‘कोरोनाको सन्त्राससँगै बढेको वायु प्रदूषणले जनस्वास्थ्यमा संकट’

काठमाडौंको वायु प्रदूषणको चाप ह्वात्तै बढ्दा काठमाडौंबासीको दैनिकी प्रभावित बनेको छ । सोमबारसाँझदेखि काठमाडौंको वायुको उच्च प्रदूषणका कारण जनस्वास्थ्यमा संकट देखा परेको विज्ञहरूको चेतावनी छ । काठमाडौंलगायत देशभरको मौसम चिसिएसँगै प्रदूषित वायुको चाप पनि श्वास फेर्ने तहसम्म तल झरेको हो ।

काठमाडौंको आकाशमा सोमबार साँझ अचानक उच्च तहमा पुगेको वायुप्रदूषण मंगलबार बिहान केही घटेको रेकर्ड छ । तर, मंगलबार बिहान पनि संसारभरका ५० वटा सहरमध्ये काठमाडौंको वातावरण प्रदूषण सबैभन्दा पहिलो खराब नम्बरमा देखिएको छ । वायु प्रदूषण मापन गर्दै आएको आइक्यू एयरले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार काठमाडौंको वायुमण्डलको हावाको गुणस्तर (इन्डेक्स एक्यूआई) ३३७ देखिएको हो ।

विज्ञहरूका अनुसार काठमाडौं उपत्यकामा विगत केही दिनदेखि तापक्रम घटेको थियो । अर्थात् हावामा चिसोपन बढेको थियो । विगत दुई दिनदेखि काठमाडौंमा घाम लागेको छैन । जसका कारण माथि आकाशमा रहेको प्रदूषण हावा र पानीका कणसँगै गरुङ्गो भएर मानिसले सास फेर्ने तहसम्म आइपुगेको हो । 

काठमाडौंमा देखिएको उच्च वायु प्रदूषणले कोरोनाको सन्त्राससँगै स्वास्थ्यमा संकट निम्त्याएको जनस्वास्थ्यविद्हरूले बताएका छन् ।

यो अवस्थामा बालबालिका, दीर्घरोगी, गर्भवती तथा अन्य जोखिम समूहमा पर्ने मानिसको श्वासप्रश्वास, छाला, फोक्सो लगायतका मानव अंगमा गम्भीर असर पार्ने चिकित्सकहरूले बताएका छन् ।

प्रदूषित हावाबाटै हामीले श्वास फेर्नुपर्ने भएकाले श्वासप्रश्वासमा यसले गम्भीर असर पार्ने सम्भावना धेरै रहेको जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले बताए । दीक्षितले फरकधारसँग भने, ‘कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, सल्फरजस्तो हाम्रो शरीरलाई हानी गर्ने रसायन हावामा बढेकाले आँखा र छालाको संक्रमण हुने, कपालमा चाँया पर्ने जस्ता समस्या हुन्छन् । यसबाहेक मुटु, फोक्सो र छालामा पनि गम्भीर र दीर्घकालीन असर देखिन सक्छ ।’



जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले वातावरणमा देखिने उच्च प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पार्ने हुँदा यो निकै संकटकालको अवस्था भएको बताए । फरकधारसँगको कुराकानीमा उनले भने, ‘एयर क्वालिटी इन्डेक्स ३ सयभन्दा नाघ्यो भने जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ । काठमाडौंको वायुप्रदूषणको गुणस्तर सोमबार बेलुका नै ४८७ पुगेको थियो भने आज ३३७ भन्दा माथि रहेको रेकर्ड छ । जनस्वास्थ्यका दृष्टिकोणले यो निकै संकटपूर्ण अवस्था हो ।’

उच्च वायु प्रदूषणका कारण अल्पकालीन रूपमा आँखा पोल्ने, छालाको संक्रमण हुने, रुघाखोकी लाग्नेजस्ता रोग देखा पर्ने हुन्छ भने दीर्घकालीन रुपमा मुटु, फोक्सोको संक्रमण हुने, छालाको क्यान्सर र मस्तिष्कमा गम्भीर समस्या आउन सक्ने भन्दै सचेत रहन डा. पाण्डेले सुझाए ।



लामोसमयसम्म बाहिर ननिस्कनु नै यसको सबैभन्दा उत्तम उपाय विज्ञहरूको सुझाव छ । वातावरण विभागले मंगलबार विज्ञप्ति जारी गर्दै बिहान र साँझको समय वायु प्रदूषण अत्यधिक बढेको जानकारी दिँदै बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी, मुटुको समस्या भएकाहरूलाई प्रदूषणले बढी प्रभावित पार्ने बताएको छ । विभागले मानिसहरूलाई बिनाकाम घर बाहिर ननिस्कन र निस्कन परे सावधानी अपनाउन अपिल गरेको छ । 

वातावरणविज्ञ भूषण तुलाधरले जोखिम समूहमा पर्ने व्यक्तिहरूले बिहान सूर्योदय र बेलुका सूर्यास्तको समयमा बाहिर निस्कनुले सबैभन्दा बढी हानी गर्ने हुँदा सो समयमा बाहिर ननिस्कन सुझाव दिए । उनले भने, ‘बाहिर निस्कनै परे पनि अहिले कोरोना भाइरसको संक्रमणबाट पनि बच्नुपर्ने भएकाले सर्जिकल मास्क र कपडाको मास्क लगाएर मात्रै निस्कनुपर्छ ।’ माघ महिनाभरि चिसो नै रहने सम्भावना भएकाले वायु प्रदूषण त्यति नघट्ने हुँदा मर्निङ वाक तथा व्यायाम पनि अहिलेका लागि रोक्नु उचित हुने विज्ञहरूको सुझाव छ । 

स्टेट अफ ग्लोबल एयर– २०२०’ का अनुसार नेपालमा वायु प्रदूषणका कारण हरेक वर्ष ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो ।

आइक्यु एयरको विवरणअनुसार दक्षिण एसियामै सबैभन्दा प्रदूषित सहरका रूपमा शीर्षस्थानमा आउँदै भारतको राजधानी नयाँ दिल्लीलाई पनि काठमाडौंले उछिनेको छ ।

यो समाचार तयार पार्दासम्म सर्वाधिक प्रदूषित सहरमा कीर्गिस्तानको बिस्केकपछि काठमाडौं परेको छ । सूचीको तेस्रो नम्बरमा भियतनामको राजधानी हनोई, चौथो नम्बरमा चीनको वुहान, पाँचौँ नम्बरमा भारतको नयाँ दिल्ली, छैटौं नम्बरमा भारतकै मुम्बई, सातौं नम्बरमा बंगलादेशको ढाका र आठौँ नम्बरमा चीनको चोङगिङ सहर छन् ।

  • प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार १८:४८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया