वन्यजन्तु र वन पैदावर तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ कैलाली
फरकधार / २७ पुस, २०७७

यही पुसको पहिलो साता बर्दगोरिया गाउँपालिका–५ का ५८ वर्षीय नैनबहादुर कठरिया एक सय ७१ ग्राम ९ सय ६० मिलिग्रामको गैँडाको खागसहित पक्राउ परे ।

पूर्व–पश्चिम राजर्मागमा पर्ने सामूदायिक वन क्षेत्रबाट संघीय प्रहरी इकाइको कार्यालयबाट गएको प्रहरी र इलाका प्रहरी कार्यालय सुखडको संयुक्त समूहले उनलाई पक्राउ गरेर सब–डिभिजन वन कार्यालय साँडेपानीमा बुझायो ।

पछिल्लो घटना प्रतिनिधिमूलक उदाहरण भए पनि कैलालीमा गत ३ वर्षमा वन पैदावर, अतिक्रमण तथा वन्यजन्तु चोरी सिकारीका सयौँ घटना सार्वजनिक भएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए । 
 
उनका अनुसार आर्थिक वर्ष ०७५–०७६ मा २३, ०७६–०७७ मा २५ र चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्र १२ मुद्दा वन तथा वन्यजन्तु चोरी तस्करीका दर्ता भएका छन् । गत आर्थिक वर्षमा ६७ जनाविरुद्ध मुद्दा दर्ता भएका छन् । 

०७५ कात्तिक १५ गते स्थापना भएको डिभिजन वन कार्यालय पहलमानपुरमा ५६ वन पैदावार र १ अतिक्रमणको मुद्दा दर्ता भएको छ । एक सय ५० जना प्रतिवादी रहेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख कृष्णराज भट्टले बताए ।

वन पैदावार ओसार–पसार, वन्यजन्तु चोरी–सिकारी र वन अतिक्रमणका मुद्दाको संख्या वृद्धि हुँदै गएको वन कार्यालयको तथ्यांक छ । वन पैदावर ओसार–पसारमा सरकारले रोक लगाएकाले चोरी–तस्करी तथा सिकारीका मुद्दाको संख्यामा वृद्धि हुँदै गएको हो ।

तर, कर्मचारी अभावका कारण वन मुद्दाको फैसलामा भने ढिलाइ हुँदै गएको वन अधिकारीहरुले मत रहेको छ । भन्छन्, ‘कैलालीसँग भारत पनि जोडिएको छ । वन्जजन्तुको तस्करी भारतमा हुँदै आएको भेटिएको छ । यस्तै, चीनसमेत लगिएको पाइएको छ,’ डिभिजन वन कार्यालय धनगढीका प्रमुख कँडेलले भने, ‘यसकारण तस्करीमा कैलालीलाई ट्रान्जिट प्वाइन्ट बनाएको देखिन्छ ।’ 

कैलाली सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी वन क्षेत्र भएको जिल्ला हो ।

  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १६:३३:४८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया