एक मिलिसेकेन्डले दिलाएको खुसी
मलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै स्पेसल : सन्तोषी श्रेष्ठ

एक मिलिसेकेन्डको महत्त्व कति हुन्छ ? यो प्रश्न कुनै आम मानिसलाई सोधियो भने पक्कै पनि केही हुँदैन भन्ने जवाफ आउँछ किनकि आम मानिसको जीवनमा १ मिलि सेकेन्डले खासै महत्त्व राख्दैन ।

एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठका लागि भने एक मिलिसेकेन्डको महत्त्व निकै छ । यही एक मिलि सेकेन्डसँग उनको जीवनको अविस्मरणीय क्षण जोडिएको छ र नेपाली खेलकुदमा एक कीर्तिमान बनेको छ ।

गत वर्ष नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदलाई फर्केर हेरौं डिसेम्बर ३ तारिखका दिन दशरथ रंगशालामा १० मिटर दौडको प्रतिस्पर्धा थियो । सन्तोषी श्रेष्ठले स्वर्ण जित्दै नेपालका लागि स्वर्ण दिलाउने पहिलो धाविका बनिन् र उनको साथ साथै उनले निकालेको १ मिलि सेकेन्डको जितको पनि निकै चर्चा भयो । सन्तोषीले ३५ मिनेट ७.९४ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जित्दा दोस्रो स्थानकी कविता यादवले ३५ मिनेट ७.९५ सेकेन्डमा दौड पूरा गरिन् । 

यही १ मिलि सेकेन्डको जितले सन्तोषीलाई नेपालकै प्रतिष्ठित मानिएको स्पोर्टस् अवार्ड अन्तर्गतको स्पेसल अवार्ड दिलायो । 

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको १७ औं संस्करणको पल्सर स्पोर्टस् अवार्डमा सन्तोषीसहित तेक्वान्दोकी आयशा शाक्यलाई यो अवार्डबाट सम्मानित गरियो ।  

सन्तोषीले त्यो खेललाई यसरी सम्झिइन्



यो मेरा लागि मात्र नभएर नेपाली खेलकुदकै लागि निकै विशेष क्षण थियो । हामी दुवै जना बलिया खेलाडी थियौं । रेसको अन्त्यसम्म सँग–सँगै थियौं । निकै गाह्रो भएको थियो तर मसँग छिट्टै सोच्न सक्ने क्षमता भएर नै एक मिलि सेकेन्डले अगाडि भए जस्तो लाग्छ । 

मेरो मिहिनेत र आत्मविश्वास, गुरुहरूको साथ र सहयोग छँदै छ घरेलु दर्शकको हुटिङले पनि हौसला बढेको थियो । 



मेरो यो भिडिओलाई अन्तर्राष्ट्रिय एथ्लेटिक खेलाडीहरूले पनि १० हजार मिटरमा यस्तो क्षण निकै कम देख्न पाइछ भन्दै सेयर गर्नुभएको थियो । यस्तो प्रतिक्रिया पाउँदा निकै खुसी भएँ, मेरो मिहिनतले सार्थकता पाए जस्तो लाग्यो ।

सन्तोषीको यहाँ सम्मको यात्रा 

दौडन सुरुवात गर्दा सन्तोषीसँग कुनै लक्ष्य थिएन मात्र दौडिन पर्छ भन्ने थियो । उनले जहाँसम्म सक्छु त्यहींसम्म दौडिन्छु भनेर यसको सुरुवात गरेकी थिइन् । 

यस क्रममा निकै बाधा अड्चनहरू आए कुनै बेला सन्तोषीलाई बेकारमा दौडिन सुरु गरिएछ, अब दौडिनै छाडि दिउँ कि भन्ने सोच पनि नआएको होइन तर परिवारको साथ र सहयोगले उनलाई यो क्षेत्र चटक्कै छाड्न दिएन । 

सन्तोषीलाई यही क्षेत्रमा ल्याउन स्कुलका सिनियर लक्ष्मण मल्ल र दाइ केदार श्रेष्ठले महत्त्वपूर्ण भूमिका खेलेका छन् । 

‘मेरो करियरको सुरुवातमा उहाँहरूले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । मलाई दौडिन सिकाउने उहाँहरू नै हो । दौडिन प्रेरणा दिइरहनु भयो ।’ सन्तोषीले फरकधारसँगको कुराकानीमा भनिन् ।

सन्तोषीले स्कुले जीवनदेखि नै दौडिन सुरु गरेकी हुन् । विसं २०६२ सालमा स्कुलले आयोजना गरेको १५ सय मिटर दौडमा उनको स्वर्ण प्राप्त गरिन् । पहिलो प्रयासमा नै स्वर्ण प्राप्त गरेपछि उनलाई हौसला बढेको थियो ।

केदार र लक्ष्मणसँग सिक्दै गर्दा विसं २०७२ सालमा सन्तोषीले एथ्लेटिक्स प्रशिक्षक रधु वन्तलाई भेटिन् यसपछि उनको करियरले अझै उडान भर्न सफल भयो । उनले नै सन्तोषीलाई कमजोरी र सबल पक्षको जानकारी गराए । गल्तीलाई सुधार गर्न सहयोग गरे ।

सन्तोषीले रधु वन्तसँगको भेटलाई यसरी सम्झिइन् ‘मलाई गुरुले पहिलेदेखि नै भेट्न खोज्नु भएको थियो । मैले एडिड्यास रोड रेस र एथ्लेटिक्स च्याम्पियनसिपको १० हजार मिटर दौडमा कास्य पदक जितेको थिएँ । मैले राम्रो  टाइम निकालेको हुँदा उहाँको नजरमा परेछु । उहाँले मलाई फोन गर्नुभयो, दाइ र लक्ष्मण मल्लसँग पनि कुरा गर्नुभएछ तर पढाइमै ध्यान दिन्छु भनेर उहाँको कुरालाई मैले वास्ता गरेको थिइनँ ।’

धेरैपटक फोन गरेपछि एक पटक भेट्छु भनेर गएँ । उहाँको व्यक्तित्व देखेर मलाई प्रस्ताव नकार्नै मन लागेन । उहाँले तिमीले खेल र पढाइलाई सँगसँगै लैजान सक्छौं भनेर हौसला दिनुभयो । मैले म अरुको होइन मेरै समय अनुसार प्रशिक्षण गर्नेछु भन्ने प्रस्ताव राखे उहाँले सहजै स्वीकार गर्नुभयो त्यसयता हामीसँगै छौं ।

खेल्दै जाँदा निकै कठिनाइ आए कहिले पढाइको चिन्ता, कहिले जागिरको चिन्ता, कहिले खेल हार्दाको पीडा । घरमा पनि के गर्ने के नगर्ने दोधार थियो, कहिले गाली त कहिले ताली खाँदै सन्तोषीले यहाँ सम्मको यात्रा तय गरेकी छन् ।   

सन्तोषी आफूले यहाँ सम्मको यात्रा तय गर्दा परिवार, दाइ केदार श्रेष्ठ, लक्ष्मण मल्ल र गुरु रधु वन्तको विशेष भूमिका रहेको ठान्छिन् । 

दौडिन सुरु गरेको स्कुलमा शिक्षक, दक्षिण एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण रहँदाका मुख्य प्रशिक्षकहरू विक्रम जंग थापा र चन्द्र गुरुङ तथा एथ्लेटिक टिमका अन्य साथीको साथ र सहयोगलाई पनि बिर्सन नहुने सन्तोषीको तर्क छ ।

यहाँसम्मको यात्रा तय गर्दा सुख दुःखमा साथ दिने सम्पूर्णलाई सम्झिरहेको र आफूलाई भन्दा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने तथा यो अवार्ड प्रदान गर्ने नेपाल खेलकुद पत्रकार मञ्चलाई स्पेसल महसुस गरिरहेको सन्तोषीले बताइन् ।

  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १८:३८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया