कर्णालीमा साहसिक खेल प्रतियोगिता हुँदै

कर्णाली प्रदेशमा साहसिक खेल प्रतियोगिता सञ्चालन हुने भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले माघको अन्तिम सातामा र्‍याफ्टिङ प्रतियोगिता गर्ने तयारी गरेको हो । खेलकुद मार्फत् पर्यटन क्षेत्रको प्रचार–प्रसार गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको बताइएको छ ।

कर्णालीमा साहसिक खेलकुदमा आकर्षण बढाउन पनि प्रतियोगिता गर्न लागिएको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद महाशाखाका उपसचिव जवाहरलाल हमालले जानकारी दिए । ‘कर्णाली प्रदेशका विभिन्न नदीमा साहसिक खेल र्‍याफ्टिङको सम्भावना छ,’ उपसचिव हमालले भने, ‘यो खेलबाट त्यस्ता सम्भावनालाई प्रचार समेत गर्छौं।’ उनले मन्त्रालयले गत आर्थिक वर्षमा पनि यस्ता खेलकुद गतिविधि सञ्चालन गर्नका लागि बजेट छुट्याइए पनि सञ्चालन हुन नसकेको बताए ।

मन्त्रालयले चालु आर्थिक वर्षमा साहसिक प्रतियोगिता सञ्चालन गर्न आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको हमालले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने एक प्रमुख गन्तव्य साहसिक खेल पनि भएकाले यस्ताखाले खेलकुदले महत्त्वपूर्ण योगदान पुर्‍याउने पर्यटन व्यवसायीहरूको भनाइ छ । नेपालका अन्य नदी जस्तै कर्णाली प्रदेशका कर्णाली नदी र भेरी नदीमा र्‍याफ्टिङका लागि खुला गरिएको छ ।





  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १३:११:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया