दाहाल-नेपालको राष्ट्रियसभा बहिष्कार प्रस्ताव कांग्रेसद्वारा अस्वीकार
वामदेव बसे, नारायणकाजीसहितका सांसद हाजिर गरेर हिँडे

काठमाडौं : राष्ट्रियसभाको हिउँदे अधिवेशन १० दिनमै अन्त्य भएको छ। पुस १७ गते पहिलो बैठक बसेको १० औँ दिनमा राष्ट्रियसभाको सातौँ अधिवेशन आइतवार अन्त्य गरिएको हो। अधिवेशन अन्त्यका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि नेकपा (दाहाल-नेपाल) समूहका सांसदले बहिष्कार गरेका छन्।

नयाँ बानेश्वरस्थित संसद भवनमा उपस्थित भएर पनि दाहाल-नेपाल समूहका सांसदहरुले हाजिर गरेर प्रधानमन्त्री ओलीको सम्बोधन बहिष्कार गरेका हुन्। उक्त बैठकमा दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ हाजिर गरेर पनि बहिष्कार गरे। रामनारायण बिडारी उपस्थित नै भएनन्। आजको बैठकमा नेकपाका २४ सांसदले बहिष्कार गर्दा अन्य २४ जना उपस्थित भएका थिए। 

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएपछि प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलन छेडेको दाहाल-नेपाल समूहले राष्ट्रियसभा पनि बहिष्कार गरेको हो। दाहाल-नेपाल समूहले यसलाई पनि आन्दोलनकै एउटा हिस्सा भनेको छ। दाहाल-नेपाल समूहका एकजना नेता एवम् राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले आफू काठमाडौं बाहिर भएकाले बैठकमा आउन नसकेको स्पष्टीकरण दिएका छन्। 

बिडारीले जस्तै अनेक कारण देखाउँदा दाहाल-नेपाल समूहका अन्य सांसद पनि ओलीले सम्बोधन गर्ने बैठकमा नबसेका हुन्। अघिल्लो बैठकमा सरकारविरुद्ध कडा प्रतिक्रिया दिएका नारायणकाजी श्रेष्ठसहितका सांसदले ओलीले सम्बोधन गर्ने कार्यसूची राखिएपछि आजको बैठकमा हाजिर गरेर बहिष्कार गरे।

कांग्रेसद्वारा अस्वीकार

उता संसद् विघटन गरिएपछि आन्दोलित दाहाल-नेपाल समूहले सडकपछि संसदमा पनि कांग्रेससँग सरकारविरुद्ध गर्न खोजेको मोर्चाबन्दी असफल भएको छ।  कांग्रेसका एकजना राष्ट्रियसभा सदस्यका अनुसार दाहाल-नेपाल समूहले आजको राष्ट्रियसभा बैठक बहिष्कार प्रस्ताव गरेको थियो। 



बैठक बहिष्कार गरेर प्रधानमन्त्रीलाई सम्बोधन गर्न नदिने रणनीति बनाएको दाहाल-नेपाल समूहलाई सडकमा जस्तै संसदमा पनि कांग्रेसले साथ दिएन। कांग्रेसका सांसदहरु बैठकमा उपस्थित भएर प्रधानमन्त्रीको सम्बोधन सुनेनन् मात्रै अनेक सवाल जवाफ पनि गरे। 

'दाहाल-नेपाल समूहले संसद बहिष्कार प्रस्ताव गरेका थिए। तर हाम्रो नेतृत्वले बैठकमा बसेरै प्रधानमन्त्रीको कदमको प्रतिरोध गर्नुपर्ने नीति लिएको छ', कांग्रेसका एकजना सांसदले भने, 'बहिष्कार गरेर भन्दा बैठकमा बसेरै प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठाउनुपर्छ भन्ने हाम्रो अडान हो। त्यही अनुसार हाम्रा साथीहरुले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै अनेक प्रश्न उठाएर दबाब दिनुभएको छ।'



कांग्रेसमा सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतको निर्णय कुरेर निर्वाचनमा होमिने मुडमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेले आजभोलि सरकारविरुद्ध कडा आन्दोलन उठाउन चाहन्छन्। आइतवारै बूढानीलकण्ठमा भएको एक कार्यक्रममा पनि दुई नेताबीच यसबारेमा विवाद भएको थियो। 

देउवाले आन्दोलनका नाममा अदालतलाई दबाब दिन नहुने मत राखेका थिए भने पौडेलले सरकारले चुनाव गराउनै नसक्ने भन्दै कडा आन्दोलनमा उत्रिनुपर्ने अडान लिएका थिए। यसलाई लिएर दुई नेताबीच केही बेर वादविवादको अवस्था नै भएको थियो। 

वामदेव उपस्थित

नेकपाका २४ जना बैठकमा उपस्थित हुँदा २४ जनाले हाजिर गरेर पनि बहिष्कार गरेका थिए। जसमा दुईजना नारायणकाजी र रामनारायण बिडारी बैठकमै आएका थिएनन्। यस्तोमा नेकपा विभाजनपछि तटस्थ बसेर तेस्रो धार निर्माणमा सक्रिय रहेका नेकपा नेता वामदेव गौतम भने प्रधानमन्त्रीको सम्बोधन सुन्‍न बैठकमा बसेका थिए। 

उनले प्रधानमन्त्रीको कदम असंवैधानिक भए पनि अहिलेको यो सबै अवस्था ओलीकै कारण मात्रै नआएको मत राखिरहेका छन्। राष्ट्रपतिद्वारा राष्ट्रियसभामा मनोनित उनले यो अधिवेशनको चार वटा बैठकमा मात्रै भाग लिन पाए। 

  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १८:१३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया