मध्यावधि चुनाव घोषणापछि ओलीले पठाए १६ पृष्ठ लामो सर्कुलर (पूर्ण पाठ)
प्रचण्ड-माधवले सत्ता कब्जा गर्न खोजेको आरोप

काठमाडौं : पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आश्चर्यजनक रुपमा सक्रिय भएका छन्। मृगौला प्रत्यारोपणपछिको अवस्था र कोभिडको जोखिम भन्दै त्यसअघि बालुवाटारमै सीमित उनी अहिले घण्टौँ भाषणमा व्यस्त छन्। 

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै उनले आफ्नो कदमको बचाउमा दैनिक लामा भाषण दिइरहेका छन्। खासगरी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालमाथि तिखो व्यंग्य वाण प्रहार गरिरहेका उनै ओलीले आफ्नो नेतृत्वको नेकपामा १६ बुँदे आन्तरिक सर्कुलर पनि जारी गरिसकेका छन्। 

देश दौडाहासँगै आफू नेतृत्वको नेकपाका कार्यकर्तालाई वैशाखमा हुने निर्वाचनमा होमिन निर्देशनसहित उनले सर्कुलर पठाएका हुन्। आफू नेतृत्वको नेकपालाई पुस ५-७ मा भएको तेस्रो केन्द्रीय कमिटी बैठकको निर्णयसहित १६ पृष्ठ लामो अन्तरपार्टी निर्देशन उनले पठाएका हुन्। 

पार्टीको भावी रणनीति र कार्य विभाजनसमेत तोकेर ओलीले मातहतका कमिटीलाई लिखित निर्देशन पठाएका हुन्। पार्टी दुई समूहमा विभाजित भएपछि यही पुस २२ गते पठाइएको अन्तरपार्टी निर्देशनमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनयताको अवस्थाको चिरफार गर्दै सबै कार्यकर्तालाई निर्वाचनमा होमिन भनेका छन्। 

संसद विघटन र पार्टी विभाजनसम्मको अवस्था आउनुमा कात्तिक २८ मा पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको १९ बुँदे 'अभियोगपत्र'लाई उनले ठानेका छन्। प्रचण्डकै योजनामा पार्टी फुटेको ठहर गरेका उनले सरकारको नेतृत्व कब्जा गर्न नसकेपछि संकट निम्त्याइएको आरोप लगाएका छन्। 

‘अहिलेको संकटपूर्ण परिस्थिति प्रचण्डका कारण निर्माण भएको हो। सकेसम्म पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने, नभए पार्टी विभाजन गर्ने प्रचण्डको विभाजन र विध्वंसकारी मनसाय मुख्य रुपमा जिम्मेवार छ,’ ओलीले अन्तरपार्टी निर्देशन-६ मा उल्लेख गरेका छन्। 



प्रचण्ड सत्ता कब्जामा लागे

ओलीले प्रचण्डमाथि महाधिवेशनका लागि चार महिना कुर्न नसकेको आरोप पनि लगाएका छन्। 'पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना पनि कुर्न नसक्ने तर गलत बाटोबाट सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डको ध्वंसात्मक रणनीतिले यो अवस्था आइलागेको हो', उनले थपेका छन्। 



दाहाल-नेपाल दुवैको अलोकतान्त्रिक चरित्रले समस्या भएको ओलीको जिकिर छ। ‘पार्टी नेतृत्व परिवर्तनका लागि ४ महिनापछि हुने महाधिवेशन कुर्न नसक्ने र प्रधानमन्त्री परिवर्तनका लागि अर्को जनादेश पर्खिन नसक्ने उहाँहरूमा अन्तर्निहित अलोकतान्त्रिक चरित्रले यसमा निर्णायक भूमिका खेलेको छ', उनले भनेका छन्,'राजनीतिलाई पद, पैसा र परिवारको हितका रुपमा मात्रै बुझ्ने स्वार्थी चिन्तनले यसमा काम गरेको छ।’

ओलीले दाहाल-नेपाल मुलुक बाहिर गएर पनि सरकारविरुद्ध लागेको आरोप पनि लगाएका छन्। 'उहाँहरू कहिले मुलुक बाहिर गएर सरकार लामो समय जाँदैन भन्ने सन्देश दिने, कहिले संसदमा देश डुब्न लाग्यो भन्दै प्रतिपक्षलाई उछिनेर
सरकारको विरोधमा उत्रिने अस्थिरताका गतिविधिहरूमा सक्रिय हुन थाल्नुभयो', उनले भनेका छन्, 'आफ्नो काँधमा आएको ऐतिहासिक अभिभारा बहन गर्ने गरी पार्टीलाई सामाजिक–आर्थिक रुपान्तरणको संवाहक बनाउन छाडेर पार्टी संयन्त्रलाई सरकारकै विरोधमा दुरुपयोग गर्ने दुष्प्रयास गर्नुभयो।'

प्रधानमन्त्रीले सरकारको राम्रा कामको प्रचार नै नभएको जिकिर गरे। 'सकारात्मक कामहरूको प्रचार नगर्ने, सरकारको प्रतिरक्षा नगर्ने, जनप्रतिनिधिहरूलाई सही मार्गदर्शन नगर्ने यस्ता गतिविधिले पार्टीमा क्रमशः अन्तर्विरोधहरू सुरु हुँदै ती झाँगिन पुगे', उनले भनेका छन्, ‘प्रचण्डले किन झुकेर सहमति गरेको ? भन्दै गुनासो गर्न गएका समीकरणका अन्य नेता र पार्टी एकता मन नपराउनेहरूको भेलामा ‘यो त अस्थायी युद्धविराम मात्रै हो, शक्ति सञ्चयका साथ पुनः सरकार ढाल्ने तयारी गरिन्छ’ भन्ने आशयका अभिव्यक्ति दिन थाल्नु भयो।'

ओलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि दुई अध्यक्षका बैठकहरू बिना निष्कर्ष उठ्ने गरेको पनि जिकिर गरे। 'प्रचण्डको मनसाय पुनर्गठनको बहानामा मन्त्रिपरिषद्का वरिष्ठ र क्षमतावान साथीहरूलाई हटाउने, पार्टी एकताका लागि भूमिका खेलेका साथीहरूलाई मन्त्रिपरिषद्‍मा सामेल नगर्ने, पन्छाउने र प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने मात्रै देखियो', उनले भनेका छन्, 'यहाँसम्म कि रिक्त मन्त्रालयमा पदपूर्ति गरेर अन्योल हटाउने विषयमा भएको सहमतिलाई पनि पछि विरोध गर्न थाल्नु भयो।'

प्रधानमन्त्री ओलीको सिफारिसमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै सत्तारुढ दल नेकपामा दुई समूह बनेको छ। यो फुटपछि एउटा पक्षको नेतृत्व प्रचण्ड-माधव समूहले गरिरहेको छ। अर्को समूहको नेतृत्व ओलीले गरेका छन्। दुवैलाई आफूलाई आधिकारिक नेकपा भनिरहेका छन्। 

  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १५:३५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया