'लोकतन्त्रवादीलाई जेल पठाउने वकिलहरू प्रधानमन्त्रीलाई सघाउँदैछन्'

काठमाडौं : नेकपा (दाहाल-नेपाल) समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र मास्ने अभियानमा लागिरहेको बताएका छन्। ओली सरकारमै पर्यटनमन्त्रीको भूमिका निर्वाह गरेका भट्टराईले बिहीबार यस्तो बताएका हुन्।

प्रतिनिधिसभा विघटनसँगै सरकारबाट बाहिरिएका उनले प्रधानमन्त्रीलाई लोकतन्त्रविरोधीको मतियार बन्दै गएको आरोप लगाएका हुन्। त्यसको प्रमाणका रुपमा उनले हिजो लोकतन्त्रविरुद्ध उभिएर लोकतन्त्रवादीहरुलाई जेल पठाउन बहस गर्ने वकिलहरु प्रधानमन्त्रीको पक्षमा उभिएको कुरालाई प्रस्तुत गरेका छन्। 

तर उनले हिजो लोकतन्त्रको पक्षमा बहस  गरेर आन्दोलनकारीलाई नेता कार्यकर्तालाई जेलबाट छुटाउने वकिलहरु भने प्रधानमन्त्रीको कदमको विपक्षमा रहेको तर्क गरेका छन्। 'हिजो लोकतन्त्रविरुद्ध र लोकतन्त्रवादीहरुलाई जेल पठाउन बह्स गर्ने वकिलहरु आज प्रधानमन्त्रीका पक्षमा बहस गर्दैछन्', उनले जिकिर गरेका छन्, 'अर्कातिर हिजोदेखि आजसम्म लोकतन्त्रका पक्षमा र आन्दोलनकारी नेता-कार्यकर्तालाई जेलबाट छुटाउन बहस गर्ने वकिलजति सबै आज प्रधानमन्त्रीको कदमको विपक्षमा उभिएका छन्।'

यसले नै देशको दिशा र दशा बताइरहेको तर्क उनको छ। 'देशमा के हुँदैछ ? देश कता जाँदैछ ? मनन् गरौँ', उनले भनेका छन्। नेकपा फुटेपछि दाहाल-नेपाल समूहमा आएका भट्टराई अहिले प्रधानमन्त्री ओलीका सबैभन्दा कट्टर आलोचकका रुपमा प्रस्तुत भइरहेका छन्।

उनले प्रधानमन्त्री र संसद विघटनविरुद्ध बोलिरहँदा सामाजिक सञ्जालमा चर्को आलोचना पनि खेपिरहेका छन्। देश बनाउन भन्दा ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने खेलको मतियार भएको भन्दै सामाजिक सञ्जालमा उनले अनेक आलोचना खेपिरहनुपरेको छ। 





  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १२:२८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया