टनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याउन अनुमति

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयातका लागि अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरण (सिईए)ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो । 

विद्युत प्राधिकरणले टकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो ।सिईएले अनुमति दिएसँगै अब आवश्यक परेको बेला टनकपुरबार ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने नेपाल विद्युत प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।

प्राधिकरणले टनकपुरबाट खरिद गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४.१४ भारतीय रुपैयाँ (६.६२ नेपाली रुपैयाँ) छ । नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट विद्युत निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ ।

‘टनकपुरमा अहिले १०० एमभीएको ट्रन्सफर्मर भए पनि  उताबाट अनुमति नपाउँदा ७० मेगावाटभन्दा बढी ल्याउन पाइरहेका थिएनौं', उनले भने, 'भारतीय अधिकारीहरुसँगको निरन्तरको छलफलपछि जनवरी—मार्च र जुलाई—डिसेम्बरमा  आयात क्षमता बढाएर ८५ मेगावाटसम्म ल्याउन पाउने अनुमति पाएका छौं।'

प्रसारण लाइनको क्षमताले नधान्दा पूर्वबाट पश्चिमतर्फ विद्युत पठाउन नसकिरहेको अवस्थामा टनकपुरबाट थप विद्युत् ल्याउन पाएपछि अब पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने उनले बताए। यसले बिहारबाट महंगोमा आयात भइरहेको विद्युत्लाई कम गर्न सकिने उनले जानकारी दिए।

प्राधिकरणले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत आयात गरेको विद्युत्लाई प्रसारण लाइनको क्षमता अभावका कारण रौतहटको चपुरबाट पश्चिम पठाउन समस्या भोगिरहेको थियो ।



टनकपुरबाट थप आयात गर्न सकिने भएपछि पश्चिम पठाएको विद्युत्लाई काठमाडौं उपत्यका र पूर्वतर्फ आपूर्तिका लागि पठाउन सकिने शाक्यले बताए। यसबाट मुलककै समग्र विद्युत् आपूर्तिमा सुधार हुने उनले उल्लेख गरे।

केही दिनअघि ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मरको क्षमता विस्तार गरेसँगै त्यहाँबाट थप १०० मेगावाटसम्म विद्युत आयात गर्न सकिने छ । यसबाट यस वर्षको जाडोमा हुने विद्युत्को माग धान्न पर्याप्त विद्युत् हुने छ । 



प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत निगम लिमिटेड(एनभीभीएन)बीच ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । पीपीएको म्याद ३० जुन २०२१सम्म रहेको छ । खरिद गरिने विद्युत्को प्रतियुनिट मूल्य ४.१८ भारु (६.६९ नेरु) छ ।

  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार १४:२३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया