‘हामी लोडसेडिङमुक्त भयौं तर अँध्यारोमुक्त कहिले ?’
दैनिक बत्ती जाने समस्या बढ्यो प्राधिकरण भन्छ आपूर्ति छ, ओभरलोड छैन

‘बत्ती गएको र आएको केही जानकारी हुन्न । कहिले उज्यालैमा पाक्छ, कहिले अध्यारोमा छामछाम–छुमछुम गर्दै पकाउनु पर्छ । बत्ती आउला र खाम्ला भन्दै घण्टौं कुर्‍यो बत्ती आउँदैन । फोन गर्‍यो फोन उठ्दैन । लोड सेडिङ छैन भन्छन्, तर बत्ती जाने समस्या उस्तै छ’, घोराही-१० सौरीकी विमल चौधरीले भनिन्, ‘साँझपख हाम्रो गाउँमा त दिनकै बत्ती जान्छ । बजारमा के छ  खै ?’

नारामा लोड सेडिङ मुक्त देश भने पनि अघोषित लोड सेडिङले समस्या खेप्नु परिरहेको सर्वसाधारणको गुनासो छ । चौधरीले थपिन्, ‘लोड सेडिङ छैन भन्छन् तर बत्ती जाने आउने गरिरहन्छ ।’ 

घोराही–७ निवासी अनिल नमुवाको भनाइ पनि उस्तै छ । अनियमित विद्युत् सेवाले गृहिणीहरूको भान्सामा मात्रै होइन, किसानका बारीदेखि व्यापारीका पसलसम्ममा समस्या पारेको उनले बताए । उनले भने, ‘बालीनाली सिँचाइ गरौं भन्यो त्यतिबेलै बत्ती जान्छ । कहिले उत्तिखेर आउँछ, कहिले घण्टौं कुर्नुपर्छ । भन्न त विद्युत् लोड सेडिङ छैन भन्छन्, गाउँमा आउने–जाने, अध्यारोमै बस्ने समस्या उस्तै छ ।’ लोड सेडिङ मुक्त भए पनि अध्यारो मुक्त सेवाग्राही हुन सकेका छैनन् ।

‘कम्प्यटुर खोल्यो बत्ती जान्छ, काम बस्यो झ्याप्प–झ्याप्प जाने आउने चलिरहन्छ । फोन गर्‍यो कार्यालयका फोन व्यस्त रहन्छ । उठे पनि कतै खराबी होला, बनाउँदै छन्, कही फल्ट भयो कि भन्ने जवाफ मात्रै आउँछ । त्योभन्दा अर्को जवाफ कार्यालयले दिँदैन । तर, दिनहुँ बत्तीको समस्या यही हो’, घोराहीका व्यवसायी कुलराज चौधरीले भने, ‘लोड सेडिङको समस्या मुक्त भयो भन्ने तर सेवाग्राही अनियमित सेवाको मार छौं ।’

‘कहिले के समस्या आउँछ कहिले के आउँछ ?’

‘लोड सेडिङ छैन, विकास निर्माणको काम धमाधम चलिरहेका छन् । दिनैपिच्छे विद्युत् पोल सार्नेदेखि, फेर्नेसम्मको काम चलिरहेको छ । समस्या नआएको दिन छैन । तर, लोड सेडिङ छैन । मर्मतसम्भारका समस्याका कारण बत्ती जाने आउने गर्छ’, नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्र प्रमुख इन्जिनियर प्रमोद कुमार सिंहले भने, ‘कहिले के समस्या कहिले के समस्या यस्तै छ ।’



दाङमा १२ मेघा भोल्ट एम्पियर विद्युत् खपत हुँदै आइरहेको छ । जुन मागका आधारमा आपूर्ति सहज रहेकाले ओभरलोडको समस्यामा नरहेको सिंहले बताए । टेलिफोनका तारदेखि, सडक विस्तारसम्म, फ्युज समस्या लगायतका कारणले विद्युत् समस्या देखिएको उनको भनाइ छ । 

विद्युतमा पोलमा तारमाथि तार



‘विद्युत् पोलले विद्युत् तारको मात्रै भार खेपेका छैन । फोनका सबै तारको भार थेगेको छ । फोनका तार चुडिएमा त्यसले विद्युतको तारमा क्षति गर्छ । तार माथि तारको समस्याले विद्युतमा समस्या ल्याएको छ । तर, त्यो हेक्का सेवाग्राहीले राख्दैनन् । खाली विद्युत् अनियमितताको समस्या देख्छ । जसका कारण विद्युतको समस्या बल्झिरहेको छ’, सिंहले भने, ‘विद्युत् समस्या टेलिफोन तारले ल्याएको छ ।’

  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १६:२५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया