देउवाको संकेत– काङ्ग्रेसको झुकाव मध्यावधितिर !

‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’

यो प्रश्न हो, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि यसको विरोध गर्दै आन्दोलनमा उत्रिएको विरोधसभामा शनिबार सम्बोधन गर्दै देउवाले यो प्रश्न राखेका हुन् । ओलीको यो कदम असंवैधानिक भएको निकर्ष निकाल्दै काङ्ग्रेसले विघटनको विपक्षमा देशभर प्रदर्शन गर्ने निर्णय गरिसकेको छ । तर, काङ्ग्रेसकै केही नेताहरुको आरोप छ– सभापति देउवा नै आन्दोलन गर्ने पक्षमा छैनन् ।

शनिबार देउवाले नारायणथानमा गरेको भाषणमा पनि त्यसको छनक देखिएको छ ।

अर्कोतिर, प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहमा बाँडेको सर्कुलरमा नेपाली काङ्ग्रेस पनि निर्वाचनमा आउने दाबी गरेका छन् । ‘काङ्ग्रेसले अहिले केही समय विरोध गरे पनि वैशाखमा चुनाव हुन्छ र त्यसका लागि सबैभन्दा पहिले तयार हुने पार्टी नै काङ्ग्रेस हो,’ ओलीले आफूनिकट नेताहरुलाई भन्ने गरेका छन् ।

यसले गर्दा संसद विघटन गरेर निर्वाचनमा जानका लागि कतै ओलीलाई देउवाले साथ दिएका त होइनन् भन्दै गरिएको शंकालाई थप बल पुगेको छ ।

शनिबार देउवाले आफ्नो भाषणमा पनि निर्वाचनमा जान काङ्ग्रेस डराउन नहुने आशयमा आफ्नो धारणा राखे । उनको यो अभिव्यक्तिका कारण काङ्ग्रेसकै केही नेताहरु संशयमा परेका छन्, कतै देउवाले ओलीको असंवैधानिक कदमलाई साथ दिने त होइनन् ? 



त्यसो त यसअघि प्रधानमन्त्री ओलीले संसद विघटन गरेलगत्तै काङ्ग्रेसले बोलाएको केन्द्रीय समिति बैठकमा पनि देउवाले तत्काल आन्दोलन गर्नुपर्ने मागलाई अस्वीकार गर्दै आएका थिए । काङ्ग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवा र काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच यो विषयमा लामै समय विवाद पनि भएको थियो ।

तर, पछि काङ्ग्रेस केन्द्रीय समिति बैठकमा नै यो कदम असंवैधानिक भन्दै आन्दोलनको निर्णय भयो । यस्तो निर्णय भए पनि शनिबार देउवाले राखेको यो धारणाले काङ्ग्रेस भित्र कस्तो प्रभाव पर्ला त ? 



हामीले यही प्रश्न काङ्ग्रेसका एक केन्द्रीय सदस्यलाई राखेका थियौँ ।

‘उहाँले पहिले देखि नै यसलाई समर्थन गरेर अगाडि बढ्ने, निर्वाचनमा जाने भन्दै आउनु भएको थियो,’ ती केन्द्रीय सदस्यले भने, ‘पहिलो कुरा त उहाँ भ्रममा हुनुहुन्छ, वैशाखमा निर्वाचन हुन्छ भन्ने । अर्को लोकतान्त्रिक विधि र पद्धति मान्ने पार्टीले असंवैधानिक कदमको विरोध गर्नुपर्छ भन्नेमा उहाँ देखिनु नै भएको छैन ।’

ती केन्द्रीय सदस्यले नेकपाको विवाद बढिरहँदा पार्टीलाई समेत थाहा नदिइ देउवाले आफ्ना मान्छे राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसमेतलाई भेट्न पठाएकाले यो कदममा ओलीलाई देउवाको साथ पनि रहेको हुनसक्ने आशंका बढेको बताए । 

‘नेकपा विवाद चर्किरहँदा पहिले त प्रधानमन्त्री ओलीले सभापति देउवालाई केही मन्त्रालय नै अफर गरेका छन् भन्ने कुरा बाहिर आएको थियो,’ उनले भने, ‘तर, संसद विघटन भइसके पछि देशको लोकतान्त्रिक दल भएका नाताले र संसदमा प्रमुख प्रतिपक्ष भएका नाताले तत्काल आन्दोलनमा जान उहाँ डराउनु भयो । त्यसैले यस्तो आशंका गरिएको हो ।’

अहिले काङ्ग्रेस नेताहरु रामचन्द्र पौडेल, डा. मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेललगायतले ओलीको कदमको विरोध गरेका छन् । उनीहरुले विभिन्न स्थानमा भएका प्रदर्शनमा यसको चर्को रुपमा विरोध गरेर संसद पुनस्र्थापना गर्नु पर्ने माग राखिरहेका छन् । तर, देउवाले संसद विघटनलाई अझै पनि असंवैधानिक कदम भन्दै संसद पुनस्र्थापना हुनु पर्ने माग राखेका छैनन् ।

बरु शनिबारको आफ्नो सम्बोधनमा देउवाले भने, ‘अदालतमा विचाराधीन मुद्दा भएकाले हामीले अहिले केही भन्नु हुँदैन, अदालतको निर्णय आएपछि चुनावमा जान पनि नेपाली काङ्ग्रेस तयार हुनुपर्छ ।’

उनको यही अभिव्यक्तिका कारण पनि देउवा बढी चुनावतिर झुकेको हुनसक्ने अनुमान गरिएको हो ।

  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार ५:३१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया