मस्तिष्काघातबाट बच्न के गर्ने ?

मस्तिष्काघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भई स्नायुको कामलाई असर पुगी शरीरको कुनै भागमा कमजोरी देखिने अवस्थालाई जनाउँछ । मस्तिष्काघातले निम्त्याउने अपाङ्गताले बिरामीलाई चाहिने स्याहारसुसार, पारिवारिक सहयोग र पुनःस्थापनामा केन्द्रित गर्न यस वर्षको नारा तय भएको बताइन्छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ नसारोग विशेषज्ञ डा‍. राजु पौडेल मस्तिष्काघातका बारेमा आमजनतामा चेतना अझै नरहेको र छिटोभन्दा छिटो अस्पतालमा पुर्याएमा बिरामीलाई यसबाट पर्ने दूरगामी असर धेरै कम गर्न सकिने बताउनुहुन्छ । 

शारीरिक सन्तुलनमा अचानक गडबड, आँखा कमजोर, अनुहार बाङ्गिए, हात वा गोडामा कमजोरी, बोली लरबरिनुलगायत यसका प्रारम्भिक लक्षण रहेको चिकित्सक बताउछन् । डा. पौडेल भन्छन्, ‘यीमध्ये कुनै लक्षण देखिएमा चार घण्टाभित्र अस्पतालमा पुर्याउन सकिएमा मस्तिष्काघातले निम्त्याउने धेरै असरलाई न्यूनीकरण गर्न सकिन्छ ।’ 

पछिल्लो समयमा विभिन्न कारणले मस्तिष्काघात बढ्दो क्रममा नै रहेको बताइन्छ । एक अध्ययनअनुसार नेपालमा मस्तिष्काघात भएकामध्ये ६० देखि ७० प्रतिशत रक्तनलीमा हुने अवरोध (रक्तश्राव)का कारण भएको पाइएको थियो । तर, विकसित देशमा रक्तश्रावबाट कमै मात्रमा मस्तिष्काघात हुने गर्दछ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक दुई सेकेण्डमा एकजना मस्तिष्काघातबाट पीडित हुने र दश सेकेण्डमा एकको मृत्यु यही कारण हुने गर्छ । हरेक वर्ष एक करोड ४० लाख मानिस मस्तिष्काघातबाट प्रभावित हुने गर्छन् । विश्वमा साठी लाखको त यही कारण मृत्यु हुने गर्छ । मृत्युको दोस्रो कारक तत्वका रुपमा यसलाई लिइन्छ । ६ जनामध्ये एकलाई मस्तिष्काघात हुनसक्ने अध्ययनले देखाएको छ । 

मस्तिष्काघात हुन नदिन के गर्ने ? 



डा. पौडेल मस्तिष्काघातको जोखिम न्यूनीकरण गर्न रक्तचाप, मधुमेह, मोटोपन, खानपानलगायतमा ध्यान दिनुपर्ने सुझाब दिन्छन् । उनी भन्छन्, ‘रक्तचाप नियन्त्रण, समयमै मधुमेहको पहिचान र उपचार, मोटोपना र तौल नियन्त्रण, शरीरको रगतमा भएको कोलेस्ट्रोलको मात्रा नियन्त्रण, धूमपान तथा मद्यपान सेवन नगर्ने, अनुशासित जीवनशैली र पद्धति अपनाउनुपर्छ ।’ 

यस्तैगरी, मस्तिष्काघात पछि हुने कमजोरी विश्वमा नै अपाड्गताको दोस्रो ठूलो कारणको रुपमा रहेको छ । यो धेरैजसो मानिसमा ६० वर्षपछि देखिए पनि एक चौथाइ मानिस भने सक्रिय जीवन बिताइरहेका समय हुने चिकित्सक बताउँछन् । डा. पौडेलका अनुसार चिकित्सकको परामर्शमा रगत पातलो गर्ने औषधि सेवन गरेमा मात्र ४० प्रतिशतभन्दा बढी मस्तिष्काघात लाई नियन्त्रण गर्न सकिन्छ ।



  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार २०:४९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया