प्रधानमन्त्रीको रुटमा ‘कालो रङ’ प्रतिबन्ध
संघीय सरकारका ४ मन्त्री धनगढीमा

संघीय सरकारका ४ मन्त्री धनगढीमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढीमा आउने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीले जनसभालाई सम्बोधन गर्ने गरी धनगढी खुलामञ्चमा कार्यक्रम हुँदै छ । 

ओली प्रधानमन्त्री भएपछि जनसभालाई सम्बोधन गर्ने गरी पहिलो पटक यहाँ आउँदै छन् । औपचारिक कार्यक्रमका उद्घाटनका लागि भने यसअघि प्रधानमन्त्री भएपछि २०७६ फागुन ७ गते डोटीको सहजपुर–बोक्टान सडकको उद्घाटन गर्न ओली सुदूरपश्चिम आएका थिए ।

सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री ओली तथा आमसभाको सुरक्षाका लागि शुक्रबार करिब एक हजारको हाराहारीमा सशस्त्र प्रहरी र प्रहरी परिचालन गरिनेछन् । झण्डै सयको हाराहारीमा सादा पोसाकमा प्रहरी खटिनेछन् ।

जिल्ला सुरक्षा समिति कैलालीले बुधबारै प्रधानमन्त्रीको सुरक्षा तथा आमसभा स्थलमा अप्रिय घटना हुन नदिन रणनीति बनाउँदै छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले प्रधानमन्त्री ओलीको सुरक्षाका लागि व्यापक सुरक्षा तयारी गरिएको र थप आवश्यक रणनीति बनाउन आज सुरक्षा समितिको बैठक बस्ने बताए ।

आमसभा स्थल वरिपरि तथा प्रधानमन्त्री ओली आवात–जावत गर्ने सडकमा कुनै पनि किसिमको विरोध तथा अवरोध गर्न नदिन सुरक्षा निकाय ‘हाई अलर्ट’ गरिएको उच्च सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

स्रोतका अनुसार आमसभा स्थल तथा प्रधानमन्त्री आवात–जावत गर्ने सडक क्षेत्रमा कालो ब्यानर, कालो मास्क र कालो झण्डामा प्रतिबन्ध लगाइनेछ ।



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली धनगढी आउने भएका हुन् । उक्त कार्यक्रमको अहिले तयारी तीव्र भइरहेको छ । 

कार्यक्रमको तयारीका लागि नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाको संयोजकत्वमा २ हजार ५२५ जनाको मूल समिति बनाइएको छ । त्यस्तै ७ वटा उप–समिति बनाएर तयारी थालिएको छ ।



‘२४ गते प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रमको तयारी सुरु भएको छ’ नेकपा केन्द्रीय सदस्य एवम् मिडिया संयोजक उद्धव भट्टराईले भने, ‘हरेक स्थानीय तहबाट व्यापक जनताको सहभागिता गराउने तयारी छ ।’

कार्यक्रमको तयारी कै लागि केन्द्रीय नेता तथा मन्त्रीहरू कैलाली पुगिसकेका हुन् । नेकपाका सुदूरपश्चिम संयोजक एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, वन मन्त्री प्रेम आले, श्रम मन्त्री गौरी शंकर चौधरी सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना र सुदूरपश्चिमका अध्यक्ष कर्ण थापा पनि धनगढी पुगिसकेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र श्रम मन्त्री चौधरी र प्रदेश अध्यक्ष थापा सोमबार धनगढी पुगेका हुन् भने वन मन्त्री आले र सामान्य प्रशासन मन्त्री ठगुन्ना मंगलबार पुगेका हुन् । संघीय सरकारका ४ वटा मन्त्री धनगढी पुगेसँगै यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

अनौपचारिक रूपमा विभाजन भइसकेको नेकपाका नेताहरू आ–आफ्नो समूहमा नेता तथा कार्यकर्ता बढाउने होडबाजीमा छन् । त्यसैक्रममा धनगढी पुगेका संघीय सरकारका मन्त्रीहरूले पनि कार्यकर्ता भेटघाटलाई तीब्रता दिएका छन् । 

कार्यकर्ता आफ्नो पक्षमा तान्ने प्रयास

धनगढीमा रहेका मन्त्रीहरूले प्रधानमन्त्री आउने कार्यक्रमको तयारी सँगसँगै प्रचण्ड–माधव समूहमा लागेका प्रदेश तथा जिल्लास्तरका नेताहरूलाई आफ्नो समूहमा तान्न कसरतमा छन् ।

धनगढी पुगेका चारवटै संघीय मन्त्री सुदूरपश्चिम प्रदेशकै रहेका कारण पनि कार्यकर्ता तथा आफ्ना जिल्लाका नेताहरूलाई बोलाएर अलग–अलग छलफल तथा भेटघाट भइरहेका छन् ।

यसअघि एक साता धनगढी बसेर फर्किएका नेकपाका स्थायी कमिटी सदस्य एवं प्रचण्ड–माधव समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले पनि धनगढीमा आयोजित विरोधसभामा सम्बोधनसँगै जिल्ला र प्रदेशस्तरका नेता तथा कार्यकर्तालाई आफ्नो समूहमा रहन र आफूहरू नै सच्चा नेकपा रहेको आश्वस्त पारेर फर्किएका थिए ।

धनगढीमा भएको पत्रकार सम्मेलनमा नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले यसअघि अर्को समूहले सुदूरपश्चिममा गरेका सम्पूर्ण गतिविधि खारेज गरेको घोषणा गरेका थिए । उनले आफूहरू नै आधिकारिक नेकपा र त्यसको प्रदेश अध्यक्ष आफू रहेकाले भीम रावलको सहभागितामा गरिएका सम्पूर्ण गतिविधि खारेज गरेको बताएका थिए ।

भीम रावलको प्रमुख आतिथ्यमा केही दिनअघि बसेको प्रचण्ड–माधव समूहको सुदूरपश्चिम प्रदेश कमिटी बैठकले भने प्रदेश अध्यक्ष कर्ण थापालाई कारबाहीको निर्णय गरेको थियो ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म तुलनात्मक रूपमा अर्को समूहभन्दा बलियो देखिएको प्रचण्ड–माधव समूह आफ्ना नेता तथा कार्यकर्ता जोगाउने कसरतमा छ भने ओली समूह अर्को समूहका नेता तथा कार्यकर्तालाई आफ्नो समूहमा तान्ने प्रयासमा छ । प्रदेशका नौ वटा जिल्लाका नेकपा अध्यक्षमध्ये बाजुरा, बैतडी, कैलाली र कञ्चनपुरका अध्यक्ष ओली समूहमा लागेका छन् भने सचिव भने २ जनाबाहेक सबै प्रचण्ड–माधव समूहमा रहेका छन् ।

प्रदेश सरकार पनि धनगढीमै रहेकाले प्रदेशका अन्य जिल्लाका नेता तथा कार्यकर्ता धनगढीमै केन्द्रित छन् । पहाडी जिल्लामा राजनीति गर्ने नेताहरूका घर पनि धनगढीमै रहेका कारण पनि नेकपा दुवै समूहको ध्यान धनगढीमै केन्द्रित हुनु स्वाभाविक रहेको दुवै पक्षका नेताहरू बताउँछन् ।

  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १४:५६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया