सुधारिँदै आर्थिक व्यवस्था, रेमिट्यान्स बढ्दा मूल्यवृद्धि नियन्त्रणमा

कोरोनाले विश्व अर्थतन्त्र नै नकारात्मक दिशामा गइरहेको समयमा नेपाल भित्रने रेमिट्यान्समा भने वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक बर्ष २०७७/७८ को पहिलो ५ महिनाको तथ्याङ्क अनुसार रेमिट्यान्स आप्रवाह १०.९ प्रतिशतले बढेको छ ।

 अघिल्लो बर्षको सोही अवधिमा रेमिट्यान्स​ आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । चालु आवको पाँच महिनामा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।

घटे वैदेशिक रोजगारीमा जाने 

पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटे पनि वैधानिक प्रणालीबाट रेमिट्यान्स भित्रने क्रम बढेसँगै वृद्धिदर बढेको सम्बद्ध सरोकारवाला बताउँछन् । साथै पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारले विलासिताका जिन्सी सामान खरिद गरेर ल्याउन छाडेकाले पनि नगद आप्रवाह बढेको हो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो । 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।



शोधनान्तर स्थितिमा सुधार

यसैगरी चालु आवको पाँच महिनामा शोधनान्तर स्थितिमा समेत सुधार आएको तथ्यांकमा उल्लेख छ । चालू आबको पहिलो ५ महिनामा देशको शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको थियो ।



मूल्य वद्धि नियन्त्रणमा

चालु आर्थिक वर्षको पाँच महिनामा मुलुकको मूल्यवृद्धि २.९३ प्रतिशतमा सीमित भएको तथ्यांकमा उल्लेख छ । 

नेपाल राष्ट्र बैंकले गएको मङ्सिर महिनासम्मको मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

यो तथ्याङ्कले गत वर्षको तुलनामा यो वर्ष मूल्यवृद्धि पूर्ण नियन्त्रणमा रहेको देखाउँछ । गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष मूल्यवृद्धि (मुद्रास्फीति) ३.६२ विन्दुले घटेको छ । गत आव (२०७६÷७७) को मङ्सिर महिनासम्म यस्तो मूल्यवृद्धि ६.५५ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.२३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि १.१६ प्रतिशत रहेको छ । 

२०७६ मंसिरकोे तुलनामा २०७७ मंसिरमा फलफूल, घिउ तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः १४.७५ प्रतिशत, १३.०१ प्रतिशत, ११.४४ प्रतिशत र १०.७४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

बढ्यो बैदेशिक व्यापारघाटा

नेपालले ४ खर्ब रुपैयाँ वैदेशिक व्यापार घाटा व्यहोरेको छ । समीक्षा अवधिमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको नेपालले ५० अर्ब ५ करोडको मात्र निर्यात गरेको हो ।

व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा भने १०.९१ प्रतिशतले कम हो । नेपालले गत वर्ष पाँच महिनामा ५ खर्ब ८१ अर्ब २५ करोडको सामान आयात गरेकोमा ४७ अर्ब ६१ करोडको निर्यात गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा आयात ९.५९ प्रतिशत घटेको हो भने निर्यात ५.१२ प्रतिशतले बढेको हो ।


 

  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १७:३६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया