नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्राथमिक सेयर (आइपिओ) शुक्रवारदेखि विक्री खुला भएको छ । कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सबैभन्दा बढी ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपिओ विक्री खुला गरेको हो ।
यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्कासन हो । यसअघि एचआइडिसिएलले सर्वसाधारणमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर जारी गरेको थियो ।
पूर्वाधार क्षेत्र (जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य) हरुमा लगानी गर्ने मूल उद्देश्य लिई स्थापित बैंकले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो। सो लगत्तै २०७५ फागुन २२ गतेदेखि नै आफ्नो औपचारिक बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।
अधिकृत पूँजी ४० अर्ब रुपैयाँ रहेको बैंकको जारी पूँजी २० अर्ब रुपैयाँ रहेको छ । हाल चुक्तापूँजी १२ अर्ब रहेको बैंकको आगामी वर्षभित्र ८ प्रतिशत पूँजी बढाउने प्रक्षेपण गरेको छ ।
कम्पनीले आर्थिक वर्ष ०७७\७८ मा चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्ने प्रक्षेपण गरेको हो ।
संस्थापकतर्फ हाल ६० प्रतिशत सेयर स्वामित्व कायम रहेको कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत हिस्सा सेयर विक्री गर्न लागेको हो । कम्पनीको आइपिओलाई इक्रा नेपालले वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ प्रदान गरेको छ ।
कम्पनीले कुल ८ करोड कित्तामध्ये ५ प्रतिशत अर्थात् ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शून्य दशमलव २ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन हुने कम्पनीले बताएको छ ।
सबै आवेदकले पाउने निश्चित रहेको यो आइपिओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिभित्रै विक्री बन्द हुनेछ भने कम आवेदन परेमा ढिलो मितिसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले यो आइपिओ विक्रीका लागि मंसिर ८ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा पुस १० गते अनुमति पाएको हो । उक्त आइपिओ विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।
खरीदकर्ताले विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो सेयर सफ्टवेयरसँगै मेरो सेयर एपबाट पनि आवेदन दिन सक्ने व्यवस्था छ ।
गत आर्थिक वर्ष ०७६\७७ मा कम्पनीले १ अर्ब २३ करोड ४३ लाख ७१ हजार रुपैयाँ खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ दशमलव ६२ र प्रतिसेयर आम्दानी रू. ७ दशमलव शून्य ६ रहेको छ ।
पछिल्लो समय यस बैंकको सेयर भर्नकै लागि भनेर डिम्याट खाता खोल्नेको संख्यासमेत बढेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले दिएको जानकारी अनुसार पुस मसान्तसम्म डिम्याट खाताको संख्या २५ लाख ३४५ रहेको छ ।
पछिल्लो समय चन्द्रागिरी हिल्सको आइपिओमा १२ लाख ५१ हजार ९३८ जनाको आवेदन परेको छ । सोही आवेदकको संख्यालाई आधार मान्दा बैंकको सेयरमा त्योभन्दा पनि बढी आवेदन पर्ने सम्भावना रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।