माघ २ गतेदेखि भर्ने जति सबैले पाउने गरी सेयर खुल्ने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सर्वसाधारणका लागि ८ करोड कित्ता आइपिओ विक्री गर्ने भएको छ ।
कम्पनीको आइपिओ विक्री प्रबन्धकको जिम्मेवारी एनआइबिएल एस क्यापिटल लिमिटेडले पाएको छ भने सेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।
कम्पनीले हालसम्मकै सर्वाधिक ८ अर्ब रुपैयाँबराबरको आइपिओ विक्री गर्न लागेको हो । प्रतिसेयर १ सय अंकित दरको यो आइपिओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म बिक्रीको मिति तय गरिएको छ । कम्पनीले आइपिओ बिक्रीका लागि पुस २१ गते आह्वान पत्र सार्वजनिक गरेको छ ।
कम्पनीले आइपिओ बिक्रीको अनुमति माग्दै गत मंसिर ८ गते बोर्डमा निवेदन दिएकोमा पुस १० गते अनुमति पाएको हो ।
अधिकृत पूँजी ४० अर्ब र जारी पूँजी २० अर्ब रहेको कम्पनीको हाल चुक्तापूँजी १२ अर्ब रुपैयाँ रहेको छ । आइपिओ बाँडफाँट पश्चात् जारी पूँजी बराबरको रकम कायम हुनेछ ।
देशभित्र र बाहिरबाट लगानीको दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनामा मात्र लगानी गर्ने उद्देश्यसहित उक्त कम्पनीको स्थापना भएको हो ।
नेपाल राष्ट्र बैंकबाट विसं २०७५ साल माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकका रूपमा काम गर्ने स्वीकृति पाएको कम्पनीले २०७५ फागुन २२ गतेदेखि औपचारिक रुपमा बैंकिङ कारोबार शुरु गरेको हो ।
नेपालको पहिलो पूर्वाधार विकास बैंकका रुपमा सञ्चालित कम्पनीमा नेपाल सरकारको समेत लगानी रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।