कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवालाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय गलत भएको बताएका छन् ।
डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ र केन्द्रीय पशुपन्छी पालन सहकारी संघले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी कृषिमा वैदेशिक लगानी ल्याउने सरकारको निर्णयले नेपाली कृषक समस्यामा पर्ने बताएका हुन् ।
कृषि क्षेत्रमा निजीक्षेत्रबाट अर्बौ लगानी भइराखेको अवस्थामा सरकारले अपारदर्शी निर्णय गरेको भन्दै फिर्ता यस्तो निर्णय लिन आग्रह गरेका हुन् ।
सरकारले मन्त्रिपरिषदको निर्णयबाट कृषि क्षेत्रमा सशर्त डेरी उद्योग, पशुपंक्षी पालन, माहुरी पालन, माछा पालन, फलफूल, तरकारीलगायत कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरी पुस २० गते राजपत्रमा प्रकाशित गरिसकेको छ ।
राजपत्रमा प्रकाशित भइसकेपछि मात्रै थाहा पाएका कृषि क्षेत्रका सरोकारवालाले सरकारको यस्तो निर्णय तत्काल खारेज हुनुपर्ने माग गरेका हुन् ।
कृषिमा वैदेशिक लगानी भित्र्याउँदा देशको अर्थतन्त्रमा दीर्घकालिन असर पर्ने नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए । निजी क्षेत्रको अर्बौ लगानी रहेको क्षेत्रमा सरोकारवालासँग कुनै सल्लाह नगरी किसानको हित विपरित चालिएको कदम तत्काल फिर्ता लिनुपर्ने उनको भनाइ छ ।
अहिलेसम्म लगानी गरेर आधार तयार गरेको क्षेत्रमा प्रतिफल पाउने बेलामा वैदेशिक लगानी ल्याउनु गलत हुने नेपाल डेरी एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले बताए । सरकारले कसैलाई पनि थाहै नदिई राजपत्रमा प्रकाशित गरिसकेकाले तत्काल फिर्ता लिनुपर्ने बताए ।
राजनीतिक अस्थिरता र जनप्रतिनिधिको प्रतिनिधिमूलक संस्था नभएको अवस्थामा सरकारले शंकास्पद तरिकाले कृषिमा वैदेशिक लगानी ल्याउने निर्णय गरेको किसान अभियान्ता उद्धव अधिकारीले बताए ।
कृषिमा देशभित्रकै लगानी पर्याप्त भएको अवस्थामा राम्रो योजना दिनुपर्ने ठाउँमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने निर्णय गरेर गलत गरेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।