विशेष प्राथमिकता दिएर स्थानीय तहमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन् ।
अर्थ मन्त्रालयमा सम्पन्न बैठकमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जू र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहमा पूँजीगत खर्च बढाउने गरी काम गर्न अर्थमन्त्री पौडेलले अनुरोध गरेका हुन् ।
स्थानीय तहमा पुगेको अधिकांश रकम खर्च हुन सकेको भन्दै अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकामा विकासको थप लहर सृजना गर्नुपर्ने बताए ।
यसैबीच छलफलमा अर्थमन्त्री पौडेलले कोभिड १९ को प्रभावबाट जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि अध्यक्षहरूलाई आग्रह गरे । साथै, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमूलक बनाउने वातावरण सृजना गर्नुपर्ने पनि उनको भनाइ थियो ।
भेटका क्रममा अध्यक्ष श्रेष्ठले स्थानीय तहमा नै फोकलपर्सन राखेर काम गर्नु जरुरी रहेको बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।