कोरोनाको दोस्रो छाल आएमा हामी डुब्ने निश्चित छ : डा. अनुप बास्तोला
फाइल तस्बिर

कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या कम भएसँगै लापरवाही सुरु भएकोमा विज्ञले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गएकाले मानिसले स्वास्थ्य मापदण्ड अपनाउन छाडेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका हुन् । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता समेत रहेका डा. अनुप बास्तोलाले फेसबुकमा लामो स्टाटस लेखेर कोरोना भाइरसको पहिलो छालबाट तंग्रिने अवस्थामा रहेपनि पूर्ण सुरक्षित भने नभएको बताएका छन् । 

‘हामी कोरोना भाइरसको पहिलो छालबाट तंग्रिने अवस्थामा छौं । तथापि, पूर्ण सुरक्षित भइसकेका छैनौं । अहिले नै हामीले सुरक्षाका सारा मापदण्ड तोड्न थालिसक्यौं’, उनले भनेका छन्, ‘कोरोना भाइरसको नयाँ प्रजाति र संभावित  दोस्रो छालको चर्चा हुँदै गर्दा हाम्रो यो लापरबाही निकै खतरनाक साबित हुनसक्छ ।’

अब कोरोना भाइरसको नयाँ प्रजाति जुनसुकै बेला नेपालमा देखिने सक्ने र यसले स्वास्थ्यकर्मी र उनका परिवार उच्च जोखिममा रहेको उनको भनाइ छ । तर संक्रमण घट्दै गएपछि स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीई कम उपलब्ध गराइनु घातक हुनसक्ने उनले बताएका छन् । 

‘कोभिड-१९ महामारीको सुरुवाती दिनजस्तै स्वास्थ्यकर्मी र उनका परिवार नयाँ प्रजातिको कोरोना भाइरसको उच्च जोखिममा रहनेछन् । कोभिड-१९ को संक्रमण संख्या घट्दै जाँदा स्वास्थ्यकर्मीका लागि पीपीईको उपलब्धता कम हुनु घातक हुनसक्छ’, उनले थपेका छन् । 

उनले यसअघि चीनमा देखिँदा नेपाल आइपुग्दैन भन्ने मानसिकता जस्तै नयाँ प्रजातिको भाइरस आउँदैन भन्नु मुर्खता हुने बताएका छन्। 



‘पहिला चीनमा भाइरस देखिँदा नेपालमा आइपुग्दैन भन्ने मानसिकता हावी भएजस्तै अहिले कोरोनाको नयाँ प्रजातिलाई हलुका रूपमा लिनु मूर्खता हुनसक्छ’, उनले लेखेका छन्, ‘जबकी, कोरोनाको नयाँ प्रजाति छिमेकी भारतसहित ३७ देशमा घुमिसकेको छ । त्यसैले, अबका दिनमा अझ चुस्त निगरानी, पर्याप्त परीक्षण र आइसोलेसमा जोड दिन आवश्यक छ ।’ 



कोभिड-१९ बाट जोगिन स्वास्थ्य मापदण्ड अनिवार्य अपनाउन उनले सबैसँग अनुरोध गरेका छन् । उनले फेसबुकमा थप लेखेका छन्, ‘कोभिड-१९ बाट जोगिन स्वास्थ्य मापदण्ड नअपनाउने, रोकथामका उपायलाई वेवास्था गर्ने र जताततै खुला छाड्ने हो भने नयाँ प्रजातिसहितको दोस्रो छाल आएमा हामी डुब्ने निश्चित छ । किनकी, कोरोना भाइरसको नयाँ प्रजाति झनै संक्रामक देखिएको छ ।’ 

अब संक्रमण ग्रस्त क्षेत्रबाट नेपाल भित्रिने ठाउँमा उच्च सतर्कता, हरेक व्यक्तिको पहिचान, अनिवार्य परीक्षण, क्वारेन्टाइन र आइसोलेसनबिना कोरोनाको सम्भावित दोस्रो छाललाई रोक्नै नसक्ने उनको तर्क छ । यस्तै कोरोनाको नयाँ प्रजाति रोकथाम गर्न र आइसक्यो कि भनेर अनुसन्धान गर्न पनि आवश्यक रहेको डा. बास्तोलाले बताएका छन् ।

  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार ८:१५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया