संसद विघटनको विरोधमा नेपाली कांग्रेसले सुर्खेतसहित कर्णालीका १० वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ । यसैक्रममा सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ (क)को वीरेन्द्रनगरमा पनि विरोध प्रदर्शन गरिएको छ ।
‘ओली सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यबद्धता होऔँ’ भन्ने मूल नाराका साथ वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु गरिएको विरोध र्याली बीचबजार हुँदै पीपल चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनका क्रममा ‘सर्वसत्तावादी ओली सरकार मुर्दावाद, औषधि छैन, मल छैन सत्ताको लडाइँ लाज छैन, चारैतिर भ्रष्टाचार जनताले चिन्यो ओली सरकार’लगायत नारा लगाउँदै कांग्रेसका नेता तथा कार्यकर्ता सडकमा उत्रिएका थिए ।
वीरेन्द्रनगरमा भएको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस सुर्खेतका सभापति कमलाराज रेग्मीले सरकारको असंवैधानिक कदमविरुद्ध आफूहरु निरन्तर सडकमा आएको बताए । सभामा नेपाल महिला संघकी केन्द्रीय कोषाध्यक्ष जानकी सिंह, नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टलगायत नेता तथा कार्यकर्ता सहभागी थिए ।
कांग्रेसले सुर्खेतका प्रतिनिधिसभाका दुईवटा निर्वाचन क्षेत्रका (क) र (ख) का विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको छ । जसअन्तर्गत क्षेत्र नं. १ (क) को सिम्ता जामुने बजार राकम, (ख) को लेकबेसी नगरपालिका ६ कल्याणको स्याउली बजार, क्षेत्र नं. २ को प्रदेश (क) को वीरेन्द्रनगरको पिपलचौतारी, प्रदेश (ख)को पञ्चपुरी नगरपालिकाको बाबियाचौर बजारमा विरोध प्रदर्शन गरिएको हो ।
सुर्खेतसहित कर्णाली प्रदेशका १० वटै जिल्लाका निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । कांग्रेसले केन्द्रीय समितिको निर्णयअनुसार कर्णालीसहित देशभरका प्रदेश निर्वाचन क्षेत्रस्तरीय विरोध कार्यक्रम गरेको हो । यसपछि कांग्रेसले वडा तहमा विरोधका कार्यक्रम गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ । यसअघि कांग्रेसले सवै जिल्लामा विरोध कार्यक्रम गरिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।