ओली र ट्रम्प उस्तै : नेतृत्वले विवेक गुमाउँदा देशले दुःख पाउँछ
यता संसद विघटन, उता स‌सदमा तोडफोड

नेपाली कांग्रेसका नेता धनराज गुरुङले बिहीबार बिहान ट्विटरमा ट्रम्पका समर्थकले संयुक्तराज्य अमेरिकामा मच्चाएको उद्दण्ड र नेपालको पछिल्लो राजनीतिक घटनालाई तुलना गरेका छन्।

‘काठमाडौंदेखि वासिङ्टनसम्म नियाल्दा’ भनेर सुरु गर्दै नेता गुरुङले लेखेका छन्, ‘कुनै साधारण मान्छेले मानसिक सन्तुलन गुमाउँदा ऊ आफैँले दुःख पाउँछ र उसैको बेइज्जत हुन्छ।

तर, मुलुकको नेतृत्व कर्ताले सन्तुलन गुमाउँदा सिङ्गै देशले दुःख पाउँछ र राष्ट्रको बेइज्जत हुन्छ।’

जनताले चुनेर देशको नेतृत्व गर्न पठाएको व्यक्तिको अकर्मण्यताले देशमा समस्या निम्तिएको कुरा गुरुङले उल्लेख गरेका छन्। 

पत्रकार तारानाथ दाहालले ट्विटरमा भनेका छन्, ‘अधिनायकवादी शासकको पहिलो दुश्मन प्रेस, दोस्रो दुश्मन नागरिक संघ–संस्था र अन्तिम दुश्मन संसदलाई ठान्दा रहेछन् भन्ने पछिल्लो ज्वलन्त उदाहरण ओली र ट्रम्प भए।’



अनुप नामका एक ट्विटेले भनेका छन्, ‘मेरो विकल्प छैन भन्ने भ्रम ओली र ट्रम्प दुवैमा देखियो। लोकतन्त्रभित्र सधैँ विकल्प हुन्छ। यति सामान्य कुरा समेत नबुझ्ने व्यक्ति जुनसुकै ओहोदामा पुगे पनि त्यो मात्र ‘पटमुर्ख’ हो।’



अमेरिकी संसदमा बुधबार ट्रम्प समर्थकले हंगामा गरेपछि नेपालमा ओली र ट्रम्पलाई तुलना गरी चर्चा भइरहेको छ। ‘ट्रम्प नेपालका ओलीभन्दा पनि जब्बर रहेछन्’, कतिपयले व्यङ्ग्य गरेका छन्। 

राष्ट्रिय सभा बैठकमा बिहीबार बोल्दै सांसद शेरबहादुर कुँवरले अमेरिकामा ट्रम्प समर्थकको हर्कतलाई नेपालका प्रधानमन्त्रीको कदमसँग जोडर तुलना गरेका थिए। 

एक व्यक्तिको दम्भ र अहंकारले संविधान र व्यवस्थालाई चुनौती दिन नमिल्ने उनले बताए। अमेरिकाको त्यो घटनाले संसारको लोकतन्त्रवादीको खिल्ली उडेको र नेपाल पनि संविधानको धज्जी उडाइएकाले हामी कता जाँदैछौँ ? भनेर कुँवरले प्रश्न गरे।  

ट्रम्प र ओलीले लोकतान्त्रिक व्यवस्था र संविधानको सर्वोच्चता नै अपमान गरेको चर्चा भइरहेको छ।​

ती ट्रम्प

अमेरिकाका २ ठूला पार्टीमध्येको रिपब्लिकनबाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्प सन् २०१६ को नोभेम्बरमा राष्ट्रपति निर्वाचित भए। त्यतिबेलाको मत सर्वेक्षणमा ट्रम्प डेमोक्रेटिककी उम्मेदवार हिलारी क्लिन्टनभन्दा पछाडि नै थिए। अन्तिममा ट्रम्पले नतिजा आफ्नो पक्षमा पार्न सफल भए र २०१७ मा अमेरिकाको ४५ औं राष्ट्रपति पदमा विराजमान भए।

राष्ट्रपति निर्वाचित भएपछि उनको महत्त्वाकांक्षा, अहंकार, जिद्धीपन अस्वाभाविक देखिन्थ्यो। आफूले अमेरिकालाई बलियो बनाउँदै लगेको आँकलन ट्रम्पको थियो। अर्को कार्यकाल पनि राष्ट्रपति हुनेमा उनी निकै आशावादी थिए।

लामो समयदेखि अमेरिकामा राष्ट्रपतिले दोस्रो कार्यकालको निर्वाचनमा पनि जित हात पार्दै आएका थिए। अनपेक्षित रूपमा ट्रम्प पराजित भए। नतिजा विपक्षीको पोल्टामा जाने निश्चित देखेपछि ट्रम्पले निर्वाचनमा षडयन्त्र गरिएको, धाँधली भएको आरोप लगाउँदै नतिजा अस्वीकार गरिरहे।

ट्रम्पका प्रतिनिधिले निर्वाचनमा धाँधली भएको भन्दै थुप्रै ठाउँमा मुद्दा दर्ता गराए। त्यसमा कुनै प्रमाण नभएको भन्दै अदालतले ट्रम्पको दाबीलाई खारेज गरिदियो।

जर्जिया राज्यको नतिजा आफ्नो पक्षमा पार्न ट्रम्पले निर्वाचन अधिकारीलाई दबाब दिएको अडियो पनि बाहिरियो। अनेक हतकण्डाका बाबजुद ट्रम्प सत्ताबाट बाहिरिने अन्तिम अवस्थामा पुगिसकेका छन्।

नयाँ राष्ट्रपतिमा विजयी भएका जो बाइडेनलाई पदासिन गराउने प्रक्रिया सुरु भइरहेको छ।

ट्रम्प सत्ताबाट बाहिरिने पक्का भएपछि उनका समर्थकले बुधबार अस्वाभाविक हर्कत गरे। बाइडेनलाई राष्ट्रपति पद हस्तान्तरणका लागि बुधबार दिउँसो अमेरिकी व्यवस्थापिका कांग्रेसमा छलफल जारी थियो।

वासिङटनको क्यापिटल भवनमा बाइडेनलाई राष्ट्रपति बनाउनका लागि कांग्रेस बसेको थियो। ट्रम्पका समर्थक क्यापिटल भवनमा प्रवेश गरेपछि झडपको स्थिति सिर्जना भयो। झडपमा परी ४ जनाले ज्यान समेत गुमाएका छन्।

संवैधानिक प्रक्रियाअनुसार भएको निर्वाचनको नतिजा अस्वीकार गर्ने जिद्धी र अहंकारी ट्रम्पकै कारण यस्तो घटना भएको भन्दै अहिले विश्वभर यसको निन्दा भइरहेको छ। 

संविधानमा व्यवस्था भएअनुसार निर्वाचन नतिजा स्वीकार गर्न र सत्ताबाट बाहिरिन ट्रम्पलाई निकै कठिन भइरहेको छ।

यी ओली 

२०७२ साल असोज ३ गते नेपालमा पहिलो पटक जनताले चुनेका प्रतिनिधिले बनाएको संविधान जारी भयो। त्यही संविधानमा भएको व्यवस्था अनुसार २०७४ कात्तिक/मंसिरमा नेपालको शक्तिशाली व्यवस्थापिका प्रतिनिधिसभाको निर्वाचन भयो। 

गठबन्धन बनाएर चुनावमा होमिएका दुई कम्युनिस्ट पार्टीको पक्षमा करिब दुई तिहाइ मत प्राप्त भयो। गठबन्धनले केपी शर्मा ओलीलाई निर्विकल्प प्रधानमन्त्रीका रूपमा अघि सार्यो। उनी प्रधानमन्त्री चुनिए। चुनावी गठबन्धन बनाएका पार्टी एक भए। 

सत्ता सम्हाल्ने बित्तिकै प्रधानमन्त्री ओली राज्यका शक्ति आफूमा केन्द्रित गर्न उद्यत रहे। सर्वसाधारण, सदनदेखि पार्टीभित्रै समेत प्रधानमन्त्रीको तीव्र आलोचना हुन थाल्यो।  पार्टीका सबै कमिटीमा अल्पमतमा पर्दै जान थालेपछि उनले पार्टी कमिटी बैठक, छलफललाई अस्वीकार गर्न थाले। संसद् आफू अनुकूल नदेखेपछि बीचैमा अधिवेशन अन्त्य गरिदिए।

आफू सत्ताबाट बाहिरिनु पर्ने त्रासले अन्ततः प्रतिनिधिसभा विघटनको घोषणा गरे। संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्ने अधिकार नै नभएको दाबी केही कानुनविदहरूको छ। प्रधानमन्त्रीको कदमपछि देशको राजनीति अस्थिर अवस्थामा पुगेको छ।

कोरोना महामारीबाट आक्रान्त बनेको देशमा राजनीतिक समस्याले त्यसलाई ओझेलमा पारेको छ। जनता कोरोना संक्रमणको त्रासबाट मुक्ति खोजिरहेका छन्। त्यसको पीडाबाट उठ्ने प्रयत्न गरिरहेका छन्। आफ्नो पार्टी झगडाको निहुँमा दुई वर्ष म्याद छँदै जनप्रतिनिधि सभा विघटन गरेर जनतालाई फेरि भोट हाल्न आह्वान गरिएको छ। 

यो परिस्थिति उब्जनुको एउटै मात्रै कारण हो, सत्ताबाट बाहिरिनु पर्ला भन्ने प्रधानमन्त्री ओलीको त्रास। 

ट्रम्प भर्सेस ओली 

नेपालका प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपतिबीच धेरै समानता रहेको चर्चा हुने गरेको छ। दुवै जननिर्वाचित सरकार प्रमुख हुन्। 

सत्तासम्म पुग्नका लागि दुवैले राष्ट्रियताको नाराको सहायता लिएका थिए।

दुवैको बानी आफ्नो प्रशंसा मात्रै रुचाउने आलोचना कत्ति पनि सुन्न नचाहने रहेको छ।

आफूमाथि आलोचना गरेको भनेर ट्रम्प देशका सञ्चार माध्यमप्रति सधैँ आक्रामक रहे। नेपालका मिडियाले आफू र आफ्नो सरकारको कमजोरी मात्रै देखेको र धेरै काम हुँदा पनि त्यसको प्रचार नगरेको गुनासो प्रधानमन्त्री ओलीको रहँदै आएको छ।

जस्तो निर्णय गरे पनि, जस्तो कदम चाले पनि आँखा चिम्लिएर त्यसलाई साथ दिने र वाहीवाही गर्ने समर्थक ओलीका छन्। ट्रम्पका पनि त्यही खालका समर्थक छन्। 

यदि सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय उल्ट्याइदियो भने नेपालमा पनि अमेरिकाको जस्तै घटना हुनसक्ने आँकलन केहीले गरेका छन्। सत्ताबाट बाहिरिनु पर्ने त्रासले ओलीका समर्थकले पनि ट्रम्पका समर्थकको जस्तै संसदलाई तारो बनाउने उनीहरूको तर्क छ।

  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार १२:५८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया