'संसद् विघटनविरुद्ध दलहरुको अलमल तर नागरिक द्विविधामा छैनन्’

काठमाडौं : प्रधानमन्त्री केपी शर्माले ओलीले पुस ५ गते संसद विघटन गरेपछि त्यसविरुद्ध सुरु भएको नागरिक आन्दोलन अझै जारी छ। नागरिकस्तरबाट जारी आन्दोलन मंगलबार पनि रोकिएन। प्रज्ञा प्रतिष्ठानको डबलीबाट अभियानले दोस्रो चरणको कार्यक्रम सुरु गरेको छ।

दोस्रो चरणको आन्दोलनको पहिलो दिन आज विभिन्‍न नागरिक अगुवा तथा कलाकारले आफ्ना प्रस्तुतिमार्फत सरकारी कदमको विरोध गरेका छन्। अभियान संयोजकमध्ये एक लेखक तथा राजनीतिक विश्लेषक युग पाठकले प्रधानमन्त्री ओलीको संसदमाथिको ‘कु’ले आम नागरिकमा शंका उत्पन्न गराएको बताए ।

‘ओलीले संसद मात्र होइन, संविधानमाथि नै कु गरेका छन्,’ विषय प्रवेश गर्दै पाठकले भने, ‘उनको यो कदमले आमनागरिकमा प्रश्न उत्पन्न गराएको छ। मुलुक कतै सेटिङमा त चलिरहेको छैन?’


 
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले भिडियो सन्देशमार्फत अभियानमा आफ्नो ऐक्यबद्धता जनाए । सन्देशमा पाण्डेले आफू विशेष कारणले कार्यक्रममा उपस्थित हुन नसकेको बताए। ‘लोकतन्त्र जति सुन्दर व्यवस्था हो, त्यति नै कठिन पनि । यसको संरक्षण तथा सम्वर्द्धन गर्न हरेक पुस्ताको उत्तिकै भूमिका हुन्छ,’ पाण्डेले भने, ‘निरंकुश शासकलाई घचच्याउन हरेक पुस्ता तम्तयार हुनुपर्छ ।’

कवि तथा नागरिक अगुवा दुर्गालाल श्रेष्ठले पनि भिडियोमार्फत प्रतिगमनविरुद्ध कविता सन्देश पठाएका थिए।  संसद विघटन गरेर संविधानमाथि ‘कु’ गर्ने सत्तालाई कटाक्ष गर्दै उनले सुनाएका कविताको एक पंक्ति :

तिम्रै कारण साम्यवाद आउन्‍न यहाँ जनम-जनम  
तिमीलाई कम्युनिस्ट पनि मान्दिनँ, तिमीलाई कम्युनिस्ट पनि ठान्दिनँ म 



नागरिक अगुवा सिएन थारुले प्रतिमगनविरुद्धको अभियानमा सहभागीको संख्या न्यून भएकोमा दुःख व्यक्त गरे । ‘जनताको राज्य खोसिएको छ, जनताको सार्वभौमिकता खोसिएको छ,’ थारुले भने, ‘देश यति जटिल मोडमा उभिँदा किन अरु नागरिक अगुवा चुप छन् ?’

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापामगर पनि सहभागी थिए । उनले जब-जब देशमा प्रतिगमन हुन्छ, त्यसबेला नेपाल पत्रकार महासंघले अग्रमोर्चामा रहेर त्यसको प्रतिकार गर्दै आएको स्मरण गरे । महासंघको जन्म नै प्रतिगमनविरुद्ध लड्न भएको उनले जिकिर गरे।



‘देशमा निरंकुशताविरुद्ध भएका आन्दोलनमा पत्रकाहरुको महत्वपूर्ण भुमिका छ,’ २०६२–०६३ को आन्दोलनलाई स्मरण गर्दै उनले भने, ‘त्यो आन्दोलनमा पुलिसको भाटाको छाप अहिले पनि केही पत्रकारको शरीरबाट मेटिएको छैन ।’

कार्यक्रममा बोल्दै अभियन्ता विद्या श्रेष्ठले नेपालमा लामो समयदेखि विभिन्‍न स्वरुपका प्रतिगामी कदम चालिएको बताइन् । ‘आफूलाई लोकतान्त्रिक भन्ने दलहरुले नै विकासका नाउँमा सिंगो उपत्यका र रैथानेहरुको सासै निमोठेका छन्,’ श्रेष्ठले भनिन्, ‘उपत्यकाको सौन्दर्य र यहाँ रैथानेहरुको सास जोगाउन अब सबैले सहयोग गर्नुपर्ने बेला आएको छ ।’

कार्यक्रममा विभिन्न प्रस्तुति पनि थिए । शिल्पी थिएटरका घिमिरे युवराज, व्यंग्य चित्रकार रवि मिश्र र चित्रकार रवीन्द्र श्रेष्ठले संयुक्त रुपमा संयोजन गरेको कविता नाटक प्रस्तुत गरिएको थियो । 

त्यस्तै ‘वमन इन पोलिटिक्स’ अर्थात् राजनीतिमा महिला नामको सामाजिक समूहले पनि आफ्नो प्रस्तुति दिएको थियो । पृष्ठभूमिमा नेवा: धिमे बजाएर उक्त समूहले संसद विघटनविरुद्ध नारा लगाएको थियो । 

हातमा पर्चा लिएर उभिएका उनीहरुले ‘कानुनमाथि को रहेछन्? केपी ओली पो रहेछन्’, ‘संविधानलाई मिचेर नैतिकतालाई बिर्सेर जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्’, ‘न्याय मार्न पाइँदैन, झुटो आश्वासन चाहिँदैन’, लगायत नारा लगाए।

डेढ घण्टा चलेको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ र अपांगता भएका समुदायका अगुवाहरु मुक्ति सिंह तामाङ र भोजराज श्रेष्ठ पनि उपस्थित थिए । 

उनीहरुले नेपालको संविधानले आदिवासी, जनजाति, सीमान्तकृत तथा अपांगता भएकाहरुका लागि धेरै आशा र भरोसा जगाएको बताए। तर ओलीले संसद विघटन गरेर ती आशा र सपनामाथि कुठाराघात गरेको उनीहरुको भनाइ थियो। ‘यो संविधान समावेशी हुन्छ सोचेको थिएँ, दुःख व्यक्त गर्दै श्रेष्ठले भने, ‘तर केपीले संविधानको घाँटी निमोठ्ने काम गरे ।’ 

ढिलो गरी कार्यक्रममा उपस्थित भएका नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि प्रम ओलीको अलोकतान्त्रिक कदमले जनताका इच्छा–आकांक्षा मार्ने काम गरेको बताए । 

कार्यक्रमको समापन गर्दै अभियान संयोजकमध्ये लेखक तथा पत्रकार नारायण वाग्लेले यो आन्दोलन अब अझ बृहत रुपमा अघि बढ्ने बताए । वाग्लेले प्रम ओलीलाई चेतावनी दिँदै भने, ‘बालुवाटारमा गर्ने कार्यक्रम हामी छिट्टै सार्वजनिक गर्छौं, त्यसका लागि तयार रहनुहोला ।’ 

पहिलो चरणको आन्दोलन पुस १२ देखि राजधानीको माइतीघर मण्डलबाट सुरु भएर पुस १८ सम्म सात दिन चलेको थियो । सोही अभियानको निरन्तरता स्वरुप आजबाट दोस्रो चरणको आन्दोलन सुरु गरिएको हो ।


 

  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार २२:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया