अमेरिका पठाउँछु भन्दै ठगी गर्ने युवती पक्राउ
तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय दैलेख ।

अमेरिका पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने सुनसरीको इटहरी उप–महानगरपालिका–४ की २४ वर्षीया एक युवती पक्राउ परेकी छन् । विद्या शर्मा बताउने विद्या सरकारलाई दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले पक्राउ गरेको हो । उनले केही समयअघि दैलेखको नारायण नगरपालिकामा आई आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटी नेपालको सिइओ हुँ भन्दै ठगी धन्दा गरेको खुलेको छ ।

दैलेखमा उनले आफू आफ्नो संस्थाबाट कोभिड १९ महामारीको रोकथामका लागि स्वास्थ्य सामग्रीहरू त्रिपाल, सेनिटाइजर, मास्क, पन्जा र खाद्यान्न वितरण गर्ने जिम्मा पाएको भन्दै केही स्थानीय तहमा स्वास्थ्य सामग्री राहत बाँड्ने गरेकी थिइन् । सोही समयमा उनले आफ्नो अमेरिकाको भिजा लागेको र आफूसहित ८/१० जना युवालाई पठाउन सक्छु भन्दै युवाहरूबाट रकम असुली गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रहरीका अनुसार युवालाई प्रलोभन देखाएर उनले २०७७ कात्तिक १४ गते नारायण नगरपालिका–१, नयाँबजारका मनोज थापालाई बैंकमार्फत् ९० हजार रुपैयाँ जम्मा गर्न लगाएर मनोजबाट बेपत्ता भएकी थिइन् । त्यसअघि उनले नारायण नगरपालिका–१, कै २८ वर्षीय विवेक थापालाई पनि अमेरिका पठाउने भन्दै २०७७ वैशाख ३१ गतेदेखि असोज १८ गतेसम्म ५२ लाख १४ हजार दस रुपैयाँ पठाउन लगाएर सम्पर्कविहीन भएकी थिइन् ।

ठगी कसुर अन्तर्गत विवेकको जाहेरी दरखास्त परेपछि प्रहरीले अदालतबाट पुस ९ गते पक्राउ अनुमति पाए लगत्तै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी (प्रहरी निरीक्षक) इन्द्रजित सुनारले जानकारी दिए । हाल जिल्ला प्रहरी कार्यालय दैलेखमा उनको नाममा दुईवटा उजुरी दर्ता भएका छन् । उजुरी दुईवटा भए पनि उनले यसरी नै धेरैलाई ठगेको प्रहरीको अनुमान छ । उनीमाथि थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि थप जानकारी आउने प्रहरीले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १९:२०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया