प्रधानमन्त्री ओलीविरुद्धको कार्यक्रमले चर्कियो जसपामा विवाद
मर्यादाक्रमलाई लिएर नेताहरुबीच भनाभन

काठमाडौं : एकीकरण पूरा नहुँदै विभाजन भएको नेकपा जस्तै जनता समाजवादी पार्टी (जसपा) मा पनि विवादले उग्ररुप लिएको छ। नेकपा जस्तै एकता र समायोजनका काम बाँकी रहेकै अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्ध आन्दोलित जसपमा मर्यादाक्रम र वरीयताक्रमलाई लिएर विवाद चर्किएको हो।

प्रधानमन्त्री ओलीको कदमविरुद्ध जसपाले सिरहामा गर्न लागेको सभाको मर्यादाक्रमलाई लिएर विवादले नयाँ रुप लिएको हो। ओलीको कदमविरुद्ध आन्दोलनका कार्यक्रम घोषणाका लागि आयोजित सभामा मर्यादाक्रम मिचेर नेताहरुलाई बोलाइएपछि विवादले नयाँ मोड लिएको हो। 

जसपाले प्रतिनिधिसभा विघटनविरुद्धको कार्यक्रमका लागि मातहतका कमिटीमा गरिएको परिपत्रमा तत्कालीन राजपा अध्यक्षमण्डलका अध्यक्ष राजकिशोर यादवको नाम सबैभन्दा पुच्छरमा राखिएको छ। माघ ३ मा हुन लागेको सिरहाको विरोधसभाका लागि काटिएको पत्रमा नेतृ रेणुकुमारी यादव, नेताहरु अनिल झा, विजय यादव र राजकिशोर यादव सहभागी जनाइएको छ। उक्त परिपत्रमा आफ्नो नाम सबभन्दा पुच्छरमा राखिएको भन्दै नेता राजकिशोर यादवले आपत्ति जनाएका हुन्। 

यही कारण उनी र जसपा अध्यक्ष उपेन्द्र यादवबीच टेलिफोनमा चर्काचर्की परेको छ। राजकिशोर राजपा अध्यक्षमण्डलको सदस्य भइसकेको कुरालाई भुलेर मर्यादाक्रममा उनको नाम सबैभन्दा तल राखिएको भन्दै अर्का नेता राजाराम यादवले उपेन्द्रसँग आक्रोश पोखेका छन्। 

दुई नेताबीचको टेलिफोन संवादमा उपेन्द्रले जसपाको वर्तमान मर्यादाक्रम अनुसार नै नाम राखेको स्पष्टीकरण राजारामलाई दिएका छन्। तर राजारामले त्यो मर्यादाक्रमले राजकिशोरको अपमान भएको भन्दै त्यसलाई सच्याएमा मात्रै कार्यक्रमा सहभागी हुने जानकारी दिन्छन्। 

तर राजारामको त्यो अडानपछि उपेन्द्र आक्रोशित हुन्छन्। उनले मर्यादाक्रममा चित्त नबुझेको भए बरु ओलीको कार्यक्रममा गएर भाग लिन भन्छन्। उनले अझै अघि बढेर यस्ता कुरालाई लिएर विवाद नगर्न भन्दै पार्टी छाडेर भाग्न नै चेतावनी दिन्छन्। 



तर उपेन्द्रको यादवले राजाराम झन् भड्किन्छन्। उनले पार्टीमा 'डिक्टेरसिप' चलाएको भन्दै रिस पोख्छन्। 'तपाईंले पार्टीमा डिक्टेटरसिप चलाउने? अध्यक्ष भएर  तपाईंले के गर्नुभयो?', उनले आक्रोशित हुँदै भन्छन्, 'सिरहाको कार्यक्रममा तपाईं आउनु भयो भने हामी पार्टीकै मान्छे मिलेर कालो झण्डा देखाउनेछौँ। हामी तपाईं सहभागी हुने कार्यक्रम पनि बहिष्कार गर्छौं।'

पूर्वराजपा र समाजवादी पार्टीबीच एकतायता मर्यादाक्रमलाई लिएर सुरु भएको विवाद यथावत छ। जसपमा विवाद बढ्दै गएपछि राजकिशोर ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने कुराले चर्चा पाइरहेको छ। उनले नेकपा ओली समूहका नेताहरुसँग सघन संवाद बढाइरहेका छन्। त्यहीकारण पनि उपेन्द्रले राजकिशोरलाई बरु ओलीको कार्यक्रममै सहभागी हुन भन्दै व्यंग्य गरेका हुन्। 



तत्कालीन राजपाका अध्यक्ष मण्डल सदस्य राजकिशोर यादव दुई पार्टीको एकतापछि मर्यादाक्रममा रेणु यादवभन्दा माथि थिए। तर सिरहाको कार्यक्रममा आफूलाई रेणुभन्दा तल राखिएपछि राजकिशोर आक्रोशित छन्। त्यहीकारण उनीनिकट नेता राजारामले उपेन्द्रसँग फोनमा चर्काचर्की गरेका हुन्। दुई पार्टी मिलेर बनेको जसपाको यो विवादले पार्टी फेरि फुटतिर जाने भनेर चिन्ता व्यक्त हुन थालेको छ।

  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १४:५७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया