थारू समुदायको पर्व माघी सुर्खेतमा उल्लासका साथ मनाइएको छ । थारू कल्याणकारी सभाले विगत ११ वर्षयता नियमित रुपमा माघी महोत्सव गर्दै आएको छ ।
यस वर्ष पनि विविध सांस्कृतिक नाचगान, माघीको महत्वबारेको प्रशिक्षणलगायत कार्यक्रम गर्दै सुर्खेतमा ११औँ माघी महोत्सव मनाइएको हो । नयाँ पुस्तामा माघीको महत्व हराउँदै गएको भन्दै प्रशिक्षणसमेत दिइएको छ ।
माघीको महत्वबारे थारू संस्कृतिविद् एवं साहित्यकार मानबहादुर चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा चौधरीले माघी मनाउने विधि, तौर तरिका, समुदायमा त्यसको महत्व र वर्तमान विभिन्न संस्कृतिको प्रभावको चुनौती र नयाँ पुस्ताले कसरी आफ्नो संस्कृतिलाई आत्मसात गर्नुपर्ने भन्ने विषयमा प्रस्ट पारेका थिए ।
कार्यक्रममा थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य मानबहादुर चौधरीले माघी थारूको पहिचान धरोहर भएकाले यसलाई बचाउन सरकारले दायित्व बोध गर्नुपर्ने बताए । तर सरकारले बेवास्ता गर्दा संस्कृति धरापमा परिरहेको भन्दै चिन्ता व्यक्त गरे ।
थारू कल्याणकारी सभा सुर्खेतका अध्यक्ष बेचुलाल चौधरीले थारू युवालाई पुर्खाले सिकाउनुपर्ने र युवाहरुले पनि आफ्नो संस्कार संस्कृतिलाई माया गर्दै जर्गेना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला आधिकारी हिरालाल रेग्मीले थारूहरुको ऐतिहासिक चाड माघी सबै गाउँबाट जम्मा भएर मनाउने कामले संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए । महोत्सव कार्यक्रमले पनि थारू संस्कृति संरक्षणमा टेवा पुग्ने भएकाले यसलाई अझै व्यापक र बृहत् गर्दै जानुपर्नेमा उनको जोड थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।