काठमाडौं : पुस ५ गते संसद विघटन भएपछि त्यसविरुद्ध निरन्तर सडकमा छन् साहित्यकर्मी तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिइरहेका उनले त्यसविरुद्ध बोलिरहेका छन्।
सोमबार पनि उनी नयाँबानेश्वरको सडकमा देखिए। जहाँ एउटा मञ्चमाथि उक्लिएर उनले ओलीविरुद्ध कडा अभिव्यक्ति दिन भ्याए। ओलीसँग उनको सम्बन्ध भनेको उनीहरु एकै जिल्लाका हुन्। तर उनी ओलीविरोधी कित्तामा उभिएका एकजना खरो आलोचक मानिन्छन्।
लामो समयदेखि प्रधानमन्त्री ओलीको प्रवृत्तिविरुद्ध कडा धारणा राख्दै आएका संग्रौलाले आज पनि तिखो व्यंग्यवाण प्रहार गरे। जनसांस्कृतिक महासंघ नेपालको आयोजनामा सोमबार नयाँबानेश्वरमा भएको रचना वाचन तथा विविध सांस्कृतिक कार्यक्रममा सहभागी उनले प्रधानमन्त्री ओलीसँग आफूले कहिल्यै पनि कुनै अपेक्षा नगरेको बताए।
'ओलीसँग आशा र अपेक्षा थिएन, गुनासो पनि छैन', उनले भने, '२०६२/०६३ मा जनआन्दोलन हुँदा बयलगाडाको जन्म भएको हो। खड्गप्रसाद ओलीको रचनागर्भ के हो? बयलगाडा हो।'
संग्रौलाले ओलीलाई शासनको चाबी दिनु बाँदरलाई मकैबारीको गोठालो बनाए जस्तै भएको भन्दै कटाक्ष गरे। 'तपाईंले बाँदरलाई मकै बारीको गोठालो बनाउनु भयो भने के हुन्छ? अनि खड्गप्रसादले मकै जोगाइदिएन भनेर किन रुनुहुन्छ?', उनले भने, 'नेकपा डबलको अर्को समूहलाई अझै पनि संसद पुन:स्थापना भएपछि तर मार्न पाइएला भन्ने छ। तर ओलीले यहाँदेखि ब्रह्मनालसम्म योजना बनाइसकेका छन्।'
हिजो ओलीको वरिपरि घुमेर भाग खानेहरु आज सद्दे छौं भन्ने तर्कको अर्थ नरहेको उनले बताए। 'हिजो खड्गप्रसादको वरिपरि घुमिरहेकाहरु अहिले ओली मात्रै बदमाश तर हामी सद्दे छौँ भन्दैछन्', उनले थपे, 'तपाईं त्यही भतेर र त्यही पानी खाएर आउने। खड्ग चाहिँ बिटुलो तपाईं चाहिँ कसरी सद्दे हुनुहुन्छ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।