काठमाडौं : न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासबाट बाहिरिएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको आजदेखि भइरहेको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि संवैधानिक इजलासबाट न्यायाधीश कार्की बाहिरिएका हुन्।
बहसमा सहभागी अधिवक्ताहरुले न्यायाधीश कार्कीले इजलासमा बस्न नहुने तर्क गरेका थिए । वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि कार्कीले इजलासमा नबस्ने निर्णय लिएका हुन्।
वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतलाई अदालत जस्तै बनाउनुपर्ने बताउँदै इजलासमा कार्कीले बस्न उचित नहुने उल्लेख गरेका थिए। महान्यायाधिवक्ता भइसकेको व्यक्ति, प्रतिनिधिसभा विघटनको बचाऊमा जुटेका अग्नि खरेल र महान्यायाधिवक्ताका रूपमा बहसमा आएको बताउँदै इजलासमा बस्न मिल्ने नमिल्नेबारे थापाले प्रश्न गरेका थिए।
कार्की र खरेलले एउटै ल फर्ममा रहेर काम गरेका थिए। यस्तोमा खरेल प्रधानमन्त्रीको कदमको बचाऊमा उत्रिएका छन् भने कार्की न्यायाधीशको भूमिकामा छन्। कार्की केपी शर्मा ओली पहिलो कार्यकालको प्रधानमन्त्री हुँदा महान्यायधीवक्ता भएका थिए।
अर्का वरिष्ठ अधिवक्ता मुक्ति प्रधानमन्त्रीले सर्वोच्चले न्याय मात्रै गर्ने नभइ, जनताले थाहा पाउने गरी निर्णय लिनुपर्ने मत राखेका थिए। अर्का अधिवक्ता दिनेश त्रिपाठीलेसमेत न्यायाधीश कार्कीमाथि गम्भीर प्रश्न उठेको भन्दै संवैधानिक इजलासको बेञ्चमा नबस्न भनेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।