माघ १ मा भारत जाँदै परराष्ट्रमन्त्री, मोदीलाई पनि भेट्ने
कोरोना खोप र मिचिएको भूमि एजेन्डा

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली यही माघ १ गते भारत भ्रमणमा जाने भएका छन्। दिल्लीमा समकक्षी एस जयशंकरसँग हुने द्विपक्षीय बैठकमा सहभागिता जनाउन ज्ञवाली त्यसतर्फ जान लागेका हुन्।

नेपालमा संसद विघटनपछि नेकपा विभाजनले राजनीतिक संकट बढिरहेका बेला परराष्ट्र मन्त्री ज्ञवाली भारत भ्रमणमा निस्किन लागेका हुन्। उनी भारतमा गएर हडपिएका नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताबारे कुरा राख्ने बताइएको छ। 

नेपालले लामो समयदेखि भारतद्वारा हडपिएको भूमि फिर्ताको मुद्दा उठाइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नै कार्यकालमा भारतले हडपेको भूमि फिर्ता गर्ने बताइरहेका बेला ज्ञवाली भ्रमणमा निस्किन लागेका हुन्।

भ्रमणका क्रममा ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यतालिका रहेको स्रोतले बताएको छ। उनले माघ १ गते साँझ नै मोदीलाई भेट्ने गरी कार्यतालिका मिलाइएको परराष्ट्र स्रोतको दाबी छ। ज्ञवालीले मोदीलाई भेटेर निकट भविष्यमा हुने प्रधानमन्त्री ओलीको भ्रमण मिति र त्यसका एजेन्डामा पनि छलफल गर्ने स्रोतले जनाएको छ। 

ज्ञवालीको यो भ्रमणका क्रममा कोरोना खोपबारे पनि वार्ता हुने भएको छ। स्रोतका अनुसार नेपालले भारतबाट यहाँका कम्तीमा २० प्रतिशत मानिसलाई पुग्ने खोप उपलब्ध गराइदिन आग्रह गर्ने भएको छ। खोप आपूर्तिबारेमा नयाँदिल्लीमा हुने नेपाल-भारत संयुक्त आयोगको बैठकको समयमा निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।

नेपालस्थित परराष्ट्र मन्त्रालयले यसअघि नै भारतीय विदेश मन्त्रालयलाई पत्राचार गरेर भारत सरकारले खोप किन्दा नेपालको जनसङ्ख्याको २० प्रतिशतका लागि पुग्ने गरी किनिदिन अनुरोध गरिसकेको छ। भारतमा यही महिनाबाट खोप लगाउन थालिँदैछ। यस्तोमा नेपालले पनि चाँडोभन्दा चाँडो खोप ल्याउने गरी भारतसँग पहल गर्ने भएको हो।





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १९:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया