राजनीतिक अस्थिरता हुँदा कति सजग हुनुपर्छ लेखक ?
फरकधार / २७ पुस, २०७७

गत पुस ५ गते एकाबिहानै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेर संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष सिफारिस गरे । सिफारिस गरेको केही घण्टामै राष्ट्रपतिले उक्त प्रस्ताव पारित गरिन् । प्रस्ताव पारित भएसँगै देशभर एउटा तरङ्ग पैदा भयो ।

सामाजिक सञ्जालदेखि सडकसम्म प्रम ओलीले लिएको असंवैधानिक कदमको विरुद्धमा आवाजहरू उठ्न थाले । विभिन्न पार्टीदेखि नागरिक समूह सडकमा आयो । यसैबीच पुस १२ गते ‘प्रतिमगनविरुद्ध नागरिक समूह’ सडकमा आइपुग्यो । जसमा कवि, साहित्यकार, कलाकार, पत्रकार पनि संलग्न थिए ।

राजधानी माइतीघर मण्डलामा पुस १२ देखि पहिलो चरण अन्तर्गत पुस १८ गतेसम्म ओलीको स्वेच्छाचारी कदमविरुद्ध कविता वाचन, नाटक मञ्चन, गायन, वाद्यवादन तथा भाषण गरियो ।

प्रतिगमनविरुद्धको यो मोर्चामा लेखक नारायण ढकाल पनि सरिक भए । देशमा राजनीतिक संकट निम्तिएका बेला ढकाल सडकमा आइहाल्छन् । चाहे त्यो ०४६ सालको आन्दोलन होस् या ०६२/६३ सालको वा यसबीचमा भएका अन्य आन्दोलन, उनी सधैँ सरिक भएका छन् ।

विधिको शासन स्थापना र लोकतन्त्रको रक्षाका लागि उनी प्रत्येक मोर्चामा सामेल भएर आफूलाई बुलन्द रुपमा प्रस्तुत गर्छन्, कहिले कविता त भाषणमार्फत् । यसपालि नयाँ कविता नभएकाले कविता पाठ भने गरेनन्, उनले ।

‘देशमा जब–जब राजनीतिक अस्थिरता देखिन्छ प्रगतिशील लेखकहरू लेखेर मात्र विरोध जनाउँदैनन्, सडकमै निस्कन्छन्,’ ढकालले फरकधारसँग भने, ‘शब्द र कर्म दुवैमा एकरुपता हुनुपर्छ भन्ने धारणा प्रगतिशील लेखकले सोच्छ ।’

यस्तो विषम परिस्थितिमा लेखकहरू सडकमा आउनुको विकल्प नहुने उनी मान्छन् ।

लेखक तथा पत्रकार किशोर नेपाल भने सडकमा आएनन् । नेपालले आफू सडकमा नआउनुको दुई कारण दिए । पहिलो त मेरो उमेर । ७० वर्षको मान्छेलाई आन्दोलनमा गएर उभिन गाह्रो हुन्छ, त्यसमा पनि कोरोना कहरका बेला ।

दोस्रो उनलाई विरोध गर्न सडकमै पुग्नु पर्छ भन्ने नलाग्नु ।

नेपाल भन्छन्, ‘म घरैबाट विभिन्न सामाजिक सञ्जालमार्फत् विरोध गरिरहेको छु ।’

साहित्यकार रामलाल जोशी वर्तमान परिप्रेक्ष्यमा देखिएको राजनीतिक अवस्थाप्रति निकै फरक मत राख्छन् । जोशी यसलाई राजनीतिक संकटभन्दा पनि कुर्सीको खिचातानीका कारण उत्पन्न समस्या मान्छन् ।

‘जनताका अधिकार र लोकतन्त्रमाथि कुठाराघात हुँदा हरेक इतिहासको घडीमा लेखक तथा कविहरू सडकमा निस्किएकै छन् । यो कुरा जगजाहेरै छ,’ जोशीले भने, ‘अहिले देखिएको संकट त सत्ताको लडाइँको उपज हो ।’

उनी अहिल्यै सडकमा आएर जिन्दावाद र मुर्दावादका नारा लगाउनुभन्दा केही समय यो परिस्थितिको शुक्ष्म अवलोकन गर्ने पक्षमा छन् । देशलाई साँच्चिकै राजनीतिक संकट आयो भने अन्य लेखकसँगै आफू जनताको आवाजमा आवाज मिलाउन आउनुको विकल्प देख्दैनन्, उनी ।

‘नेपालमा निरंकुश पञ्चायतविरुद्धको आन्दोलन, ०४६ को बहुदलीय लोकतन्त्र स्थापनाको आन्दोलन र ०६२/६३ मा राजतन्त्र हटाएर गणतन्त्र स्थापनाका लागि जो–जो शक्तिहरु सामूहिक आन्दोलनमा थिए, अहिले उनीहरु नै सत्ताका लागि एकआपसमा लडिरहेका छन्’, जोशी गुनासो गर्छन् ।

अहिले धेरै लेखकहरू विभिन्न पार्टी र नेता अनि उनीहरुको गुट उपगुटमा सक्रिय भएको आरोप छ, किशोर नेपालको । उनी लेखकहरू नै विभाजित भएको र आफू आबद्ध भएको पार्टी र नेताले गल्ती नै गरे पनि नबोल्ने गरेको उनको धारणा छ ।

पहिले राजाहरू गल्ती गर्थे । तर, अहिले सामान्य जनताका छोराहरु आफूलाई राजा सम्झेर गल्ती गरिरहेका छन् । ‘अहिलेको नेतृत्वको काम त राजकीय संस्थाहरु ठीक भए–नभएको जाँच गरेर खबरदारी गर्नुपर्थ्यो,’ ढकाल भन्छन्, ‘तर, विडम्बना आज तिनै अगुवाहरुको कामको खबरदारी हामीले गर्नु परिरहेको छ ।’

नागरिक समाज सक्रिय भएर अब फेरि कसैलाई राजा हुन दिन हुन्न । ०६२/६३ को आन्दोलनमा नागरिक समाजले खेलेको जस्तै भूमिका अहिले पनि खेल्ने उनी बताउँछन् ।

‘त्यसबेलाको नागरिक समूहले खेलेको भूमिका एकदमै राम्रो र प्रभावकारी थियो । अहिले पनि त्यस्तै प्रभावकारी र एक ढिक्का भएको समूहले निरन्तरता पाउनु पर्थ्यो’, ढकाल भन्छन् ।

तर, बिस्तारै नागरिक समूह एकत्रित र बलियो हुँदै जानेमा विश्वस्त छन्, उनी ।

साथै, ढकाल वर्तमान नागरिक समूह आन्दोलन भइरहेका बेला मात्र होइन अन्य समयमा पनि त्यतिकै सक्रिय हुनुपर्ने धारणा राख्छन् ।

समाजलाई अझ सुक्ष्म रुपमा हेर्ने र समाजमा आउने विभिन्न अवयवबारे अनुमान गर्न सक्ने भएकाले लेखकहरू सधैं सजग भएर समाजलाई अगुवाइ गर्नुपर्ने किशोर नेपाल बताउँछन् ।

  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १२:४२:५९,   अन्तिम अपडेट : पुस २७, २०७७ साेमबार १३:४७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया