केपी ओलीले संविधानमाथि बलात्कार गरे : झलनाथ खनाल
नेम्वाङ र खरेल ओलीका जागिरे मात्रै भएको जिकिर

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले संविधानलाई बलात्कार गरेको बताएका छन्। ओली आफैंले प्रधानमन्त्रीबाट संसद् विघटन हुन नसक्ने बताएर पनि अपराध गरेको आरोप उनले लगाएका हुन्।

शनिबार काठमाडौंको चाबहिलमा नेकपा दाहाल-नेपाल समूह सम्पर्क समन्वय कमिटीको भेला-प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले संसद विघटन गर्ने कुनै अधिकार नभएको भनेर आफैंले हस्ताक्षर गरेको संविधानलाई ओलीले बलात्कार गरेको बताएका हुन्।

‘केपी ओली आफैले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर बनाएको संविधानलाई बलात्कार गरेर संसद् भंग गर्नुभयो । उहाँ प्रधानमन्त्री भएदेखि नै तानाशाहको जस्तो प्रवृत्ति देखाउन थाल्नुभयो', उनले अगाडि भने, ‘प्रधानमन्त्री बनेदेखि ओलीले अनेक शक्ति केन्द्रहरु आफू मातहत ल्याउनुभयो, राष्ट्रिय अनुसन्धान विभाग पनि आफू मातहत ल्याएर तानाशाहको अभ्यास गर्नुभयो ।’

खनालले संविधानको धारा ७६ र १०० ले संसदभित्र नै वैकल्पिक सरकारका सम्भावना हुँदासम्म संसद विघटन गर्न नहुने र संसद पाँचै वर्ष चल्नुपर्ने प्रावधान राखिएको दाबी गरे।

उनले धारा ७६ बनाउने क्रममा छलफलमा अनेकौँ घण्टा बिताएको बताउँदै यो कुरा महान्यायाधिवक्ता अग्नि खरेल र तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई पनि थाहा भएको जिकिर गरे।

‘नेम्वाङ र खरेल आज केपी ओलीजस्तो तानशाहका पछाडि एउटा जागिरेजस्तो भएर बसेका छन्। उनीहरुसँग आफ्नो व्यक्तित्व, स्वतन्त्रता छैन’, उनले भने, ‘सोचुन् उनीहरुको पनि एउटा व्यक्तित्व थियो, त्यो व्यक्तिलाई स्थापित गरेर सही दिशामा अगाडि बढुन् भन्ने हामी चाहन्छौँ ।’



समाजवादको बाटो अवलम्बन गर्नुको विकल्प नभएको भन्दै उनले यसका लागि कार्यदिशा, लक्ष्य र कार्यक्रम नयाँ बनाएर अघि बढ्नकै लागि दुई पार्टीबीच एकता गरिएपनि ओली त्यस दिशातर्फ नहिँडेको आरोप लगाए ।



  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार १९:७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया