ओलीविरुद्ध प्रचण्ड–माधवको सम्बोधनः तँ, तिमी, तपाईं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि दुवै समूहले दैनिकजसो विभिन्न कार्यक्रम गरिरहेका छन्। यी दुई समूहले पछिल्लो समय आफ्ना कार्यक्रमलाई काठमाडौंमा केन्द्रित गरेका छन्।

केही दिनअघि मात्र नेकपाको एक समूह प्रधानमन्त्री केपी शर्मा ओली समूहले कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरेको थियो। त्यो भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए। सम्बोधनमा प्रधानमन्त्री ओलीले नेकपाका अरु नेताहरुमाथि विभिन्न आरोप लगाएका थिए। 

आज अर्थात् बुधबार त्यही प्रज्ञा प्रतिष्ठानमा नेकपाको अर्को समूह माधव नेपाल–पुष्पकमल दाहाल प्रचण्ड समूहले पनि प्रदर्शन गरेको छ। आजको कार्यक्रमलाई नेकपाका यी दुर्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गरेका छन्। 

ओलीविरुद्ध कडा भर्त्सना

सम्बोधनमा नेकपाका यी दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पहिलो र प्राथमिक टार्गेट बनाएका थिए, ओलीलाई। प्रधानमन्त्री ओलीले पछिल्लो समय मनपरी गरेको, लोकतान्त्रिक पद्धतिलाई अवलम्बन गर्न नखोजेको, पार्टी र सरकारमा ओलीले निरंकुशता देखाएको आरोप नेकपाको यो समूहका दुवै अध्यक्ष प्रचण्ड र नेपालले लगाएका थिए। 

आजको कार्यक्रममा प्रचण्ड र नेपाल ओलीप्रति अझ आक्रामक भएर प्रस्तुत भएका थिए। 



कार्यक्रमको सम्बोधनमा दुवै नेताको एउटै भाष्य थियो– अब ओलीविरुद्ध आन्दोलन गर्न कुनै कसर बाँकी राख्नु हुँदैन। कार्यक्रममा सम्बोधनकै क्रममा यी दुवै अध्यक्षले कार्यकर्ताहरुलाई भोलि देखि नै सडकमा उत्रिएर विभिन्न विरोध प्रदर्शनका कार्यक्रम गर्न अनुरोध गरेका थिए। 

निरंकुश बन्दै छन् ओली



सम्बोधनमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दुवैले प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको उल्लेख गरेका छन्। कार्यक्रममा प्रचण्डले त ओलीविरुद्ध बोल्दै गर्दा हिटलरको प्रसंग पनि जोडेका थिए। 

‘हिटलरले कस्तो अन्त्य भोग्न प¥यो, थाहा छ नि,’ प्रचण्डले भनेका थिए, ‘हिटलरले पहिले पत्नीलाई गोली हान्न पर्यो अनि आफूलाई पनि गोली हान्न पर््यो।’ अहिले ओली यही पथमा लागेको प्रचण्डको विश्लेषण थियो। 

त्यस्तै, केपी ओली झुक्न नजान्ने र सुध्रने चाहना नभएको व्यक्ति भएको माधवकुमार नेपालले आरोप लगाए। ‘उहाँलाई झुक्नै आउँदैन,’ नेपालले भने, ‘सुध्रिने मान्छे पनि होइन। उहाँ कम्युनिस्ट पनि होइन, उहाँको पार्टी सडक छाप पार्टी हो।’

जी न्युजको अन्तर्वार्तालाई चार पटक नाटक भने प्रचण्डले

प्रचण्डले अहिले चर्चामा रहेको प्रधानमन्त्री ओलीले भारतीय टिभी च्यानल जी न्यूजलाई दिएको अन्तर्वार्ताको प्रसंग पनि निकाले। जी न्युजमा आएको अन्तर्वार्तालाई ओलीको नाटक भने, प्रचण्डले। प्रचण्डले भने, ‘त्यो अस्ति आएको जी न्युजको अन्तर्वार्ता हेर्नुभयो नि, त्यो नाटक हो।’

अनि उनले थप जोड गरे, ‘त्यो नाटकै हो, नाटकै हो।’ त्यसपछि फेरि भने, ‘त्यो नाटक।’

यसमा उनले त्यसपछि मात्र थपेका थिए, भारतीय पत्रकार सुधीर चौधरीले चलाएको सगरमाथामा भारतको दाबी गर्ने अभियान चलाएको प्रसंग। यसबारे फरकधारमा छापिएको यो समाचार पढ्नुहोस्ः 

बालुवाटारको भर्‍याङ चढेर जी न्युजले सुरु गर्‍यो सगरमाथाको नाम फेर्ने अभियान

प्रचण्डको स्वीकारोक्ती– माधव नेपाल पहिलो अध्यक्ष हुन्

प्रचण्डले आजकोे कार्यक्रममा एउटा उद्घोष गरेका छन्। यसले यो समूहको नेकपामा थप तरंग ल्याउने निश्चित छ। त्यसो त यस विषयमा यसअघि पनि बारम्बार चर्चा भएको थियो। 

प्रचण्डले गरेको यो घोषणा हो, नेकपाको यो समूहका पहिलो अध्यक्ष हुन्, माधवकुमार नेपाल। 

अहिले ओलीले माधवकुमार नेपालमाथि प्रचण्डमा विलय भएको आरोप लगाइरहेको भन्दै प्रचण्डले भने– उहाँ होइन, म उहाँकहाँ मिसिन गएको हो, माधव नेपाल हाम्रो पार्टीको पहिलो अध्यक्ष हो। 

त्यति मात्र होइन, प्रचण्डले केही समयअघि आफू नेपाल निवासमा पुगिरहँदा बारम्बार ओलीका मान्छे देख्दा कतै ओलीले नेपाललाई पनि लैजाने होइनन् भनेर आफू डराएको समेत बताएका छन्। ‘तर, अहिले थाहा भयो, माधव नेपाल सतिसाल झैं यो आन्दोलनमा उभिनु भएको छ,’ प्रचण्डले भने।

सम्बोधनमा तीन आदरर्थी शब्द प्रयोगः तँ, तिमी, तपाईं

आजको सम्बोधनमा यसअघिका दिनमा भन्दा बढी आक्रोशित सुनिए, नेकपाका यी दुई अध्यक्ष। अनि आजको सम्बोधनमा यसअघि ओलीले प्रयोग गर्ने जस्तै विभिन्न उखान टुक्का र कथाको प्रयोग पनि गरे, यी दुई नेताले। 

आजको सम्बोधनमा प्रचण्डले ससाना टुक्का र उखानको धेरै प्रयोग गरेका थिए। 

त्यस्तै, माधवकुमार नेपालले आजको सम्बोधनमा एउटा राजाको कथा सुनाए जो नाङ् गै हिँडेको र जनताले भनेपछि झस्किएको बताएका थिए। अहिले ओली त्यही अवस्थामा भएको बताएका छन्। 

आजको सम्बोधनमा यी दुवै नेताले कहिले ओलीलाई तँ भन्ने सम्बोधन प्रयोग गरे, कहिले तिमी त कहिले तपाईं।

  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १७:७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया