आर्थिक वर्ष २०७६\७७ को आयव्यय विवरण बुझाउने समय चैत मसान्तसम्म पुर्याउन नेपाल उद्योग परिसंघले माग गरेको छ । परिसंघले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी कोरोनाको असहज परिस्थितिका कारण अर्थतन्त्र चलायमान हुन नसकेकाले समय थप्न माग गरेको हो ।
परिसंघका अध्यक्ष सतीशकुमार मोरले आय–व्ययविवरण बुझाउनका लागि आगामी चैत्र मसान्तसम्म समयावधि थप गर्न माग गर्दै पुस मसान्तसम्म आय–व्ययविवरण नबुझाउनेलाई जरिवाना नगर्न आग्रह गरेका हुन् ।
चालू आर्थिक वर्षको बजेटमा घोषणा भए अनुरुपको विद्युत् डिमान्ड शुल्क मिनाहा छुटसम्बन्धी व्यवस्थासमेत तत्काल कार्यान्वयनमा लैजानुपर्ने मागसमेत परिसंघको छ ।
पुनर्कर्जा कार्यविधिमा तोकिएको अधिकतम सीमामा पुनर्विचार गर्नुपर्ने मागसमेत परिसंघको छ ।
उद्योग र निर्माण क्षेत्रमा इन्धनका रुपमा प्रयोग हुँदै आएको डिजलको भ्याट फिर्ताको मागसमेत परिसंघको छ ।
उद्यमीसँगको भेटका अवसरमा अर्थमन्त्री पौडेलले आय विवरण बुझाउने म्यादबारे पुनर्विचार गर्ने आश्वासन दिएको बताइएको छ ।
लकडाउन अवधिभरको विद्युत् डिमान्ड शुल्क मिनाहाका लागि उर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर टुंगो लगाउने अर्थमन्त्रीको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।