ऊर्जा क्षेत्रको विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पर्खेर बस्न नहुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले बताएका छन् ।
एमसिसीले सडक र ऊर्जामा लगानी गर्ने बताउँदै मन्त्री रायमाझीले एमसिसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामको लागि पर्खेर बस्नु नहुनेमा जोड दिए ।
विद्युत खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेका बताउँदै उनले एमसिसीलाई नपर्खी देशकै आन्तरिक लगानी अथवा अरु कुनै स्रोतबाट ट्रान्समिसन लाइन तुरुन्तै बनाउनुपर्ने बताए । एमसिसी लागु गर्ने अथवा खारेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुंग्याउनुपर्ने उनको भनाइ छ ।
बेलाबेला विद्युत् जाने समस्या विद्युत भार बढी भएको र कमजोर संरचनाका कारण भएको ऊर्जा मन्त्री रायमाझीले स्पष्ट पारे । विद्युत अपर्याप्तताका कारण लाइन काटिएको नभई पुरानो संरचनाका कारण बत्ती जाने गरेको उनको भनाई छ ।
देशको राजनीतिक प्रणाली र परिवर्तनको मुद्धा नै गुम्ने स्थिति आएका कारण मध्यावधि निर्वाचनमा जानुपरेको मन्त्री रायमाझीले बताए । मध्यावधि निर्वाचनमा जानु प्रगतिशील कदम भएको टिप्पणीसमेत उनले गरे ।
प्रतिपक्षी दल निर्वाचनमा जान डराएको बताउँदै उनले सडकमा आन्दोलन गरेर देशको विकास र समृद्धि नहुने दाबी गरे ।
मन्त्री रायमाझीले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको बिहिबार देखि हुने भारत भ्रमणमा दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्ने र नेपाल भारतबीचको अन्तर्विरोध न्यूनीकरण गर्ने विषयमा केन्द्रीत हुने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।