नेपाल राष्ट्र बैंकले नेपालका उद्योगी÷व्यवसायी वा अन्य संस्थाले विदेशी व्यक्तिगत लगानीकर्ताबाट ऋण लिँदा दिन पाउने ब्याजदरको अधिकतम सीमा तोकेको छ ।
राष्ट्र बैंकअन्तर्गतको विदेशी विनिमय व्यवस्थापन विभागले नेपालका उद्योग÷व्यवसायले आफ्नै कम्पनी वा उद्योगका विदेशी लगानीकर्ताबाट ऋण लिँदा दिन पाउने अधिकतम ब्याजदरको सीमा तोकेको हो ।
नयाँ प्रावधान अनुसार १ वर्षको लाइबर दरमा अधिकतम ३ प्रतिशतसम्म थपेर ऋण लिन पाउनेछन् । यही ३ प्रतिशत दरमा ऋणसम्बन्धी सम्पूर्ण खर्च, शुल्क, कमिसन, फी समेत समावेश गर्नुपर्ने केन्द्रीय बैंकले बताएको छ ।
लाइबर दर भन्नाले विश्वका मुख्य बैंकहरुले एकअर्काबाट लिने व्याजको औसत दर बुझिन्छ ।
हालको १ वर्षे लाइबर दर ०.३३ प्रतिशत रहेको छ । यस अर्थमा नेपाली उद्योग व्यवसायीले ३.३३ प्रतिशतभन्दा बढी दरमा विदेशी व्यक्तिगत लगानीकर्ताको ऋण स्वीकार गर्न सक्ने छैनन् ।
भारत र चीनबाट ल्याइने ऋणको दर भने केही तलमाथि हुन सक्ने बताइएको छ ।
त्यस्तै, विदेशी लगानीकर्ताबाट ऋण लिनका लागि राष्ट्र बैंकले केही सर्तसमेत तोकेको छ । नेपालकै वाणिज्य बैंक तथा वित्तीय संस्थाबाट आवश्यक परिमाण र व्याजदरमा लिन नसक्ने अवस्था सृजना भएमात्र त्यस्तो ऋण लिन सकिने बताइएको छ ।
विदेशी लगानीकर्ताले प्रवाह गर्ने ऋण नेपालमा पुँजी र सेयरमा गरेको लगानीको ६० प्रतिशतभन्दा बढी हुनु नहुने व्यवस्थासमेत गरिएको छ ।
ऋण रकम सम्वन्धित कम्पनी तथा उद्योगको तोकिएकै क्षेत्रभन्दा बाहिर उपयोग गर्न नपाइनेसमेत बताइएको छ ।
ऋण लिने कम्पनी कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाणित हुने कागजात तथा करको दायरामा रहेको प्रमाणित कागजात, कर्जा ल्याउने तथा लैजाने समय तालिका उल्लेख भएको कागजात पनि जुटाउनुपर्ने राष्ट्र बैंकले बताएको छ ।
ऋण प्राप्त भएको ३५ दिनभित्र सोको विवरण राष्ट्र बैंकमा अनिवार्य रुपमा दर्ता गराउनुपर्ने जारी निर्देशनमा उल्लेख छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।