logo-img

नेकपामा जस्तै राष्ट्रियसभामा पनि अलमलिए वामदेव गौतम
सुरु गर्दा झुक्किए, अन्तिममा पनि हडबडाए

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी दुई समूहमा विभाजित भइसक्दा पनि उपाध्यक्ष वामदेव गौतम अनिर्णित भएर  बसेका छन्। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै समूहको तानातानमा परेका उनले अहिलेसम्म कुनै निर्णय लिएका छैनन्।

यद्यपि उनले पत्नी तुलसाको नाम ओली नेतृत्वको नेकपा केन्द्रीय सदस्यका रुपमा रहेको छ। दुवै समूहको तानातानमा परेका उनले नेकपाको तेस्रो धार निर्माणमा आफू लागेको बताएका छन्। उनले वडा तहसम्म नै तेस्रो धारको निर्माण गर्ने बताइसकेका छन्।

नेकपा फुटिनसकेकाले अझै पनि एकताको सम्भावना रहेको बताइरहेका उनै गौतम राष्ट्रियसभा सदस्यका रुपमा बिहीबार दोस्रो पटक नयाँबानेश्वरस्थित संसद् भवनमा प्रवेश गरे। कालो कोट, रातो स्वेटर र हल्ला सेतो रंगको दौरासुरुवाल अनि ढाका टोपीमा सजिएर राष्ट्रियसभामा पुगेका गौतमले आजको विशेष समयमा आफ्ना कुरा राखे। 

यसअघि बसेको पहिलो बैठकमा दलका नेताहरुले मात्रै सम्बोधन गरेको अवस्थामा दोस्रो बैठकमा गौतमसहितका नेताहरुले सम्बोधन गर्ने मौका पाए। शून्य र विशेष समयमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सांसदहरुलाई बोल्ने समय छुट्याएका थिए। 



विशेष समय लिएर बोल्ने क्रममा उपाध्यक्ष गौतम पार्टीमा जस्तै राष्ट्रियसभामा पनि अलमलमा परे। ओली या दाहाल कुन समूहमा जाने भन्ने कुराको निर्णय लिन नसकेर दोधारमा परिरहेका उनी राष्ट्रियसभामा पहिलो पटक बोल्दा त्यसैगरी अलमलिएका हुन्। 



राष्ट्रियसभाको दोश्रो बैठकमा पहिलो पटक बोल्ने मौका पाएका उनले सिटबाटै बोल्ने कि रोस्ट्रममा चढेर बोल्ने पत्तो नै पाएनन्। विशेष समयमा बोल्ने सांसदहरुको सूचीमा राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले नाम लिनेबित्तिकै गौतम सिटबाट जुरुक्कै उठेर रोष्ट्रमतिर सोझ्झिँदै थिए।

तर त्यही बेला रोष्ट्रमबाट हेरिरहेका अध्यक्ष तिमल्सिनालले उनलाई केही पाइला अघि बढिसकेको अवस्थामा रोकिदिए। सिटबाट उठेर बैठक कक्षको लबी हुँदै अघि बढेका उनलाई अध्यक्ष तिमल्सिनाले रोकेपछि उनी अफ्ठेरो मान्दै फेरि सिटमै फर्किए।



समय सुरु भइसकेकाले उनले बोल्ने विषय वस्तुबारे लेखेर ल्याएको कागज कोटको गोजीबाट निकाले। त्यो कागजलाई टेबुलमा राखेपछि उनले बोल्ने तयारीका लागि मुखबाट सर्जिकल मास्क खोले। अनि माइक समातेर राष्ट्रियसभाका अध्यक्षलाई सम्बोधन गर्न खोजे। त्यसबेला पनि गौतममा अलमल देखियो किन भने उनले सम्बोधन गर्न थालिसक्दा पनि उनले माइक अन गर्न भुलेका थिए। 

अध्यक्षलाई सम्बोधन गरेर बोल्दै गर्दा पनि उनको आवाज हलमा सुनिएन, आफ्नो आवाज नसुनिएपछि उनी फेरि अलमलमा परे। त्यसपछि उनलाई नजिकैका अर्का सांसदले माइक अन गर्न सिकाउनुपर्यो। अर्का सांसदले सिकाइदिएपछि मात्रै उनले माइक खोल्न जाने। 

अनि बल्ल ए ए जानेँ अब भन्दै गौतमले आफ्नो कुरा बैठकमा राख्न थाले। अनि उनले अफ द रेकर्डमा भने,‘...तीन वर्षपछि संसद्‍मा आएको हुनाले बिर्सिन थालेको रहेछु ।’ अनि बल्ल उनले आफ्ना कुरा राख्न सुरु गरे। 'अध्यक्ष महोदय राष्ट्रियसभामा मेरो जीवनमा पहिलो पटक अस्ति...।' 

बाहिर जस्तै गौतमले राष्ट्रियसभामा पनि आफूलाई दुवै समूहमा खुलाएनन्। उनले नेकपा दुई समूहमा विभाजित भइसकेको अवस्थामा संसदमा पनि आफूलाई बीचको बाटोमै रहेको देखाउन खोजे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरे पनि आफूलाई दुवै समूहमा खुलेको देखाउन चाहेनन्। 

गौतमले सम्बोधनका क्रममा ओली र दाहाल-नेपाल दुवै समूहका नेताहरुको आलोचनामा आफ्नो समय खर्चिए। उनले आज पनि आफू नेकपाको एकताका लागि तेस्रो धार निर्माणमा जुटेको धारणा राखे। तर नेकपा दुई समूहमा विभाजित भइरहँदा आफू भने एक्लै परेको कुरा उनले बैठकमा राखे। 

‘पार्टी एकताको पक्षमा म मात्रै एक्लै उभिएको होइन, संगठनात्मक संरचना नै बनाएर जाने गरी सोचेको छु, तयारी गरिरहेको छु’, बैठकमा उनले आफ्ना कुरा यसरी राखे। उनले आफू प्रधानमन्त्री भएर अविश्वास प्रस्ताव लागेको भए पदबाटै राजीनाम दिने जिकिर गरे। ओलीले पनि संसद् विघटन नगरी पद त्यागेको भए राम्रो हुने सन्देश उनले राष्ट्रियसभामा दिए। 

बैठकको सुरुमा सिटबाटै उठेर बोल्ने कि मञ्चमा जाने अलमलमा परेका गौतमका लागि अध्यक्ष तिमल्सिनाले १५ मिनेट समय दिएका थिए। त्यसक्रममा उनले अन्य सार्वजनिक मञ्चमा जस्तै धाराप्रवाह भाषण दिइरहे। त्यसरी भावनामा बहकिँदै बोलिरहँदा उनले आफ्नो समय गुज्रिएकोसमेत पत्तो पाएनन्। 

नेकपा फुटेपछि आफूलाई ठूलो पीडा महसुस भएको भन्दै बोलेका उनले समय सकिएको पत्तो नपाउँदा भाषणको निष्कर्ष पनि सुनाउन पाएनन्। अर्थात्, आफ्नो कुरालाई टुंगोमै पुर्‍याउन नपाइ राष्ट्रियसभा अध्यक्षले रातो बत्ती बालिदिएपछि उनी फेरि अलमलिए। रातो बत्तीले अलमलमा परेका उनले सबै कुरालाई बिट मार्नै नपाइ हतारहतारमा धन्यवाद भन्दै बसेका थिए।

के भने गौतमले 

गौतमले आफू प्रधानमन्त्रीको कदमको कटु आलोचक रहेको बताएका थिए। बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गलत गरेको बताएका थिए। प्रधानमन्त्री ओलीकै कार्यशैलीबाट पार्टीमा धेरै विवाद उत्पन्‍न भएको उनको तर्क थियो। ‘प्रधानमन्त्रीको म कटु आलोचक हो’ गौतमले भने, ‘उहाँको कार्यशैलीले नै हाम्रो पार्टीमा धेरै-धेरै विवाद गराएका हुन्। ’ 

अहिले पार्टी फुटाउन किन एकता गरेको ?: वामदेव गौतम

गौतमले ओली आफ्नो ४३ वर्षदेखिको सहयोध्दा र मित्र पनि भएको बताए। पार्टीमा विभिन्न समयमा आएको विवादका बेला आफूले मध्यस्थता गरी विवाद सुल्झाएको गौतमले जानकारी दिए। 

नेकपा कम्युनिस्ट पार्टी संविधानको सर्वोच्चता स्वीकारेको पार्टी भएकाले आफूले चाहेको भएन भन्दैमा संविधान कुल्चिने काम गर्नु गलत भएको गौतमले बताए । पार्टीभित्रै अल्पमतमा परेपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने गौतमको भनाइ छ । कार्यशैली सुधारका लागि आफूले प्रधानमन्त्री ओलीलाई पटक-पटक कुरा राख्दा पनि वेवास्ता गरेको उनले गुनासो गरे । 'त्यसो गरेको भए निकै दुःख गरेर बनाएको पार्टी विभाजनबाट बच्ने थियो,' गौतमले भने।  

आफू प्रधानमन्त्रीको ठाउँमा भएको भए आफ्नै पार्टीका सांसदले अविश्वासको प्रस्ताव ल्याउने कुरा थाहा पाउनेवित्तिकै राजीनामा दिने गौतमको तर्क थियो। प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी बारे प्रचण्ड-नेपालले आफूसँग छलफल नगरेको भन्दै उनले आलोचना गरे। 

गौतमले अहिले नेकपा विभाजित भएकाले आफू लज्जित भएको बताए। उनले अहिले पार्टीमा दुवै समूह नै कमजोर रहेको भन्दै अहिले पार्टी फुटाउन तीन वर्षअघि किन एकता गरेको भन्दै प्रश्न पनि राखे। ‘अहिले फुटाउनु थियो भने, हिजो किन एकता गरेको?,’ गौतमले भने।

  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया