काठमाडौं : पत्रकार नारायण वाग्लेले संसद् विघटन गरेर प्रधानमन्त्री केपी ओलीले शाही सरकारले जस्तै प्रतिगमन गरेको आरोप लगाएका छन्। जनसांस्कृतिक महासंघ नेपालको आयोजनामा सोमबार नयाँबानेश्वरमा भएको रचना वाचन तथा विविध सांस्कृतिक कार्यक्रममा सहभागी उनले यस्तो बताएका हुन्।
उक्त कार्यक्रममा पत्रकार वाग्लेले प्रधानमन्त्री ओलीले राष्ट्रियसभाबाट सर्वोच्च अदालतलाई धम्क्याएको आरोप लगाएका छन्। 'प्रधानमन्त्रीले राष्ट्रियसभाको रोस्ट्रमबाट उभिएर सर्वोच्चलाईलल्कारे। उनले संविधान पल्टाउने काम छैन भनेका छन्। त्यसकारण पल्टाउनुको अर्थ छैन भनेका छन्', उनले भने, 'संसदको बाँकी रहेको घिडघिडो राष्ट्रियसभामार्फत सर्वोच्च र नागरिकलाई उनले लल्लकारेका छन्। उनले तपाईंहरु जो बोलिरहनु भएको छ, हिजो कहीँ जागिर खानु भयो, खानु भएन तर आज त्यसरी बोलेको मिलेन भनेर धम्क्याउँदैछन्।'
वाग्लेले ओलीबाट राजनीतिक निर्णयमा अदालत बोल्न नहुने भनेर धम्की आइरहेको पनि उल्लेख गरे। 'राजनीतिक निर्णय गर्ने अधिकार प्राप्त गर्ने व्यक्ति हुँ भनेका छन् ओलीले। हामीलाई कुनै ठूलो इजलास चाहिँदैन, संवैधानिक इजलासबाटै गर्नु भनेर धम्की दिएपछि कुरा बुझियो, उनले थुकेपछि राष्ट्रियसभा पनि सकियो', वाग्लेले थपे, 'हिजो पनि सडकमा गोली थाप्न जनता नै आएका थिए। अहिले फेरि संविधानमा हुँदै नभएको प्रबन्ध राजनीतिक निर्णय हो भनेर फेरि असोज १८ फेरि माघ १९ गते बोलाइँदैछ।'
उनले ओलीको प्रतिगामी कदमविरुद्ध नागरिकस्तरमा प्रतिकार चाहिएको बताए। 'ओलीको कदमविरुद्ध नागरिकस्तरमा प्रतिकार जरुरी छ', वाग्ले भन्छन्, 'सत्ताको स्वार्थले अन्धो बनेको व्यक्तिलाई सुधार्न हामी सडकमा उत्रिका छौं।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।