एसपी सरुवामा गोलमाल, आइजिपीको मनोमानी

नेपाल प्रहरीमा केही दिनअघि गरिएको प्रहरी उपरिक्षक (एसपी)हरुको सरुवाको विषयमा व्यापक आलोचना हुन थालेको छ । प्रहरीका उच्च अधिकारीहरुले आफ्नो मनोमानीमा प्रहरी उपरिक्षकको सरुवा गरेपछि यसको आलोचना हुन थालेको हो ।

नहोस् पनि किन, पछिल्लो समय प्रहरी कार्यालय आफैंले बनाएको मापदण्डलाई मिचेर, बेवास्ता गरेर र आफूलाई सहज हुने गरि यसपटक एसपीहरुको सरुवा गरिएको छ । यसमा आइजिपी शैलश थापाको मनोमानी रहेको दाबी गर्ने प्रहरी अधिकारीहरु नै रहेका छन् ।

प्रहरीमा भएको विधानअनुसार एसपी सरुवा सामूहिक निर्णयबाट गरिने भनिएको छ । तर, यसपटकको एसपी सरुवामा हाकिमलाई रिजाउने एसपी, हाकिमका नजिकका एसपी प्राथमिकतामा परेका छन् । 

फलस्वरुपः नातागोता वा नजिकका एसपीहरुले आफूले रोजेको ठाउँ पाएका छन्, सहज हुने गरि उनीहरुको हेरफेर गरिएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार गरेको एसपी सरुवामा यस्तो गोलमाल भएको प्रहरी अधिकारीहरुले नै पनि बताउन थालेका छन् । 

उदाहरणका लागि लिऔँ, एसपी दिपेन्द्र शाहीको सरुवा । उनी यसपटक बारामा सरुवा भएका छन् । एआइजी हरि पालका नातेदार भएकै कारण उनले बारा जिल्लामा सरुवा पाएका हुन् । बारा जिल्ला आकर्षक जिल्ला भएको र त्यहाँ दिपेन्द्रको सरुवा हुनुमा हरि पालको विशेष भूमिका रहेको प्रहरी अधिकारी बताउँछन् । 

त्यस्तै, एसपी उमा चतुर्वेदीलाई कन्चनपुर पठाइनुमा पनि प्रहरी प्रधान कार्यालयको चलखेल भएको दाबी प्रहरी अधिकारी गर्छन् । किनकि उनलाई तेस्रो पटक कन्चनपुरको सुरक्षाको जिम्मेवारी दिइएको छ । यसअघि उनी सुर्खेत र सिरहामा कमान्डरका रुपमा पनि थिए । 



 

सरुवामा मिचिएको मापदण्ड



प्रहरीमा सरुवा गर्दा तराईका जिल्लाबाट तराईकै जिल्लामा सरुवा गर्न नपाइने मापदण्ड बनाइएको छ । तर, पछिल्लो एसपी सरुवामा यो मापदण्ड नमानिएको मात्र होइन, प्रहरी संगठन सुधारका लागि बनाइएको यो मापदण्ड नै मिचिएको छ । 

यसमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मनोमानी भएको प्रहरी अधिकारीहरु बताउँछन् । ‘उनले तराईबाट आएका एसपीहरुलाई पुनः तराईमा नै सरुवा गरेका छन्,’ एक अधिकारीले भने, ‘यो सरासर प्रहरी संगठन सुधारका लागि बनाइएको मापदण्ड विपरित हो ।’

मंगलबार भएको एसपी सरुवामा यसको उदाहरण हुन्, एसपी सानुराम भट्टराई । उनी यसअघि बारा जिल्लामा कमाण्डरका रुपमा थिए । अहिले फेरि उनलाई झापामा पठाइएको छ । प्रहरी अधिकारीहरुका अनुसार भट्टराईले आफूले रोजेको जिल्ला नै यसपटक हात पारेका हुन् तर यो प्रहरीको विधिभन्दा गलत कदम हो ।

 

आफ्नालाई दिन सिनियारिटीको ख्याल गरिएन

आइजिपी थापाको मनोमानीले मंगलबार भएको एसपी सरुवामा निराशा र आशंका, आलोचना र प्रहरी संगठन सुधारको अवरोधकका रुपमा लिइएको छ । किनकि यसपटक राजनीतिक दबाब र सम्बन्ध, निकटता र आफूनजिकका प्रहरी अधिकारीहरुले सरुवामा बढी चान्स पाएका छन् । कतिसम्म भने यसपटक गरिएको सरुवामा वरिष्ठ अधिकारीलाई बेवास्ता गर्दै जुनियरहरुलाई प्राथमिकतामा राखिएको छ । यसले एसपी सरुवामा शंकाको वातावरण झन् बढाएको छ ।

आइजिपी थापा, एआइजीहरु हरि पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्कीनिकटहरु सरुवामा परेपछि यो आशंका उब्जिएको हो ।

यसले प्रहरी संगठनको सुधारमा आइजिपी थापाले बेवास्ता गरेको आशंका बढेको छ । उनले राम्रा होइन, हाम्रालाई बढी प्राथमिकता र स्थान दिएको प्रहरी अधिकारीहरुले गुनासो गर्न थालेका छन् ।

 

‘पावर’ हुनेहरु तराईका जिल्लामा 

प्रहरी प्रधान कार्यालयका केही अधिकारीहरु नै यसपटक भएको एसपी सरुवामा विभेद भएको बताउँछन् । उनीहरुका अनुसार पावर भएका एसपीहरुलाई अहिले तराईका जिल्लामा पठाइएको छ । ‘अनि कम पावर भएकाहरु पहाडका जिल्लामा पठाइएका छन्,’ एक प्रहरी अधिकारीले भने । 

एसपीको सरुवा जिल्लामा पठाउँदा पनि विभेद गरिएको भन्दै प्रहरी मुख्यालयमा नै यसको आलोचना गरिएको छ ।

‘इमान्दार र व्यावसायिक प्रहरी अधिकृतहरु छुटेका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘यसले जुनियरहरुलाई मौका दिएको छ जो प्रहरीमा ठूला पदका नजिकका मानिएका छन् ।’ ती अधिकारी यसरी जुनियरलाई सिनियरलाई मिचेर अवसर दिँदा गलत कामको विकास बढी हुने बताउँछन् ।

तर, प्रहरी प्रधान कार्यालयले भने मापदण्डअनुसार नै यसपटक प्रहरीमा एसपीको सरुवा भएको बताउँदै आएको छ । 

एसपीको सरुवामा किन यस्तो मनोमानी भन्ने फरकधारको प्रश्नमा प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर भन्छन्, ‘यो सरुवा विधि र प्रक्रियाअनुसार नै भएको छ ।’ उनले राइट म्यान राइट ठाउँको अवधारणामा यस्तो सरुवा गरिएको बताए । 

सँगसँगै कुँवरले स्वीकार गरे, यसपटक सरुवामा मापदण्डलाई बेवास्ता गरिएको छ । ‘मापदण्ड एउटा छ, तर त्यसलाई आधार बनाएर होइन, कार्यक्षमताको आधारमा सरुवा गरिएको हो,’ कुँवरले भने ।

  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार ११:४६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया