किमले भने– अमेरिका उत्तर कोरियाको नम्बर वान दुश्मन

उत्तर कोरियाली सर्वोच्च नेता किम जङ–उनले अमेरिकालाई उत्तर कोरियाको सबैभन्दा ठूलो र नम्बर एक दुश्मन भएको बताएका छन् । यसअघि आएका समाचार चाहिँ किमले आफ्नो विदेश नीतिमा परिवर्तन गरेको र अन्य देशसँग अब सहकार्य गर्न सक्ने सम्भावना भएको भन्ने थियो । 

तर, अब किमले थप उन्नत परमाणु हतियार आवश्यक भएको र अमेरिका आफ्नो दुश्मन भएको बताएका हुन् । 

किमको यो अभिव्यक्तिलाई अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका लागि ठूलो चुनौतिका रुपमा हेरिएको छ । जो बाइडेन अब २० जनवरीमा आधिकारिक रुपमा अमेरिकाको राष्ट्रपतिका रुपमा सपथ लिँदैछन् ।

उत्तर कोरियाली राजधानी प्योङयाङमा सत्ताधारी वर्कर्स पार्टीको बैठकमा सम्बोधन गर्दै किमले यस्तो बताएको उत्तर कोरियाली सन्चारमाध्यमले जनाएका छन् । सरकारी समाचार एजेन्सी केसिएनएका अनुसार किमले अमेरिकामा जो राष्ट्रपति भए पनि आफ्नो देशको नीति नबदलिने बताएका हुन् ।

‘अमेरिका हाम्रो विकासको प्रमुख बाधक हो,’ किमको भनाइलाई अन्तर्राष्ट्रिय सन्चारमाध्यमले प्रकाशन गरेका छन्, ‘हाम्रो विदेशी राजनीतिक गतिविधिको ध्यान अमेरिकालाई थप दबाउने हुनुपर्छ, अमेरिका हाम्रो सबैभन्दा ठूलो दुश्मन हो ।’

किमको यो अभिव्यक्ति अब अमेरिकामा बन्न लागेको नयाँ सरकारका लागि पनि चुनौतिपूर्ण भएको मानिएको छ ।



यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ऐतिहासिक रुपमा किमले दुई पटक भेटेका थिए । ‘किमसँग मेरो सम्बन्ध सुमधुर छ, उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्न म लागिरहेको छु,’ ट्रम्पले आफ्नो चुनावी अभियानमा पनि भनेका थिए । यसबीचमा यी दुई नेताबीच चिठी आदनप्रदान पनि भएको थियो ।

तर, अब ह्वाइट हाउस छोड्दै छन्, ट्रम्प । अनि उत्तर कोरियाली नेता किमको यो भनाइ आएसँगै यसले विश्लेषकहरुलाई अब थप संघर्षमा अमेरिका र उत्तर कोरिया उत्रिन सक्ने भन्ने विश्लेषण दिन बाध्य बनाएको छ ।



‘उत्तर कोरियाले आफ्नो परमाणु हतियारको विकास र विस्तार गरिरहन्छ,’ किमले भनेका छन्, ‘तर, हामी त्यसको दुरुपयोग गर्दैनौँ ।’

किमले अमेरिकालाई चेतावनी दिए पनि उनका आर्थिक कार्यक्रमहरु अहिले असफल भइरहेको टिप्पणी पनि अन्तर्राष्ट्रिय स्तरमा गरिएको छ ।

किमले अमेरिकालाई यसपटक आफ्नो प्रधान शत्रु बताए पनि दक्षिण कोरियाप्रति चाहिँ उनको नीति अलिक सफ्ट भएको हुनसक्ने अनुमान पनि गरिएको छ ।


  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार २०:२२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया