थाइराेयडबारे चिन्तित हुनुहुन्छ ? सुन्नुहाेस् डा. प्रियादर्शनीलाई, हटाउनुहाेस् भ्रम

आज म तपाईंहरुसँग थाइरोयडको विषयमा चर्चा गर्दैछु ।

दर्शकवृन्द, पछिल्ला वर्षमा नेपालमा पनि थाइरायडका बिरामीहरुको संख्या बढ्दै गएको छ । तर, यसबारे अहिले पनि हाम्रो समाजमा विभिन्न मिथहरु रहेका छन् । कतिपय यस्तो भ्रममा छन् कि थाइरायड भनेको अत्यन्त गम्भीर समस्या हो ।

आजको एपिसोडमा म थायरायडबारे सामान्य जानकारी दिनेछु । यसपछिका एपिसोडहरुमा यसबारे थप चर्चा गरौँला । तपाईंका कुनै जिज्ञासा छन् भने सोध्नु भए हुन्छ ।

दर्शकवृन्द, आज म तपाईंहरुलाई एउटा प्रसंग सुनाउन चाहन्छु । त्यही प्रसंगबाट नै हामी आजको कार्यक्रमको थालनी पनि गरौँ । केही दिनअघि क्लिनिकमा एक बिरामी आउनु भएको थियो । 

उहाँले आफूलाई थायरायड भएको छ भन्दै मलाई सोध्नुभयो– मैले काउलीबन्दा खानु हुन्छ कि हुँदैन ? हो, हाम्रो समाजमा विभिन्न रोग लग्दा खाना बार्नु पर्छ भन्ने भ्रम रहेका छन् । 

म कहाँ आउनु भएको त्यो बिरामीले यो प्रश्न सोध्नु स्वाभाविक थियो । किनकि उहाँ धेरै चिन्तित हुनुहुन्थ्यो, थाइरोयड भयो, अब मेरो जीवन सकियो भन्ने सोच उहाँमा पलाएको रहेछ । यो अत्यन्त जटिल रोग हो र अब यसले आफ्ना भविष्यका योजनाहरुलाई समस्यामा पार्ने उहाँको अनुमान थियो ।



दर्शकवृन्द, सबैभन्दा पहिले के कुरामा क्लियर हुनुपर्छ भने थाइरोयड भनेको त्यस्तो गम्भीर समस्या नै होइन । यसको उपचार अत्यन्त सरल र सहज छ । खासमा थाइरोयड हामी सबैमा हुन्छ, यो हाम्रो शरीरको एउटा विशेष ग्रन्थी हो ।



यो ग्रन्थी घाँटीको तल्लो भागमा हुन्छ । यसलाई हामीले अल्ट्रासाउन्डबाट पनि हेर्न सक्छौँ ।
 

थाइरोयड ग्रन्थीले दुई हर्मोन बनाउँछ । यी दुई हर्मोनको नाम हो– टी फोर र टी थ्री । यसमध्ये टी फोर मेजर हर्मोन हो । टी फोर हर्मोनबाट एउटा आयोडिन एटम घटेपछि टी थ्रि हर्मोन बन्छ । यही टी फोर टी थ्रि मा परिवर्तन भएपछि शरीरको मेटाबोलिजममा मद्दत पुग्छ ।
 

थाइरोयडले बनाउने यो हर्मोनले बच्चाहरुको मानसिक तथा शारीरिक विकासमा सहयोग पु¥याइरहेको हुन्छ । त्यस्तै, सबै मानिसहरुमा शरीरका महत्वपूर्ण अंगहरु मुटु, मस्तिष्क, मांसपेशीहरुलाई काम गर्न यसले सहयोग गर्छ । 

अब चर्चा गरौँ, थाइरोयडमा समस्या हुनु भनेको के हो त ?

थाइरोयडमा मुख्य गरी दुई समस्या हुन्छन् । पहिलो हो, हाइपोथाइरोेयडिजम । अनि दोस्रो हो, हाइपरथाइरोयडजिम ।

हाइपोथाइरोयडिजम भनेको थाइरोयडले आवश्यक मात्रामा टी थ्री र टी फोर हर्मोनको उत्पादन नगर्नु हो । अर्थात् जब हाम्रो शरीरमा थाइरोयडले उत्पादन गर्ने टी ३ र टी ४ हर्मोनको कमी हुन्छ, हामीलाई हाइपोथाइरोयडिजम भएको मानिन्छ ।

हाइपोथायरोयडिजमाको प्रमुख कारण अटोइम्युनिटी हो । अटोइम्युनिटी भनेको शरीरको इम्युन सिस्टमले शरीरको कुनै अङ्लाई नचिनेर त्यसविरुद्ध आक्रामक हुनु हो । 

अन्य कारणहरुमा यदि थाइराइटको सर्जरी गरिएको छ भने, यसअघि झोल आयोडिनको लिइएको छ भने, बाल्यकालमा टाउको अथवा घाँटीमा रेडिएसन थेरापी गर्नु भएको छ भने र लिथियम आमिओडारन भन्ने औषधी सेवन गरिरहनु भएको छ भने हाइपोथाइरोयडिजम हुन सक्छ । 

अब हाइपोथाइरोयडिजमका लक्षणबारे कुराकानी गरौं ः 
 

हाइपोथाइरोयडिजमको मुख्य लक्षण भनेको 

बढी थकान महसुस हुनु

निन्द्रा धेरै लाग्नु

तौल बढ्दै जानु

शरीरमा चिसो बढी लाग्नु

कब्जियत बढ्नु

शरीरका मसलहरु दुख्नु
 

महिलाहरुमा महिनावारी गडवड हुनु आदि

यी लक्षणहरु सबैमा देखिन्छन् नै भन्ने छैन । यिनै लक्षणका आधारमा मात्रै हाइपोथाइरोयडिजम भएको निश्चित गर्न सकिँदैन । त्यसका लागि भरपर्दो उपाय भनको रक्त परीक्षण नै हो । यो परीक्षणलाई मेडिकल भाषामा थाइराइड फङसन टेस्ट अथवा टीएफटी भनिन्छ । 

यसको उपचार अत्यन्त सरल, प्रभावकारी र उपयोगी हुन्छ । जुन हार्मोन हाम्रो शरीरले उत्पादन गरिरहेको छैन त्यसलाई हामी औषधीका माध्यमबाट आपूर्ति गर्न सक्छौँ । यो ओषधी बजारमा थाइरोक्सिन ट्याबलेटका रुपमा उपलब्ध छ । यसको उपचारले शरीरमा अन्य कुनै पनि साइडइफेक्ट गर्दैन । औषधीको आवश्यक मात्र पूरा भए नभएको भने समय समयमा परीक्षण गर्नुपर्छ ।

यदि हामीमध्ये कसैलाई पनि हाइपोथाइरोयडिजम भएको छ भने आत्तिनु पर्ने कुनै कारण छैन । यसले तपाईको जीवनमा धेरै अप्ठेराहरु ल्याउँदैन पनि तर समयमै यसको निदान गर्न सकियो भने जीवन अझ सरल हुने निश्चित छ ।  
 

  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार १९:३९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया