सुदूरपश्चिममा नेकपा : कारबाहीको जुहारी तल्लो तहसम्म
प्रदेशका कुन जिल्ला कसको पक्षमा ?

सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली र दाहाल-नेपाल पक्षले आ-आफ्नै तरिकाले भेला, बैठक गरिरहेका छन्। पुस १७ गते दाहाल-नेपाल समूहले ओली पक्षका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा र कैलाली जिल्ला अध्यक्ष रतन थापालाई कारबाहीका लागि सिफारिस गर्‍यो।

सो बैठकमा साविकका इन्चार्ज भीम रावल सहभागी थिए। अध्यक्ष कर्ण थापा भने उपस्थित थिएनन्। अध्यक्षबिनाको बैठक वैधानिक नभएको भन्दै पुस १७ गते गरिएका सम्पूर्ण निर्णयहरू खारेज गरिएको घोषण ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापाले गरे।

२२ गते धनगढीमा ओली पक्षले प्रदेश कमिटी बैठक बोलायो। उक्त बैठकले प्रदेश इन्चार्ज भीम रावललगायत ३ नेतालाई कारबाहीको सिफारिस गर्‍यो। रावलसँगै प्रदेश सचिव नेपबहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको जानकारी दिइयो। 

रावलमाथि खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप पनि लगाइएको थियो। सुदूरपश्चिम प्रदेश संयोजकमा ओली पक्षले लेखराज भट्टलाई तोकेको छ। प्रदेश अध्यक्ष भने कर्णबहादुर थापा छन्। सो बैठकले प्रदेश कमिटीसमेत विस्तार गर्‍यो।

पुस १४ गते सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठन सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरे। ओली समूहमा रहेकै कारण मन्त्री बोहरालाई जानकारीबिनै मुख्यमन्त्रीले बर्खास्त गरेका थिए। यो घटनापछि सुदूरपश्चिम प्रदेशमा एकले अर्काे पक्षलाई लाई कारबाही गर्ने क्रम निरन्तर चलिरहेको छ। 

पछिल्लो समय पार्टीभित्र एक पक्षले अर्काे पक्षलाई धमाधम कारबाही गरिरहेका छन्। सोमबार ओली पक्षले कञ्चनपुरका पार्टी सचिव तारा लामा तामाङलाई कारबाही गर्‍यो। सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक समेत रहेका तामाङलाई जिल्ला पार्टी सचिवको जिम्मेवारीबाट हटाएको ओली समूहले जनाएको छ।



सोमबार नै अछाममा अध्यक्ष शेर बहादुर कुँवर र सचिव झपट साउदलाई पनि जिम्मेवारीबाट हटाइएको छ। उनीहरू दुवै जना दाहाल-नेपाल समूहमा हुन्। अहिले कसैलाई कारबाही नगरेको र जिम्मेवारीबाट मात्रै हटाइएको नेकपा ओली समूहका अध्यक्ष थापाको दावी छ।

‘हामीले पार्टीको सदस्य समेत नरहने गरी कारबाही गरेका होइनौँ’ उनले भने, ‘उहाँहरूको जिम्मेवारी मात्रै खोसिएको हो।’ ओली पक्षले जिल्लामा धमाधम कारबाही गरिरहेका बेला प्रचण्ड-दाहाल पक्षले कारबाहीमा परिसकेका व्यक्तिको अध्यक्षतामा बसेको बैठकले गरेको कारबाही वैधानिक नहुने बताउँदै आएको छ।



 ‘हामीले पुस १७ गते नै कारबाही गरिसकेका थियौँ,’ दाहाल-नेपाल समूहका प्रदेश सचिव नेपबहादुर चौधरीले भने, ‘उहाँ कारबाहीमा परिसकेपछि हामीलाई कारबाही गर्नुभएको रहेछ त्यो वैधानिक होइन।’

प्रदेशबाट जिल्ला हुँदै कारबाहीका प्रक्रिया अहिले पालिकास्तरमा पुगिसकेको छ। पुस २६ गते कैलालीको घोडाघोडी नगरपालिकामा दाहाल-नेपाल समूहले अध्यक्ष बाधुराम चौधरीलाई कारबाही गरेको छ। घोडाघोडी नगर सचिव खगेन्द्र हमालले जारी गरेको विज्ञप्तिमा चौधरीलाई केपी ओलीको कदमको समर्थन गरेर विज्ञप्ति जारी गरेका कारण अध्यक्ष पदबाट निष्कासन गरिएको उल्लेख छ। 

प्रदेश पदाधिकारीमा को बलियो ?

प्रदेशका ९ जिल्लामध्ये हालसम्म ओली पक्षका ४ जिल्लामा अध्यक्ष र २ जिल्लामा सचिव रहेका छन्। दाहाल-नेपाल समूहका भने ५ जिल्लामा अध्यक्ष र ७ जिल्लामा सचिव रहेका छन्।

अहिले ओली समूहले दाहाल-नेपाल समूहमा रहेका जिल्लाका पदाधिकारीहरूलाई हटाएर आफू पक्षका व्यक्तिहरुलाई जिम्मेवारी दिइरहेको छ।
 

बाजुरा
अध्यक्ष- कालीबहादुर शाही, ओली पक्ष
सचिव- भरत बुढा, ओली पक्ष।

कैलाली
अध्यक्ष- रतन थापा, ओली पक्ष
सचिव-लाल बहादुर सोडारी, दाहाल-नेपाल पक्ष
कञ्चनपुर
अध्यक्ष- वीरबहादुर थापा, ओली पक्ष
सचिव- तारा लामा तामाङ, दाहाल-नेपाल पक्ष
डोटी
अध्यक्ष- चक्र मल्ल, दाहाल-नेपाल पक्ष
सचिव- जङ्ग विक, दाहाल-नेपाल पक्ष
बझाङ
अध्यक्ष- मीनबहादुर कुँवर, दाहाल-नेपाल पक्ष
सचिव- दमन भण्डारी, दाहाल-नेपाल पक्ष
डडेल्धुरा
अध्यक्ष- मानसिंह माल, दाहाल-नेपाल पक्ष
सचिव- वीरेन्द्र कुमार बस्नेत, दाहाल-नेपाल पक्ष
दार्चुला
अध्यक्ष- गणेश सिंह खत्री, दाहाल-नेपाल पक्ष
सचिव- उदय बडाल, ओली पक्ष
बैतडी
अध्यक्ष- सुरेन्द्र पाल, ओली पक्ष
सचिव- प्रेम प्रकाश भट्ट, दाहाल-नेपाल पक्ष
अछाम
अध्यक्ष- शेरबहादुर कुँवर, दाहाल-नेपाल पक्ष
सचिव- झपट साउद, दाहाल- नेपाल पक्ष

  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार ९:१५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया