म ओटिटी मार्फत् दर्शकले सहज रूपमा हेर्न पाउने सिस्टम आउन लागेकाले पनि निर्माताको लगानी सुरक्षित गर्न अझै सहज हुने अधिकारीले बताए ।

सिनेमा हलको विकल्पका रूपमा र सिनेमा हलसम्म चाहेर पनि जान नसक्ने तर चलचित्र हेर्न रुचाउनेहरूका लागि ओटिटी जस्तै डिजिटल प्लेटफर्मको आवश्यकता महसुस गरेर पहल गरिएको अधिकारीले बताए । अबको केही महिनामा डिजिटल प्लेटफर्ममार्फत् दर्शकले घरमै बसेर चलचित्र हेर्ने छन् । जसको न्यूनतम शुल्क भने तिर्नु पर्ने हुन्छ । जसले गर्दा सिने उद्योगलाई चलायमान बनाउन अझै सहज हुनेछ, अधिकारीले भने । 

पछिल्लो समय डिजिटल प्रविधिको उपयोग गरेर केही सिनेमाले आम्दानी गर्न पनि थालिसकेका छन् । सुरुमा हलमा प्रदर्शन भइसकेका फिल्मलाई युट्युबमा अपलोड गरेर थोरै आम्दानी गरेका निर्माताहरूका लागि अहिले फोपी, भिडियो पसल, सिनेमा घर जस्ता डिजिटल एप्सहरू बजारको विकल्पका रूपमा देखिएका छन् । यी एप्समा कतिपय हलमा रिलिज नभएका फिल्म पनि हेर्न सकिन्छ ।

पारिश्रमिक घट्ने

नेपाली सिने बजार बेला–बेला कलाकारको पारिश्रमिकको विषयलाई लिएर गर्माउने गरेको छ । कोरोना महामारीले सिने उद्योगले बेहोरेको अन्योल हटाउनका लागि अबका केही वर्ष कलाकार एवं प्राविधिकले पारिश्रमिक घटाएर काम गर्नुपर्छ भन्ने विषयमा पनि बहस सुरु भएको छ ।

पारिश्रमिकको कुरामा कलाकारहरूले आफूलाई पनि मेन्टल्ली तयार पार्नुपर्ने निर्देशक ऋषि लामिछाने बताउँछन् । अबको केही समय स्टार कलाकार जसलाई हेर्नका लागि दर्शक हलसम्म आउँछन्, उनीहरूले पनि कम पारिश्रमिक लिएर सिनेमामा खेल्नु पर्ने हुन्छ ।

  • प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार १३:४९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया