देउवालाई नेकपाका दुवै समूहको अफर : तपाईं प्रधानमन्त्री बन्‍नुपर्छ

काठमाडौं : प्रतिनिधिसभा विघटनपछि दुई समूह विभाजित भएको नेकपाले लागि सत्ता साझेदारी तथा सडक आन्दोलनमा समेत नेपाली कांग्रेसको खोजी गर्न थालेका छन्। 

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्माा ओली नेतृत्वको समूह र पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेपकपाले समेत कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाउन थालेका हुन्। 

पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसका सभापति देउवाले पुन: सत्तारोहण कोसिस थालिरहेका बेला नेकपाका दुवै समूहले अफर दिन थालेका हुन्। 

दाहाल-नेपाल बूढानीलकण्ठमा

ओलीको कदमविरुद्ध सडकमा मानिस उतार्न नसकेपछि निराश बनिरहेको दाहाल-नेपाल समूहले सभापति देउवालाई बुधबार साँझ बूढानीलकण्ठमा भेटेर आन्दोलनको मोर्चाबन्दीदेखि सत्तारोहणसम्मको प्रस्ताव गरेका हुन्। 

बुधबार साँझ बूढानीलकण्ठ पुगेका दाहाल-नेपालले देउवासँग ओलीविरुद्ध मिलेर आन्दोलन चर्काउन प्रस्ताव गरेका थिए। संयुक्त आन्दोलन गर्न सकेमा सर्वोच्चसमेत दबाबमा आएर संसद पुन:स्थापना गरेको हकमा देउवालाई नै प्रधानमन्त्री बनाएर जान सकिने प्रस्ताव दाहाल-नेपालले गरेका हुन्। 



स्रोतका अनुसार दाहाल-नेपालले ओलीको कदमविरुद्ध सडकमा जनता उतार्न संयुक्त आन्दोलन जरुरी रहेको भन्दै देउवालाई फकाउने प्रयास गरेका थिए। तर देउवाले भने आन्दोलनका नाममा अदालतलाई अनावश्यक दबाब दिन नहुने मत राखेका थिए। तर दाहाल-नेपालले भने सडक आन्दोलन चर्किएको अवस्थामा अदालतले पनि दबाबमा आएर संसद पुन:स्थापना गर्न सक्ने राय राख्दै यदि त्यसो भएमा संयुक्त सरकारमा देउवालाई प्रधानमन्त्री स्वीकार्न सकिने बताएका थिए। 



देउवासँग सहकार्यको प्रस्तावसहित बुधबार साँझ प्रचण्ड-माधव बूढानीलकण्ठ पुगेको पुष्टि कांग्रेस नेता रमेश लेखकले गरिसकेका छन्। भेटमा उनीहरुले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आउन सक्ने परिस्थितिका लागि सहकार्य गर्न उनीहरुले प्रस्ताव गरेका थिए। 

प्रतिनिधिसभा पुनःस्थापनासँगै दीर्घकालीन राजनीतिक सहकार्य प्रस्ताव लिएर गएका दाहाल-नेपालले देउवासँग प्रधानमन्त्री बनाउन सकिनेसम्मको ‘अफर’ गरेका स्रोतले बताएको छ। 

तर देउवाले भने ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भए पनि आन्दोलनले अदालतलाई दबाब दिने कुरामा आफू सहमत हुन नसक्ने बताएका थिए। उनले सर्वोच्चको आदेश नआएसम्म कुनै किसिमको सहकार्य नहुने बताउँदै अहिलेलाई कांग्रेस एक्लै अघि बढ्ने बताएका थिए।

उनले अहिले नै नेकपाका कुनै पनि समूहसँग सहकार्य नगर्ने र संयुक्त आन्दोलनमा पनि जान नसक्ने जवाफ दिएपछि दाहाल-नेपाल त्यहाँबाट खाली हात फर्किएका थिए। 

ओलीको पनि अफर
यसैबीच प्रचण्ड-नेपालले भेटेको थाहा पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सभापति देउवालाई सहकार्यको प्रस्ताव पठाएको दाबी श्रोतले गरेको छ। स्रोतका अनुसार ओलीले कांग्रेस नेता लेखकमार्फत आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्न प्रस्ताव देउवालाई पठाएका हुन्।

ओलीको उक्त प्रस्तावमा अहिलेलाई दुई दलबीच सहकार्य गर्दै अघि बढ्ने र चुनावमा तालमेलन गर्न सकिने जनाएका छन्। लेखकमार्फत ओलीले गरेको प्रस्तामा निर्वाचनपछि देउवा र आफूले पालैपालो सरकारको नेतृत्व गर्ने अघि सारेका छन्। 

'निर्वाचन भइसकेपछि तपाईंहरु र हामीबीच संयुक्त सरकार बनाएर अघि बढ्नुपर्छ', देउवाले ओलीसँग भनेको भनाइ उद्धृत गर्दै स्रोतले भनेको छ, 'चुनाव लगत्तै तपाईं प्रधानमन्त्री भएर जानुस्, हामी पालैपालो सरकार चलाउँला।'

कांग्रेसमा विवाद

नेकपाका दुवै समूहले प्रधानमन्त्री प्रस्ताव गरे पनि सभापति देउवा आफैं पार्टी नेताको घेराबन्दीमा छन्। देउवा सरकारको कदमलाई अलोकतान्त्रिक र असंवैधानिक त भन्छन् तर आन्दोलन पनि गर्न चाहन्छन्। 'फेस सेभिङ' का लागि भए पनि उनी केही समय आन्दोलन गरेर निर्वाचनको भित्री तयारीमा जुटिसकेका छन्। 

यस्तोमा कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइरालाहरू सडक आन्दोलन चर्काउने पक्षमा छन्। अर्कातिर डा. नारायण खड्कासहितका नेता आन्दोलनले कहीँ नपुर्‍याउने भन्दै निर्वाचनमै होमिनुपर्ने बताइरहेका छन्। 

यता सभापति देउवाको सेन्टिमेन्ट भनेको निर्वाचन नै हो। तर उनी पार्टीमा आएको चर्को विवादका कारण अन्तिम समयमा मौन बसिदिएका हुन्। 

  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार २३:३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया