संविधानको धारासहित प्रधानमन्त्रीलाई विरोध पत्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुर्खेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र पठाएको छ । नेकपा प्रचण्ड–माधव समूहले सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत् विरोध पत्र पठाएका हुन् ।

विरोध पत्रमा प्रधानमन्त्री ओलीलाई आफ्नो असंवैधानिक कदममाथि पश्चातापका साथ राष्ट्रका सामु क्षमा याचना गर्दै प्रतिनिधिसभा पुनः सुचारु गरी संविधानलाई क्रियाशील बनाउन अनुरोध गरिएको छ । प्रतिगामी कदमको खारेज गर, पार्टी एकता जिन्दावाद, सूर्य चिह्न हाम्रो हो लगायतका नारासहित नेकपा सुर्खेत जिल्ला कमिटी अध्यक्ष धुव्रकुमार शाही, जिल्ला इन्चार्ज नरबहादुर विष्ट, सह इन्चार्ज बिन्दमान विष्ट लगायतका नेताहरूले विरोध पत्र बुझाएका हुन् ।

विरोधपत्र बुझाउँदै अध्यक्ष शाहीले प्रधानमन्त्रीलाई एकपटक आफूलाई सच्याउने अवसर प्रदान गरेको बताए । संविधानले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै पनि अधिकार नदिएकाले संविधानको धारा पुनः अध्ययन गर्नका लागि संविधानको धारा समेत विरोध पत्रसँगै पठाइएको छ । 

ज्ञापन पत्र बुझ्दै सुर्खेतमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सम्बन्धित निकायमार्फत् पत्र प्रधानमन्त्रीसम्म पठाउने बताए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे यता नेकपा प्रचण्ड–माधव समूहले विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ । सोहीअनुसार प्रशासनमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाइएको हो ।





  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार १६:४०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया