पल्सर स्पोर्टस् अवार्ड : यी हुन् १० विधाका विजेता

नेपाल खेलकुद पत्रकार मञ्चले मङ्गलबार (आज) १७औँ संस्करणको पल्सर स्पोर्टस् अवार्ड सम्पन्न भएको छ । सातदोबाटोस्थित कराँते हलमा सम्पन्न अवार्ड कार्यक्रम कोरोना भाइरसका कारण सेमीभर्चुअल माध्यमबाट भएको थियो । 

अवार्ड कार्यक्रममा १० विधा समेटिएको थियो । यी हुन्  १० विधामा उत्कृष्टता हासिल गर्ने खेलाडी र टाेली

वर्ष युवा खेलाडी

यो अवार्ड गल्फका सुवास तामाङले हात पारेका छन् । उनले गत वर्ष नेपालमै भएको १३औँ सागमा एकल तथा टिम इभेन्टमा स्वर्ण जितेका तामाङ गल्फबाट नेपाललाई स्वर्ण जिताउने पहिलो खेलाडी हुन् । उनले आठौँ बृहत् राष्ट्रिय खेलकुदमा टिम इभेन्टतर्फ रजत जितेका थिए । 
 
उनी गत वर्ष फिल्डो च्यालेन्ज सिरिजको छनोट तथा सूर्य नेपाल गल्फ टुरअन्तर्गतको सूर्य नेपाल च्यालेन्जको च्याम्पियन बनेका थिए । यो विधाका लागि तेक्वान्दोेका भुपेन श्रेष्ठ, उसुकी पुनम श्रेष्ठ, भारोत्तोलकी मञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेन मनोनयमा परेका थिए ।
 
वर्ष प्रशिक्षक



तेक्वान्दोका नवीनकुमार श्रेष्ठले यो अवार्ड हात पारेका छन् । उनको प्रशिक्षणमा तेक्वान्दो टोलीले १३औँ सागमा १२ स्वर्ण, ६ रजत र ११ कास्य जितेको थियो । यो सागमा तेक्वान्दोबाट सहभागी २९ खेलाडीले नै पदक हात पारेका थिए । नेपाली टोलीले चाइना इन्टरनेसनल च्याम्पियनसिपमा सहभागिता जनाउँदा श्रेष्ठ नै मुख्य प्रशिक्षक थिए । 
 
पारा एथलिट सम्मान



दिगम सिंह चेम्जोङले पारा एथलेटिक सम्मान प्राप्त गरे । उनी निरन्तर रुपमा क्रिकेट, बास्केटबल र टेलबल टेनिस खेलिरहेका छन् । उनी पारा क्रिकेट टोलीका कप्तान हुन् ।

दिगमले गत वर्ष नेपालमा सम्पन्न ह्विल चियर क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । पोखरामा भएको पारा टेबलटेनिसमा उनले रजत पदक जितेका थिए ।

उनी ह्विल चियर क्रिकेटमा पाकिस्तानको कराची इगल्सबाट खेलेर पहिलो नेपाली व्यावसायिक पारा खेलाडी बनेका थिए । 

टिम अफ दी इयर

यो अवार्ड महिला भलिबल टोलीले प्राप्त गरेको छ । महिला भलिबलले १३औँ सागमा रजत तथा एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्ण जितेको थियो । यो नेपाली भलिबलले प्राप्त गरेको पहिलो स्वर्ण थियो ।

स्पेसल अवार्ड

यो अवार्ड यसपटक दुई खेलाडीलाई प्रदान गरिएको छ । ती हुन्, एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य । 
 
सन्तोषीले १३औँ सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । उनी नेपाललाई स्वर्ण जिताउने पहिलो महिला धाविका हुन् ।

सन्तोषीले आठौँ बृहत् राष्ट्रिय खेलकुदमा ५ हजार मिटर दौडमा स्वर्ण, १५ सय मिटर दौडमा रजत, १० हजार मिटर दौडमा कास्य प्राप्त गरेकी थिइन् । 
 
आयशा नेपालका लागि एकै सागमा दोहोरो स्वर्ण हात पार्ने पहिलो महिला खेलाडी हुन् । उनले १३औँ सागमा तेक्वान्दोको पुम्सेबाट एकल तथा टिम इभेन्टमा स्वर्ण जितेकी थिइन् । उनले आठौँ बृहत् राष्ट्रिय प्रतियोगितामा कास्य जितेकी थिइन् । 

 पिपल्स च्वाइस अवार्ड

यो अवार्ड भलिबलकी अरुणा शाहीले हात पारेकी छन् । गत वर्ष नेपाली महिला भलिबल टिमले सागमा ऐतिहासिक रजत तथा एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्ण जित्दा अरुणा टिमकी कप्तान थिइन् ।

यो अवार्डका लागि कराँतेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी, बास्केटबलकी सदिना श्रेष्ठ, पौडीकी गौरिक सिंह मनोनयनमा परेका थिए । 

पुरुष वर्ष खेलाडी

यो अवार्ड कराँतेका मण्डेकाजी श्रेष्ठले जितेका छन् । १३औँ सागमा एकै दिन दुई स्वर्ण जितेर उनी नेपालका लागि एकै दिन दुई स्वर्ण जित्ने पहिलो खेलाडी बनेका थिए । उनले सागमा एकल तथा टिम कातामा स्वर्ण जितेका थिए ।
 
उनले आठौँ बृहत् राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण  तथा टिम कातामा रजत जितेका थिए । साफ च्याम्पियनसिपमा उकल कातमा स्वर्ण जितेका थिए । 

वर्ष पुरुष खेलाडीका लागि गल्फका सुवास तामाङ, फुटबलका विकेट कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की र तेक्वान्दोका कमल श्रेष्ठ मनोनयनमा परेका थिए । 

वर्ष महिला खेलाडी

यो अवार्ड पौडीकी गौरिका सिंहले जितेकी छन् । उनले १३औँ दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण, २ रजत र ३ कास्य जितेर कीर्तिमान बनाएकी थिइन् ।

उनले आठौँ बृहत् राष्ट्रिय खेलकुदमा पौडीका १२ वटै विधामा स्वर्ण जितेकी थिइन् ।

यो अवार्डका लागि मनोनयनमा पर्नेमा कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए । 

लाइफ टाइम एचिभमेन्ट अवार्ड

सिजरिन शाह र गीता क्षत्रीले प्राप्त गरेका थिए । उनीहरुले श्रीलंकामा सम्पन्न भएको पाँचौँ साग गेम्समा टेबलटेनिसको टिम इभेन्टसमा स्वर्ण पदक हात पारेका थिए । यो नेपालले टेबलटेनिसबाट प्राप्त गरेको एक मात्र स्वर्ण हो । 

अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मान 

यो अवार्ड मलेसियाका अहमद खवारीले प्राप्त गरेका छन् ।

पिपल्स च्वाइस वर्षका महिला, पुरुष र प्रशिक्षकको अवार्ड विजेताले बजाजको मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५०–५० हजार रुपैयाँसहित डिसहोम र केल्मीको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् ।

  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार २०:४८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया