काठमाडौं : पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै दुई कित्तामा विभाजित भएको नेकपाले निकालेको जुलुसले दैनिक सडक व्यस्त भइरहेको छ। काठमाडौंसहित देशका विभिन्न भागमा भइरहेका यस्ता जुलुस कहिले सरकारको विरोधमा निस्किरहेका छन् त कहिले विरोधमा।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशभरका जुलुसमा पुगिरहेका एकजना नेता हुन् महेश बस्नेत। उनकै नेतृत्वमा शनिबार पनि काठमाडौंमा तराई-मधेसमा बसोबास गरिरहेकाहरुको सहभागितामा काठमाडौंमा जुलुस निस्कियो।
ओलीको समर्थनमा युवा संघका नेता सञ्जीवकुमार झाले संयोजन गरेको जुलुसमा तराई-मधेसबाट कयौँ पुरुष र महिलाहरु ल्याइएको थियो। उनीहरु तराई-मधेसको मौलिक पोशाक धोतीमा सजिएका थिए। ओलीनिकट युवा संघले काठमाडौंको प्रज्ञा भवनमा गरेको बृहत कार्यकर्ता भेला अगाडि उक्त धोती जुलुस निकालिएको थियो। प्रदेश २ का कयौँ बासिन्दा ल्याएर गरिएको जुलुसमा युवा संघका नेताहरुले पनि धोती लगाएका थिए।
युवा संघको भेलाको बहानामा प्रदेश २ सहित मधेसबाट युवाहरु मात्रै होइन, वृद्धवृद्धा पनि उतारिएको छ। तर ती महिला र वृद्धवृद्धा काठमाडौंको पुसको चिसोमा खाली खुट्टै जुलुसमा सहभागी भए। उनीहरुका लागि आयोजकहरुले चिसो छल्नका लागि जुत्ता चप्पल पनि बन्दोबस्त गर्न सकेनन्। तर जुलुस आयोजक युवा संघका नेता झा कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको दाबी गर्छन्।
जुलुस काठमाडौंको बबरमहलदेखि माइतीघर हुँदै प्रज्ञा भवन पुग्दा कयौँ सहभागी खाली खुट्टै नारा लगाइरहेका थिए। गाउँमा खेतीकिसानीबाट केही समयलाई फुर्सद पाएका कतिपय कृषक काठमाडौं हेर्ने रहरले आएका हुन् भने कतिपयलाई लुगा र मीठो खानाको पनि आश्वासन दिइएको छ। उनीहरुलाई काठमाडौंमा खाने बस्ने सबै व्यवस्था युवा संघले नै गरेको छ।
खुट्टामा एकसरो चप्पलसमेत नलगाएका उनीहरु युवासंघका नेताहरुसँगै नारा लगाइरहेका थिए, ‘धोती कुर्ता हमर शान बा, केपी ओली हमर जान बा।’उनीहरुले शरीरमा तराईको मौलिक पोशाक सेतो कुर्ता, सेतो रंगको धोती र सेतै गम्छा पनि पहिरिएका थिए। खाली खुट्टै भए पनि केपी ओली आफूहरुका शान भन्दै नारा लगाउँदै उनीहरु प्रज्ञा भवन पुगे। त्यहाँ दर्शकदीर्घाको अघिल्लो सिटमा पनि उनीहरु खाली खुट्टै बसेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।