ट्रम्प समर्थकले अमेरिकी संसद्‍ भवनमा देखाएको ‘औकात’ (१२ तस्बिर)

राष्ट्रपतिको चुनावी परिणाम स्वीकार गर्न नसकेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले संसद् भवनमा प्रदर्शन गरेर आफ्नो असली रुप देखाएका छन् । ट्रम्प समर्थकले संसद भवनमा हिंसात्मक प्रदर्शन गरेपछि ट्रम्पको चौतर्फी आलोचना भएको छ । ट्रम्पकै उक्साहटमा हतियारधारी उनका समर्थकले संसद भवनमा आक्रमण गरेको आरोप छ ।

ट्रम्प समर्थकले लामो समयसम्म संसद भवन नियन्त्रणमा लिएर तोडफोड गरे । राष्ट्रपति चुनावमा धाँधली भएको भन्दै प्रमाणबिना एकोहोरो अभिव्यक्ति दिँदै आएका ट्रम्पले संसदमा आक्रमण गरेको विषयको विश्व समुदायले नै आलोचना गरेको छ । 

हिंसा भड्किएपछि गोली चल्दा एक महिलाको मृत्यु भएको बीबीसीले जनाएको छ । ट्रम्पको यो प्रवृत्तिको आलोचना गर्दै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले यो घटनाको गम्भीर निन्दा र आलोचना गरेका छन् । 

यो आक्रमणलाई अहिलेसम्मकै खराब भएको संज्ञा अमेरिकी सञ्चारमाध्यमले दिएका छन् । ट्रम्प समर्थकले बाइडेनको जितलाई सदनबाट आधिकारिकता दिने छलफलमा अवरोध गर्नका निम्ति यो हिंसा मच्चाएको समाचारमा उल्लेख गरिएको छ । 



आलोचकहरुले यो गतिविधिपछि अमेरिकी प्रजातन्त्रमाथि नै प्रश्न उठाएका छन् । क्यापिटल हिल्समा भएको आक्रमणमा संलग्न भएको आरोपमा १३ जना पक्राउ परेका छन् । वाशिंटन डिसी प्रहरीका अनुसार १३ जनाबाट पाँच वटा बन्दुक पनि नियन्त्रणमा लिइएको छ । 



प्रहरी प्रमुख रोबर्ट कोन्टीका अनुसार पक्राउ परेका सबै डिसी एरियाबाहिर रहने गरेको पाइएको छ । आक्रमणमा परेर घाइते भएकाले उपचार चलिरहेको छ । अहिले प्रदर्शनकारीलाई क्यापिटलबाट हटाउने क्रममा प्रहरी रहेको छ । 

कसले के भने ?

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले इतिहासले यो दिनलाई सम्झने बताएका छन् । उनले फेसबुकमा पदमै रहेका राष्ट्रपतिले चुनावी परिणाम अस्वीकार गरेर हिंसामा उत्रनु देशकै लागि लज्जाको विषय भएको बताए । 

यसैगरी पूर्वराष्ट्रपति जर्ज डब्लू बुशले विज्ञप्ति सार्वजनिक गर्दै सदनमा भएको घटना एक पागलपन भएको र यो घटना देखेर आफूलाई निकै गाह्रो भएको बताएका छन् । 

चुनावी नतिजाबारे यस्तो विवाद असफल गणराज्यमा देखिने गरे पनि अमेरिका जस्तो देशमा यस्तो हुनु निकै दुःखको विषय भएको उनको भनाइ छ । 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ट्वीट गरेर अमेरिकी सदनमा अपमानजनक काम भएको बताएका छन् । अमेरिका विश्वभरमा लोकतन्त्रको लागि उभिने गरेको र सत्ता हस्तान्तरण शान्तिपूर्ण र व्यवस्थित तरिकाले हुनुपर्ने उनको भनाइ छ ।

यस्तै फ्रान्सको विदेश मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै अमेरिकी सदनमा भएको घटनाको निन्दा गरेको छ । उसले यसलाई लोकतन्त्रको गम्भीर हमला भनेको छ । 

यसैगरी डचका प्रधानमन्त्री मार्क रुटले वासिङटनको तस्बिर भयानक भएको भन्दै ट्रम्पलाई जो बाइडेनलाई राष्ट्रपति मान्न आग्रह गरेका छन् । अमेरिकी सदनकी सदस्य लोरी त्रहानले यो घटनालाई घरेलु आतंकवादको संज्ञा दिएकी छिन् । 

हिंसामा संलग्न १३ जना पक्राउ

सामाजिक सञ्जालले हटाए राष्ट्रपति ट्रम्पका पोस्ट र भिडियो

ट्रम्प समर्थकको हंगामा : वाशिंटनमा कर्फ्यू


  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार ७:४६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया