बैंकको प्राथमिकतामा बाेनस सेयर
गतवर्षको तुलनामा घट्यो वाणिज्य बैंकको लाभांश

यस वर्ष वाणिज्य बैंकहरूको लाभांश दर घटेको छ । गतवर्ष औषतमा १९ प्रतिशत लाभांश वितरण गरेका बैंकहरूले यस वर्ष १३ प्रतिशतमात्रै लाभांश वितरण गरेका छन् । गतवर्षहरूमा नगद लाभांशलाई पनि प्राथमिकता दिएका बैंकहरूको प्राथमिकतामा यो वर्ष बोनस सेयरमात्र परेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २६ वाणिज्य बैंकले गत आर्थिक वर्षको मुनाफाबाट दिने लाभांश पारित गरिसकेका छन् । बैंकहरूको साधारणसभाबाट पारित लाभांश हेर्दा नगदभन्दा पनि बोनस सेयरलाई नै जोड दिएको देखिन्छ ।

चालु आर्थिक वर्षमा बैंकहरूले औषतमा १३.९६ प्रतिशत लाभांश वितरण गरेकोमा औषतमा ११.२२ प्रतिशत बोनस सेयर रहेको छ । नगद लाभांशको हिस्सा २.७५ प्रतिशतमात्रै छ । यसमा पनि धेरै बैंकहरूले बोनस सेयरको कर तिर्न मात्रै नगद दिएका छन् ।

केन्द्रीय बैंकले लिएको नीति र बैंकहरूको वितरणयोग्य नाफामा आएको संकुचनका कारण बैंकहरूले नगद लाभांशभन्दा पनि बोनस सेयरमा विशेष जोड दिएको बैंकविज्ञ अनलराज भट्टराईको विचार छ ।

बैंकहरूलाई बलियो बनाउन नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कुल चुक्ता पूँजीको ५ प्रतिशतभन्दा कम खुद वितरणयोग्य मुनाफा भएका बैंक तथा वित्तीय संस्थाको नगद लाभांश वितरणमा रोक लगाएको छ । 



‘राष्ट्र बैंकको नयाँ नीतिका कारण चालु आर्थिक वर्षमा बैंकहरूको नगदमा भन्दा बोनस सेयरमा जोड दिए,’ उनले भने, बोनस वितरण गर्दा कम्पनीको चुक्ता पुँजी बढ्छ ।’ 

केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त सबै बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७६\७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म (उक्त संस्थाको २०७७ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदर भन्दा बढी नहुने गरी) मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।



गतवर्ष कोरोना महामारीका कारण बैंकहरूको साँवा ब्याज उठ्न नसकेका कारण वितरणयोग्य नाफा घटेको बताउँछन् सेयर बजार अध्येता ज्योति दाहाल  । 

लगानीकर्ताले पनि नगदभन्दा पनि बढी बोनस सेयर मन पराउने गरेका छन् । धेरै बोनस सेयर दिने कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण पनि बढी नै रहेको छ । 

गत वर्ष धेरै बैंकहरूले बोनस सेयरभन्दा नगद लाभांशमा बढी जोड दिएका थिए । केही बैंकहरूले बोनसमा जोड दिए पनि धेरैले नगद लाभांश नै बढी वितरण गरेका थिए । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले औषतमा १९.१२ प्रतिशत लाभांश वितरण गरेको थिए । जसमा नगद लाभांश औषतमा १०.४२ प्रतिशत र बोनस सेयर औषतमा ८.७० प्रतिशत रहेको थियो ।

अहिलेको लाभांशमा कोभिडले पनि असर परेको दाहालको भनाइ छ । हेर्दा गत आवको तेस्रो त्रैमासमा मात्र असर परेजस्तो देखिए पनि समग्र अर्थतन्त्रमा भने पुसमसान्तदेखि नै प्रभाव परेकाले गतआवको बोनस घटेको उनी बताउँछन् ।

वाणिज्य बैंकमध्ये गत आर्थिक वर्षको मुनाफाबाट नबिल बैंकले सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद लाभांश छ ।

सबैभन्दा कम सेञ्चुरी कमर्शियल बैंकले ७.५ प्रतिशत मात्रै लाभांश दिने भएको छ । बैंकले ५.२५ प्रतिशत बोनस र २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।


 

  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १६:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया