सगरमाथाको नाम फेर्नु पर्ने र त्यसमा भारतीय दाबी पनि हुनु पर्ने बताएपछि अहिले भारतको जी न्युजका प्रधानसम्पादक सुधीर चौधरी व्यापक चर्चामा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएको भोलिपल्टै उनी सगरमाथा आधारशिविर पुगेका थिए । त्यहाँ पुगेर उनले सगरमाथामाथि भारतीय दाबी अभियान नै चलाएका छन् ।
उनको रिपोर्ट जी न्युजमा प्रकाशित भएपछि यसको नेपालमा व्यापक आलोचना भएको छ भने भारतमा यसको चर्को प्रशंसा गरिएको छ ।
यसअघि भारतीय मिडियामा प्रधानमन्त्री ओलीको अन्तर्वार्ता आएपछि अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले देखाएको साहस राम्रो भएको भन्दै उनको निकै प्रचार भएको थियो ।
तर, सँगसँगै सुधीरले अब सगरमाथामाथि भारतीय दाबीलाई प्राथमिकतामा राखेपछि यसको आलोचना पनि हुन थालेको छ ।
अर्कोतिर, सुधीरले सिम्रिक एयरलाइन्सको हेलिकोप्टर प्रयोग गरेर सगरमाथा आधार शिविर काला पत्थरसम्मको यात्रा तय गरेका थिए । सगरमाथा निकुन्जसँग कुनै अनुमति नलिइ सुधीरले कार्यक्रम छायांकन गरेपछि यसको विवाद थप बढेको छ । यसको विवाद बढेसँगै सगरमाथा राष्ट्रिय निकुन्जले सुधीरलाई त्यहाँ पुर्याउने सिम्रिक एयरलाइन्ससँग यसको जवाफ मागेको छ ।
अनि सुधीरको यो कार्यक्रम आएपछि विस्तारै यसबारे विभिन्न कोणबाट विश्लेषण पनि हुन थालेको छ ।
विशेषगरि पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पक्षसँग बढाएको निकटताबारे विभिन्न प्रश्न उठ्न थालेको हो ।
त्यसो त यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय जासुसी संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री निवासमा नै भेट गरेका थिए । उनले प्रधानमन्त्री निवासमा नै गरेको यो भेटको नेकपामा व्यापक आलोचना भएको थियो । भारतीय रअ प्रमुखसँग भएको यो भेटले प्रधानमन्त्री ओलीको भारतीय कनेक्सनलाई पछिल्लो समय थप बलियो बनाएको अनुमान हुन थालेको छ ।
‘हिजो जसले गोयलसँगको सेटिङलाई मिलाएर प्रधानमन्त्री ओलीको मेसेज भारत पठाएको थियो,’ एक उच्च स्रोतले फरकधारसँग भन्यो, ‘त्यही व्यक्तिकै पहलमा जी न्युजका सम्पादक नेपाल आइपुगेका हुन्, सगरमाथा आधारशिविर पुगेका हुन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।