सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले विभाजित भइसकेको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेसँगै विभाजित नेकपामा अहिले पनि नेताहरु यता र उता गरिरहेका छन् ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले माधव नेपाललाई पनि अध्यक्ष घोषणा गरिसकेको छ । एकताको तीन वर्ष नपुग्दै छिन्नभिन्न भएको नेकपाका यी दुई समूह अब आआफ्नै रणनीति बनाउन व्यस्त छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले केही दिनअघि मात्रै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । यसलाई काउन्टर दिन नेकपामा ओली समूहले पनि विभिन्न जिल्लामा आफ्ना कार्यक्रमलाई रफ्तारमा बढाएको छ ।
नेकपा विभाजित हुँदा अहिलेसम्म कुनै समूहमा देखिएका छैनन्, नेकपा उपाध्यक्ष वामदेव गौतम ।
त्यसैले उनी अब कुन समूहमा जालान् भन्ने चर्चा नेकपामा पनि हुन थालेको छ । त्यसो त केही दिनअघि पहिलो पटक राष्ट्रिय सभा बैठकमा उपस्थिति जनाउन पुगेका गौतमले बैठक सकिएपछि संसद भवनबाहिर आफू कुनै पनि समूहमा नलाग्ने बताएका थिए । त्यतिबेला पत्रकारहरुलाई प्रतिक्रिया दिँदै गौतमले भनेका थिए, ‘म नेकपाको तेस्रो पक्ष हुँ, दुई पक्ष विभाजनतिर, म तेस्रो पक्ष एकता गर्नुपर्छ भन्ने तिर ।’ (हेर्नुहोस्, भिडियो)
यसअघि नेकपामा प्रधानमन्त्री ओलीविरुद्ध आवाज उठाइरहेका गौतमले त्यही दिन भनेका थिए– अहिले दैनिक उनलाई प्रचण्ड र प्रधानमन्त्री ओलीले बोलाइरहेका छन् तर उनले दुवै जनालाई आफू कुनै पनि समूहमा नलाग्ने बताएका छन् ।
गौतमले त नेकपा एकता गराउने अभियानमा आफू सामेल हुने पनि बताउँदै आएका छन् । बुधबार मात्र आएको एक समाचारअनुसार गौतमको गृह जिल्ला बर्दियाबाट यसको सुरुवात पनि भएको छ ।
के गौतमले अब नेकपामा तेस्रो धार नै खडा गर्न लागेका हुन् त ?
हामीले यो प्रश्न नेकपा प्रचण्ड–नेपाल समूहका एक केन्द्रीय सदस्यलाई सोध्यौँ ।
‘उहाँले त्यस्तो भनिरहनु भएको छ,’ उनले भने, ‘तर, अहिलेको अवस्था हेर्दा उहाँले भनेको जस्तो सम्भव छैन । फेरि उहाँले संसद विघटनको विरोध गरिसक्नु भएको छ, यसको अर्थ उहाँले अर्को धार बनाउछु भन्दा पत्यार नलाग्न पनि सक्छ । र, अहिले नेकपामा तेस्रो धार हुने सम्भावना पनि छैन ।’
त्यसो हो भने गौतम अब कुन पक्षतिर लाग्लान् त ?
‘उहाँले ओलीले चाल्नुभएको कदमको विरोध गरिसक्नु भएको छ,’ ती नेताले भने, ‘त्यसैले उहाँ अहिले ओलीतिर लाग्नुहुन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन । अहिले नेकपामा देखिएको र ओलीको विरोध गरेको पक्ष भनेकै प्रचण्ड–नेपाल पक्ष हो । त्यसैले उहाँ पनि यही समूहमा आउनुहुन्छ ।’
नेकपाका ती नेताले यस्तो दाबी गरे पनि गौतमले अहिलेसम्म आफू कुन पक्षमा लाग्ने भन्ने बताएका छैनन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा चाहिँ गौतमले अहिले देखिएको नेकपा विभाजनले आफू निकै दुखी भएको बताएका छन् । ‘पार्टी जोगाउनका लागि प्रधानमन्त्री ओलीले राजीनामा दिन सक्नु पथ्र्यो,’ गौतमले भने, ‘अविश्वासको प्रस्ताव आउँछ भन्ने थाहा भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएको भए हुन्थ्यो, म भएको भएँ त्यस्तो गर्थेँ ।’
उनले संवैधानिक रुपमा यसलाई कस्तो हुने भन्ने विषयमा कुनै चर्चा नगर्ने पनि बिहीबारको राष्ट्रिय सभामा बताएका छन् ।
‘पछिल्लो समय गौतमले स्पष्ट रुपमा प्रधानमन्त्री ओलीको कदमले देशलाई थप समस्यामा धकेलेको, पार्टीलाई विभाजित गरेको र संविधानको सर्वोच्चता नमानेको भन्दै अभिव्यक्ति दिइरहेका छन्,’ नेकपाका ती नेताले भने, ‘त्यसैले वामदेव गौतम अहिले ओलीतिर ढल्किँदैनन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।