गीतकारको गोजी सधैं रित्तै

पछिल्लो समय नेपाली गीत/संगीतको बजार निक्कै राम्रो देखिएको छ । हाम्रा गीत/संगीतहरुले विभिन्न प्लेटफर्ममार्फत् राम्रै आम्दानी गरिरहेका पनि छन् । तर, आफ्ना गीतहरूले गरेको कमाइको साझेदारी गर्न नपाउँदा लेखकहरू भने खिन्न छन् । तर, अधिकांश गीतको खर्च गीतकारले नै गर्ने गरेको स्रष्टाहरू बताउँछन् ।

अग्रज गीतकार राजेन्द्र थापा पछिल्लो समयका गीत/संगीत निक्कै महंगो हुँदै गएको बताउँछन् । आफ्ना गीतमा अरुले नै लगानी गरे पनि समग्र गीतकारहरूले गीत लेखेवापत पारिश्रमिक पाउनु त परको कुरा उच्च प्रविधिमा रेकर्ड गराएर भिडियोमा समेत लगानी गर्नुपर्ने अवस्था रहेको गीतकार थापाको कथन छ ।

गीत चर्चित हुँदा गीतकारसँगै हिट भएका निक्कै कम उदाहरण रहेको उल्लेख गर्दै थापाले भने, ‘आफूले लगानी गरेर निर्माण गरेको गीतले कुन प्लटफर्ममार्फत् कति आम्दानी गर्‍यो, त्यसको कति आम्दानी गीतकारको हो ? यो कुरा आज पनि अन्योलमै छ ।’

‘समय र प्रविधिले गर्दा अहिले गीत रेकर्ड गरेर मात्रै पुग्दैन । जमाना रेडियोको रहेन । अबका गीत हेर्ने गीत भए । त्यो पनि उच्च क्वालिटीमा निर्माण गर्नु पर्छ । धेरै गीतको लगानी उठ्ने वातावरण छैन । त्यसैले पछिल्लो समय गीतमा लगानी गर्न छोडिदिए ।’ अर्का गीतकार राजुबाबु श्रेष्ठले सुनाए ।

पछिल्लो समय पैसा भएका मानिस सर्जक भएका र सही सिर्जना गर्न सक्ने मानिस ओझेलमा परेका उनको भनाइ छ । उनी भन्छन्, ‘एउटा सामान्य सर्जकले अहिलेको गीत/संगीतको लगानी धान्नै सक्दैन ।

त्यसैले स्रष्टा ओझेलमा छन् ।’ समयले गीतको भिडियो निर्माण गर्नै पर्ने बाध्यता सिर्जना गरेको पनि उनको धारणा छ । भन्छन्, ‘कयौं गीतकारले विदेशमा कमाएको पैसा गीत/संगीतमा लगानी गरिरहेका छन् । उनीहरुलाई नाम भए पुग्छ, कहाँ कति पैसा खर्च भयो र कति आम्दानी भयो त्यसमा उनीहरुको खासै  चासो देखिदैन । जसले गर्दा गीतकारहरूको लगानी बालुवाको पानी बनेको छ ।’



गीतकार चूडामणि देवकोटाले पनि थुप्रै गीतमा लगानी गरे । कयौं गीत लोकप्रिय भए । केही गीत विभिन्न स्टेज कार्यक्रमहरुमा गाइए, बजाइए । तर, त्यसले उनलाई आर्थिक रुपमा कुनै फाइदा नभएको बताए । तर, पनि आफूले सिर्जना गरेका गीतहरुको माया लाग्ने, आफ्ना सिर्जना जीवन्त बनाउने एकखालको लोभले गर्दा गीत/संगीतमा निरन्तर लगानी गरिरहेको उनको भनाइ छ । भन्छन्, ‘हामी गीतकारहरूले गीत/संगीतमा घाटाको व्यापार गरिरहेका छौँ ।’

यही क्रम बढ्दै जाने हो भने नेपाली गीत/संगीत बिस्तारै पैसा हुने वर्गको कब्जामा पर्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । तिनै जना गीतकारको एउटै चिन्ता छ, ‘राम्रा गीतकार पलायन हुँदै जानु र हलुका शब्दका गीतहरुको प्रयोग बढ्नुले गीत संगीतको महत्त्व घटाउँदै लगेको छ ।’



  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १९:११:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया