सरकारले ल्यायो नागरिक एप, सबै सरकारी सेवा उपलब्ध हुने

सबै सार्वजनिक सेवा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ सरकारले ‘नागरिक एप’ ल्याएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एप सार्वजनिक गरेका हुन् ।

मन्त्री गुरुङका अनुसार सबै सरकारी सेवालाई एउटै एपमार्फत उपलब्ध गराउने उदेश्यले यो एप सार्वजनिक गरिएको हो । एपमा प्यान नम्बर लिनेदेखि आफूले बुझाएको करको विवरणसमेत हेर्न सकिन्छ । अबको केही समयपछि सबै सरकारी सेवा यो एपमा समावेश गर्नेसमेत मन्त्री गुरुङले बताए ।

पछिल्लो समय विभिन्न सरकारी सेवा अनलाइनमार्फत उपलब्ध गराउन थालिएको छ । तर सेवा लिने माध्यम फरक फरक हुँदा सेवाग्राहीलाई झन्झट हुनेगरेको भन्दै सरकारले सबै सेवालाई समेट्ने गरी नागरिक एप ल्याएको बताएको छ । 

वेटा भर्सनमा सार्वजनिक गरिएको एपमा हाल नौ वटा सेवा समेटिएको छ । २०७५\७६ को सरकारी नीति तथा कार्यक्रमले परिकल्पना गरेको नागरिक एप डिजिटल नेपालको लागि एउटा महत्वपूर्ण आधारको रुपमा लिइएको छ । 

मन्त्रालयका अनुसार एपका लागि गृह मन्त्रालयसँग रहेको दुई करोड १५ लाख नागरिकताको विवरण र निर्वाचन आयोगको सर्भरमा रहेको एक करोड ५५ लाख नागरिकको औंठा छाप र फोटोसहितको जानकारीमार्फत नागरिकको डिजिटल परिचय बनाइएको छ ।

यससँगै एपले सरकारी सेवा लिन नागरिकले नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता विवरण बुझाउनुपर्ने लगायतका झन्झट अन्त्य गरिदिनेछ । एपमा नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर(प्यान) प्राप्त गर्न सकिने भएको छ ।
 





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १६:४३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया